गृह » गाडीमा माइक राखे कारबाही
प्रमुख समाचार

गाडीमा माइक राखे कारबाही

भरतपुर । चुनावको प्रचारप्रसार अहिले उत्कर्षमा छ । माइकमा चर्को स्वरले भोट मागेको अचेल धेरै नै सुनिन्छ । यसका साथै पर्चा, पम्प्लेट, पोष्टरहरु टाँग्न तछाडमछाड छ । सडक वारपार गरेर झण्डा र प्रचार सामग्रीहरु तोरण टाँगेझैँ टाँगेको पनि ठाउँ–ठाउँमा देखिएको छ । यो सबै आचारसंहिता विपरीतको काम हो । अब यसो गरे दलहरु कारबाहीमा पर्ने छन् ।
आचारसंहिता उल्लघंन रोक्न निर्वाचन आयोगले टोली नै खटाएको छ । आचारसंहिताले नदिए पनि दलहरुले चितवनका ठाउँ–ठाउँमा टाँगेका झण्डा र चुनाव चिन्ह अंकित ब्यानरहरु सोही केन्द्रीय अनुगमन टोलीले नै हटाउन सुरू गरेको छ ।
चितवनका लागि सहन्यायाधिवक्ता उद्धव पुडासैनी र गृहमन्त्रालयलका सहसचिव रामकृष्ण सुवेदीलाई निर्वाचन आयोगले अनुगमनका लागि खटाएको छ । टोली ११ गते चितवन आएको थियो ।
आउनेबित्तिकै टोलीले सर्वपक्षीय छलफल गरेर दलहरुलाई आचारसंहिताका प्रावधानबारेमा जानकारी गराएको थियो । ‘त्यसपछि स्थलगत अनुगमनमा गएर आचारसंहिता विपरीतका काम भएको नभएको निरीक्षण गरेका थियौं । आचारसंहिता उल्लंघन गरेर पर्चा, पम्प्लेट र ब्यानर टाँगेको देखे त्यसो नगर्न र हटाउन भनेका थियौँ’ सहन्यायाधिवक्ता उद्धव पुडासैनीले भने ।
टोली बुधबार पूर्वीचितवनमा अनुगमनमा जाँदा पदमपुरको लामाचोकमा आचारसंहिता विपरीतका झण्डा र चुनाव सामग्रीहरु तोरणजस्तो बनाएर टाँगेको देख्यो । त्यसरी टाँगेका सामग्रीहरु हटाउन उनीहरुले सम्बन्धित दलहरुलाई भनेर गए । शुक्रबार पनि फेरि अनुगमनमा जाँदा ती तोरणजस्ताको तस्तै भेटिए । दलहरुले अटेर गरेपछि ती सामग्रीहरु टोलीले नै हटाउनु प¥यो ।
गीतानगरबजारमा पनि बाटो वारपार हुने गरेर दलहरुको प्रचार सामग्री र झण्डाहरु टाँगेको आयोगले देखेको थियो । ती पनि हटाउन टोलीले सम्बन्धित दलहरुलाई भनेको थियो । तर, पदमपुरको जस्तै गीतानगरको अवस्था पनि उस्तै थियो । दलहरुले नहटाएपछि टोलीले नै ती सामग्रीहरु हटाउनुप¥यो । तर, सामग्री हटाउँदा दलहरुले कुनै प्रतिवाद भने गरेनन् ।
पर्चा, पोष्टर ब्यानरमात्रै होइन, आचारसंहिताले नदिए पनि गाडीमा माइक राखेर गीत गाउँदै उम्मेदवारको प्रचारप्रसार गरेको पनि ठाउँ–ठाउँमा देखियो । टोलीले त्यसो नगर्न सम्झाउँदै छाडेको थियो । ‘प्रचारमा हिँड्ने गाडीले निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्छ । तर, गाडीमा माइक वा एम्लिफायर राखेर बजाउँदै मत माग्न भने पाइँदैन । आचारसंहिताले यसो गर्न दिँदैन’ सहसचिव रामकृष्ण सुवेदीले पनि भने ।
टोलीले शुक्रबार नै चितवन जिल्ला प्रशासन कार्यालयमा फेरि जिल्लाका दलहरुलाई राखेर बैठक गरेको थियो । ‘निर्वाचन कार्यालयबाट स्वीकृति नलिएका गाडीहरु चलाउन, गाडीमा माइक राखेर प्रचार गर्न पाइँदैन । सबै प्रचार इकाइहरुमा यो सूचना तत्काल प्रवाह गर्नुस् । यदि त्यसो गरेको भेटिए हामी गाडी तत्कालै नियन्त्रणमा लिन्छौँ’ बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दलहरुलाई आग्रह गरे ।
बैठकमा सहभागी वाम गठबन्धनका प्रतिनिधि नेकपा माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले आफूहरुले सबै ठाउँमा सूचना जारी गरेको तर लागू भए नभएको बारेमा आयोग र प्रशासनबाट पनि अनुगमन र कारबाही भए राम्रो हुने धारणा राखे । नेपाली कांग्रेसका जिल्ला सदस्य दिनेश अधिकारीले उल्लंघनका घटना धेरै नै भएको र अनुगमन र कारबाही कम भएको बताए ।
आचारसंहिता अनुगमनका विषयमा सूक्ष्म अनुगमन गर्न थप अर्को टोली पनि आउने उद्धव पुडासैनीले बताए । ‘आचारसंहिताका विषयमा सबै दलहरु जानकार हुनुहुन्छ । पालनमा उहाँहरु नै गम्भीर हुनुपर्छ । उल्लंघन भए नभएको हेर्ने हामी छौँ । प्रशासन छ । त्योभन्दा माथि अर्को टोली सुक्ष्म अनुगमनका लागि आउँदै छ । कारबाही भोग्नुभन्दा सुधारका लागि आफैँ लाग्नुस् । आचारसंहिता पालना गर्नुस्’ पुडासैनीले भने ।

Comments

About the author

चितवन पोष्ट