गृह » आमाको छाया
साहित्य

आमाको छाया

– धर्मराज अर्याल

सुदूर बाटोमा
देखेँ मैले यौटा अस्पष्ट छाया
त्यो छाया मतर्फ
र म छायातर्फ जाँदै गर्दा
यौटा बिन्दुमा पुगेपछि
अप्रत्याशित भेट भयो
त्यो छायासँग मेरो ।

मान्छेजस्तो लाग्ने
अझ स्पष्ट शब्दमा भन्नुपर्दा
मेरी दिवंगत आमाजस्तो लाग्ने
त्यो आकृति
मलाई मान्छेजस्तो लाग्यो
अझ स्पष्ट भन्नुपर्दा
मेरी आमाजस्तो लाग्यो मलाई ।

ममताकी प्रतिमूर्ति
र मायाकी खानीजस्तो लाग्ने
त्यो आकृतिलाई नियालेर हेर्दा
म भावविह्वल भएँ
आफ्नी आमा सम्झेर रोएँ ।

जब म पुगेँ त्यो छायानजिक
आमाको छायाले हो वा
आमाको मायाले हो
मैले त्यो छायालाई अंकमाल गरेँ
र धीत मरून्जेल रोएँ ।

यसरी आँसुको थोपासँगै
पग्लिएर झ¥यो आमाको माया
उता
आमाले पनि जब गरिन् अंकमाल
हामी दुवै भावविह्वल भयौँ
आमाजस्तै लाग्ने
आमाको छायामा पनि
आमाको माया पाएँ मैले
त्यो थियो
मातातीर्थ औँसीको दिन ।

त्यो दिन पुत्रवियोगमा
आमा पनि भक्कानिएर रोइन्
म पनि धीत मरून्जेल रोएँ
ठिक्क आमाजस्तै थिइन्
मेरी आमाको त्यो विस्मृत छाया ।

लामो आयु बाँचेर
दिवंगत हुनुभएको हो आमा
तर नियास्रोले पोल्छ मलाई
दिनदिनै आमाको मायाले ।

म जति रोए पनि
र भगवान्सँग जति प्रार्थना गरे पनि
अब आउँदिनन्् मेरी आमा
यस्तो लाग्छ
भगवान्को घरमा
हाँसिरहेकी छिन्
र नाचिरहेकी छिन् मेरी आमा ।

जतिवटा कविता लेखे पनि
र जतिवटा महाकाव्य लेखे पनि
आमाको महिमा अटाउँदैन कदापि
आमाको नाममा वर्षैभरि
मन्दिरमा गएर भजनकीर्तन गरे पनि
साक्षात् रुपमा पाउन सक्दिनँ मैले आमा
मैले भेटेको र देखेको दृश्य त
केवल आमाको छाया मात्र हो ।

 

Comments

About the author

चितवन पोष्ट