गृह » देश जलिरहेको छ !
साहित्य

देश जलिरहेको छ !

– रामहरि पौड्याल
rhpoudyal@gmail.com

सदियौँदेखि देश जलिरह्यो
प्रजातन्त्रका नाममा
पञ्चायतका नाममा
पुनः प्रजातन्त्रका नाममा
गणतन्त्र र लोकतन्त्र
संघीयता र संविधानसभा
जातीय राज्य र क्षेत्रीय राज्य
अखण्ड सुदूर पश्चिम र मधेस प्रदेश
थरुहट र लिम्बूवान्
मगरात र कोचिला
लडाइँ जारी छ !

देश जलिरह्यो
मान्छे मरिरहे
जनतालाई आफ्नो स्वार्थअनुसार खेलायो
आगो बाल्यो, देश जलायो
विद्रोह सल्कायो, छिमेकबाट भाडाका टट्टुहरु बटुल्यो
नेपालीहरुका बीच वैमनस्यताको विष भ¥यो
आज त्यो क्यान्सर भएर समाज खाइरहेको छ !

सहिदको मूल्य बढाबढ !
१, २, ५ र १० होइन, ५० लाख पुगेको छ
नेपाल बन्द ! एउटा फेसन
जबर्र्जस्ती आगजनी, तोडफोड
कुनै कानुन छैन
अर्काको निजी गाडी, घर, एम्बुलेन्स
केही बाँकी नरहने
भाला रोप्दै हिँड्यो
भाटा उठाउँदै कुद्यो
आन्दोलनको नाममा हुने
यो अराजकताको अन्त्य कहिले ?

आज देश थिचिएको छ
कालापानी दोहोरिएको छ
लिपुलेक दुखिरहेको छ
सिक्किमीकरण हुने लाइनमा
आज हामी आफैँ लागेका छौँ
कसैलाई पीर छैन देश जोगाउने
देश टुक्र्याउने होडमा
मुख्यमन्त्रीको सपना बुन्ने हामी
भाइ फुटेर गँवार लुटाउने लाइनमा रमाउने हामी
पटकपटक भेँडामा बदलिरह्यौँ
तिनैका राजनीतिक गोटी बनिरह्यौँ
सिंगापुर बनाउने तिनका सपना
काठमाडौँको सडक धुने पानी
मेलम्चीको काकाकुले पर्खाइ
दिनहुँको लामो लोडसेडिङ
विश्वको ठूलो जलभण्डारले खिसी गरिरह्यो
प्रजातन्त्र र समाजवाद
बीपीको सपना
पुष्पलाल कमरेडको क्रान्तिकारिता
मदन भण्डारीको बहुदलीय जनवाद
प्रचण्डको राजनीतिक छलाङ
मधेसीहरुको एकल मधेस
अग्राधिकारसहितको तराई
थरुहट…
संविधानसभाका नाममा मुलुकले ब्योहोरेको
यो आठ–आठ वर्षको पट्टयार लाग्दो बर्बादी
देश बन्न संविधान चाहिँदैन
बेलायतलाई हेर जसको लिखित संविधान छैन
राजतन्त्र छ मर्र्यािदत
दुनियाँ बदलिए ६० वर्षमा
तर बेलायती महारानी अखण्ड बनिन्
अकन्टक बनिन्
सम्मानित बनिन्
किन सिकेन नेपाली राजतन्त्रले यो पाठ ?
किन सिकेन नेपाली राजनीतिले यो पाठ ?
देश बन्न एउटा असल नेतृत्व चाहिन्छ
एउटा राष्ट्रसेवक
जसले भ्रष्टाचारलाई निमिट्यान्न पारोस्
पहाड, हिमाल, मधेसको विभेदलाई जोडोस्
छिमेकीलाई भन्न सकोस्
सिक्किमे सपना बन्द गर
घरभित्रको हाम्रो झगडामा
न्यायाधीश बन्ने काइते परम्परा बन्द गर !
(भरतपुर १२, वसन्त चोक)

Comments

About the author

चितवन पोष्ट