गृह » साहित्य र समाज
विचार साहित्य

साहित्य र समाज

– नारायणकैलाश सिग्देल
nksigdel@gmail.com
नेपालको साहित्यलाई राजनीतिले खायो कि राजनीतिलाई साहित्यले ? यो प्रश्न सबैका लागि गम्भीर हुन सक्छ । सबैले यसका बारेमा धेरथोर सोचेका पनि हुन सक्छन् । समाजका प्रबुद्ध वर्गहरुले यससम्बन्धमा व्यक्तिगत रुपमा आन्तरिक चासो देखाइएको भए तापनि सतहमा भने खासै चर्चाको विषय बनेको छैन । हुन त, प्रबुद्ध वर्गहरुले चासो देखाएर पनि यथेष्ट ध्यान नदेखिएको हुन सक्छ । प्रबुद्ध वर्गहरु ध्यान दिएर पनि सम्बन्धित सरोकारवालाहरुले यसको आमूल पक्षको विकासका लागि एक–एक कानले सुन्ने र अर्काे कानले उडाउने गरेको पनि हुन सक्छ ।
आजको २१ औँ शताब्दीका मानिसहरुलाई ‘साहित्य सम्पूर्ण समाजको गहना हो’ भन्नुपर्ने हुन्छ जस्तो लाग्दैन । समाजका केही प्रतिशत मानिसहरु अझैसम्म पनि अशिक्षित होलान् । तीबाहेक समाजको ठूलो जमात जसले समाजको संस्कृति, भाषा, साहित्य, रहनसहन, चालचलन इत्यादिको अध्ययन र अवलोकन गरिरहेका छन्, रहस्यमय तरिकाले परिवर्तन भएको देखेकै हुनुपर्छ । हाम्रो समाजमा हिजोसम्म सभ्य तरिकाले बोलिने भाषा, शैली, सम्बोधन, मानसम्मान कतातिर दौडेको छ ? कस्तो हालतमा छ ? र, यस्तो संस्कृतिले हामीहरुलाई कता लाँदैछ ? भन्नेसम्बन्धमा सायद समाजका सबै तह र तप्काका मानिसहरुलाई अवश्य चिन्ता परेकै होला । अझै सचेत वर्गमा पर्न गएको यसको पीडाको अनुभूतिको गहिरो चोट त आँकलन गर्न नसकिने छ ।
समाजमा रहने धेरै प्रकारका व्यक्तिहरुमध्ये भाषा, संस्कार र जीवनशैलीमा सबैभन्दा बढी सामीप्यता राख्ने व्यक्तित्व भनेकै साहित्यमा समर्पित वर्गहरु हुन् । देशको राजनीतिक क्षेत्र होस् वा अर्थनीति, देशको धार्मिक क्षेत्र होस् वा संस्कृति, ध्वस्त हुँदा त्यसको असर तत्कालै समाजमा देखिन केही समय लाग्छ । यसको नकारात्मक कारक त¤वले दूरगामी असर त पक्कै पनि पर्छ । तर, जब समाजको साहित्य बिग्रन्छ यसले मानिसलाई केवल बुद्धूमात्र बनाउने होइन अपितु यसले त मानवसमाजलाई समाजलाई असभ्य रुपमा जङ्गली नै बनाउँछ । अर्थ लडखडाएर मानिस असभ्य र जङ्गली बन्दैन । त्यस्तै, व्यापार बिग्रेर कोही जङ्गली बन्दैनन् तर अफसोस ! साहित्य बिग्रेर मानिस असभ्य बन्छ ।  आमसमाजको गहनाका रुपमा मानिने प्रबुद्ध वर्गहरुलाई समाज निर्माणका हरेक कार्यहरुमा अर्थपूर्ण सहयोग, अनुभूतिजन्य सल्लाह र सुदूर भविष्यको लागि दिगो कार्ययोजना निर्माण गर्दा साहित्यको कस्तो भूमिका हुन्छ भन्ने कुरा बुझ्न जरूरी छ । समाज विकासको दुहाई दिनेवालाहरुले साहित्यलाई पर्घेलेर सुसंस्कृतिको विकास गर्छु भन्नु पक्कै पनि अपरिपक्वताको द्योतक हुन सक्छ । त्यसैले, दृढताका साथ भन्न सकिन्छ– समाज विकासको मापकको सूचकका रुपमा साहित्य हुनु जरूरी र वाञ्छनीय छ ।
