गृह » एड्स सतर्कता आवश्यक
सम्पादकीय

एड्स सतर्कता आवश्यक

डिसेम्बर १ अर्थात् हिजो शुक्रबार विश्व एड्स दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । एचआईभीसँग जीवन बिताउनेहरुका लागि समर्थन गर्ने र एड्ससम्बन्धी रोगबाट ज्यान गएकाहरुको स्मरण गर्ने उद्देश्यले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन नेपालमा पनि यो दिवस मनाउन सुरू गरिएको हो । एचआईभी/एड्ससम्बन्धी चेतना फैलाउने, यसको रोकथाम तथा उपचारका बारेमा विश्वभर जानकारी दिने, एचआईभी एड्सविरूद्ध गरिएका कार्यक्रम तथा गतिविधिहरूका बारेमा सबै ठाउँमा सूचना पु¥याउनु नै यस दिवसको मुख्य उद्देश्य हो । एचआईभी रोकथाम, स्याहार, हेरचाह, उपचार तथा सहयोग गर्न तथा सर्वव्यापी सेवाको पहुँच बढाएर सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप यो दिवस मनाइँदै आएको छ । ‘राइट टु हेल्थ, किप दी प्रोमिस’ भन्ने मूल नारासहित चेतनामूलक कार्यक्रमका साथ ३० औँ विश्व एड्स दिवस मनाइएको छ । नेपाललगायत विश्वभर नयाँ एचआईभी संक्रमितको संख्या घट्दै गएको पाइएको छ । सन् २०१६ को सरकारी तथ्यांकअनुसार नेपालमा ५७ प्रतिशतले नयाँ संक्रमण घटेको देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार एचआईभी तथा एड्ससम्बन्धी कार्यक्रम प्रभावकारी हुँदा नयाँ संक्रमण दर घटेको हो । एड्सका कारण मृत्यु हुनेको संख्यामा समेत ३० प्रतिशतले कमी आएको केन्द्रले जनाएको छ । नेपालमा रहेका एचआईभी संक्रमितमध्ये ६० प्रतिशत अझै पनि एन्टी रेक्ट्रो भाइरल (एआरभी) सेवाको पहुँचबाट टाढा रहेका छन् । नेपालमा ३२ हजार ७३५ एचआईभी संक्रमित रहेकोमा १४ हजार ५४४ ले मात्र एआरभी सेवा लिने गरेको देखिएको छ । करिब ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सर्ने गरेको केन्द्रले जनाएको छ । एचआईभी र एड्ससम्बन्धी भेदभाव हटाउन तथा जनचेतना वृद्धि गर्न सके सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने दिगो विकास लक्ष्य प्राप्त गर्न सकिने देखिएको छ । नेपालमा करिब ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका अनुसार सन् २०१० देखि सन् २०१७ सम्ममा विश्वव्यापी रुपमा ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४७ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको छ ।
विश्वभर करिब ४ करोड ५० लाख मानिसमा एचआईभीको संक्रमण देखिएको छ । असुरक्षित यौन सम्पर्क, रगत तथा रगतजन्य पदार्थको असुरक्षित प्रयोग तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्ने यो भाइरसबाट सुरक्षित हुनका लागि रोकथाम र सचेतना नै मुख्य उपाय हो । एड्स आफैँमा रोग होइन । नियमित एआरटीको प्रयोगबाट शरीरको आवश्यक प्रतिरक्षा गर्नुका साथै लामो जीवन जिउन मद्दत पु¥याउँछ । नेपाल सरकारले ७५ वटै जिल्लामा निःशुल्क एचआईभी परीक्षणको सेवा तथा र एचआईभी संक्रमितहरुलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । नेपालमा एचआईभी रोकथाम तथा उपचारका कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन नेपाल सरकार, विभिन्न संघसंस्था, समुदाय, व्यक्तिहरुको सामूहिक प्रयास आवश्यक देखिएको छ । नेपालमा ५८ प्रतिशत वयस्क जनसंख्या एचआईभीको जोखिममा छन् । सरकार तथा दातृ निकायहरुको सहयोगमा विभिन्न संघसंस्थाहरु एचआईभी नियन्त्रण गर्न लागिपरेका छन् । नयाँ संक्रमण दर घट्दै जानु खुसीको कुरा हो । एचआईभी÷एडसबारे जनस्तरमा अझै बढी सतर्कता अपनाउनु अपरिहार्य देखिन्छ ।

Comments

About the author

चितवन पोष्ट