‘बाबा भात खान आयो, उहाँले हाम्लाई भन्यो, ऊ शिक्षक÷म्याडम हाम्लाई पढाउन कक्षामा आयो’ भन्नेजस्ता हिजोआज मौलाएको साहित्यले कसलाई मूर्ख बनाउँछ ? ‘गीताले पढिन्, आमाले भात पस्कनुभयो, उहाँले हामीलाई भन्नुभयो’ भन्ने हाम्रो मौलिक सुसंस्कारलाई ‘गीताले पढ्यो, आमाले भात पस्क्यो, उहाँले हाम्लाई भन्यो’ भन्ने संस्कार कसका लागि सुहाउँदो होला ? यस्तै यस्तै होइनन् त हिजोआज मौलाएका संस्कृति ? यस प्रकारको संस्कृति वा समाज दर्शनको साहित्य मौलाउनमा कसको हात छ ? आफ से आफ कि हाम्रै अकर्मण्यताको कारणले ? मेरो प्रश्न यहीँनेर हो ।
‘समाज बनाउँछु’ भनेर भाषण छाँट्ने भाषणकर्ताले ‘सर्खार, बड, अपछि, हेरू (हरु)….जस्ता अशोभनीय गहना लगाएर आफूलाई चतुर छु भनी देखाउँदा हाम्रो पाइला अधोगतितिर गइरहेको छ कि अगाडि ? हामी हाम्रो समाज दर्शनको विरासतलाई सभ्य तरिकाले परिस्कृत गराउनुपर्छ भन्ने पक्षमा छौँ भने आफैँबाट आजदेखि नै सुधार गर्ने र गराउने कि ? त्यसरी नै अगाडि बढ्ने र अशोभनीय थेगोको भारी भाषामा झुन्ड्याएर समाजको साहित्यलाई खरानी बनाउने ? हाम्रो साहित्यलाई मीठो बनाउने नाउँमा सुन्न नसकिने तीतो भएको यथार्थता सबैको सामु घामजस्तै छर्लङ्ग छ । त्यसैले, यसको सुधारका लागि प्रत्येक मानिसहरु संयमी हुन जरूरी छ ।
समाजमा व्यक्तिको भूमिका, संस्कार र संस्कृतिलाई सुसंस्कारित बनाउँदै लैजानु हो कि हाँसो र उराठलाग्दो पाटोमा रुपान्तरित बनाउँदै लैजानु हो ? के यसको जिम्मा देशमा खडेरी पर्दै गइरहेको साहित्यकारको मात्रै हो त ? सरकारका विभिन्न निकायमा सरोकार राख्ने निकायहरुको पनि हुनुपर्ने होइन र ? सरकारका विभिन्न निकायहरुलाई विविध कारणले गर्दा यसको अवस्थालाई स्वीकार गर्न नसक्ने परिस्थिति आयो भने अन्य सम्बन्धित निकायहरुलाई विशेष सहयोगको आग्रह गर्न अन्यथा होला र ?
विगत हजारौँ वर्षदेखि साहित्यप्रेमीहरुको अथक मिहेनत र परिश्रमबाट सिर्जेको समाजको साहित्य संरक्षण र संवद्र्धनमा स्थानीय निकायहरुको भूमिका वा जिम्मेवारी कति र कहाँसम्म हुने भन्नेसम्बन्धमा सो निकायले सोच्न भ्याएको छ कि छैन ? यससम्बन्धमा यथोचित मूल्याङ्कन सायद हुनेछ होला ? के सयौँ प्रकारका अभावैअभावले साहित्य सिर्जनाको विकासमा दीर्घकालीन पहुँच दिन सक्ला ? साहित्यको आवश्यकता साहित्यकारहरुको मात्र चासोको विषय हो कि समग्र समाजका विविध अवयवहरुमा संलग्न हुनेवालाहरुले पनि चोटिलो उत्तरदायित्व वहन गर्नु अनिवार्य छ ?
समाज विकासको आधार खानेपानी, स्वास्थ्य, शिक्षा, बाटाघाटो, बिजुली आदिलाई मान्न सकिन्छ भने त्यसलाई सही किसिमले परिचालन गर्नका लागि एउटा निश्चित सभ्य भाषा र शैलीको खाँचो पर्छ कि पर्दैन ? के त्यो खाँचोको परिपूर्ति अर्थ बजारले गर्छ ? के त्यसको परिपूर्ति न्यायले गर्छ ? त्यसको वास्तविक ट्रयाक भनेको समाजको वास्तविक साहित्य हो कि होइन ? जब समाजमो रैथाने ट्रयाकमा अशोभनीय प्रकारका झिँगाहरु भन्कन थाल्छन् भने हामी सबै त्यसको प्रतिकारमा उत्रन पर्छ कि पदैन ? साहित्यको गहन संस्कारले विश्व विजय गर्न सकिन्छ भने विश्व विजयको महान् लक्ष साहित्यको उपयुक्त दस्तावेजले परिपूर्ति गर्छ । सुसाहित्य समाजको परिष्कृत गहना मात्र नभएर व्यक्तिको महान् लक्ष पनि हुनुपर्छ । कसैको दम्भ साहित्य विकासका लागि तगारो हो भने दम्भलाई कम बनाउने पहिलो कडी साहित्यको सुमधुर सङ्गीत हो ।
जसरी घाँस देखेपछि गाईबस्तुहरु हानिन्छन्, त्यसको ठीकविपरीत साहित्यकारहरु समाजको भाषा, साहित्य र सभ्यताको बिग्रँदो रुप देखेर चिन्तित हुन्छन् । त्यो चिन्ताको केही अंशमा साथ दिनका लागि उसको सामाजिक संगतको परिधिभित्रका बन्धुत्वहरुको माया, सहयोग र सहभागिताको खाँचो देख्छन् र गुहारसमेत अपरिहार्य ठान्छन् । तर, यस्तो लालायित भएको अवसरमा सम्बन्धित निकायहरु कानमा तेल राखेर समयाभावको मुजुरा बजाउन पुग्छन् भने आशातीत अभियानमा ढुंगासिवाय के लाग्छ ?
‘साहित्यलाई केही पर राखेर जीवन चलाउन सकिन्छ’ भन्ने महानुभावहरुले ‘पानीविना पनि माछा बाँच्न सक्छ’ भनेर पुष्टयाइँ गर्नुबराबर हो । ‘सोझोलाई सोझै’ भन्दा घ्याक्क्रो चिलाएको रिस्क सहनु हो । मानिस आफूलाई असामाजिक, अराजक र असभ्य बन्ने तर्खरमा प्रस्थान गराउनु हो । उल्टो हिँड्दा त्यसको असर पनि अकल्पनीय हुन्छ भनेर जान्नु हो । हामी कुन नाकले साहित्यलाई समाजका विविध जाति, समूदाय, भाषाभाषीबाट अलग गरेर ‘यसको छुट्टै अस्तित्व र पहिचान छ जो आम सर्वसाधारण नागरिकको लागि खासै चासोको विषय होइन’ भन्न सक्छौँ ? कसैले कुन आधारमा साहित्यमा ‘मलाई समावेश नगराउनुस् भन्नुहुन्छ ? तपाईं कुन नाकले पानी पिउनुहुन्छ, जुन नाकमा पानीको कलकल साहित्यको सुगन्ध कानले कुनै न कुनै माध्यमबाट वाणीमा परिणत गराउँछ ।
साहित्य भनेको मूल रुपमा भाषाको माध्यमद्वारा जीवनको अभिव्यक्ति हो । जीवनको अभिव्यक्त कलालाई नै हामी बिर्सन चाहन्छौँ, हेँला गर्न चाहन्छौँ र त्यसको सरोकार राख्न आनकानी गर्छौं भने आखिर उसको जीवन अभिव्यक्त कसरी हुन्छ त ? यो एकदम ज्वलन्त सोचाइ र बहसको विषय पनि हो । मानिस आफू के हो ? भन्ने बुझ्नभन्दा पनि आफ्नो अभिव्यक्ति केका माध्यमद्वारा हुने रहेछ बुझ्नु अत्यन्त आवश्यक छ । हाम्रो अभिव्यक्त हुने साधनामा बुझेर वा नबुझेर दबाउन वा पर्घेल्न चाहन्छौँ भने हत्केलाले सूर्यलाई छेकेसमान हुने नै भयो । साहित्य कुनै एकको प्रयास र कुनै एक समयमा मात्र बुर्लुक्क उफ्रेर आजको परिस्थितिमा आएको पनि होइन । यसले लामो कालखण्ड, लामो संरचना, लामो यात्रा र हजारौँहजार करेक्सनको झन्झटिलो माध्यम हुँदै आज हामीसमक्ष प्रस्तुत भएको हो ।
साहित्य साहित्यका लागिमात्र स्तुति नभएर मानव जीवनशैलीको उच्च द्योतक हुनुपर्छ । जीवनको द्योतक बन्न नसक्ने साहित्यले समाजमा नैराश्यता मात्र होइन, एक किसिमले हाम्रा भावी सन्ततिहरुका लागि ठूलो धोका दिन्छ । हाम्रो पुर्खाको जीवन र तन्कालीन जीवनको लिङ्क वा सम्बन्ध एकाएक टुट्छ, जसको कारणबाट मानिसले आफ्नो विगतको इतिहास भुल्छ । हरेक मानिसमा त्यस्तो इगो हुनुपर्छ जसले आफ्नो विरासतलाई युगौँयुगसम्म जीवित राख्ने चाहना गरोस् र त्यही मुताबिक काम पनि गरोस् । यहाँ काम भन्नाले साहित्यको संवद्र्धनसँग गाँसिएको हुनुपर्छ ।

Comments

About the author

चितवन पोष्ट