गृह » दुई गजल
साहित्य

दुई गजल

— रेहित सैँजु
भन्छन् समाज मलाई मेरो ठीक थर छैन रे
बसी बसी खानलाई पनि उचित घर छैन रे

भन्न सक्छ जुनसुकै बेला निस्केर जा भनी
त्यसैले त मेरो ठेगानाको कुनै भर छैन रे

समाजमा सबैको आँखामा धूलो पो छु रे म त
मलाई त यो समाजमा कसैको कदर छैन रे

त्यसैले आजकाल म चिन्तामा डुबिरहेको छु
मलाई यहाँ बस्न दिन त कसैको रहर छैन रे

सायद पहिलो जुनीको पापको फल पाउँदै छु म
मलाई नहेप्ने त यहाँ कुनै गाउँ सहर छैन रे

 

तिम्रो घरमा बस्यो भन्दैमा मलाई गाली नदेऊ
दुःखमा पनि रमाइरहेको छु म ताली नदेऊ

थाहा छ मलाई मेरो घर थर छैन केही छैन भनी
बेलाबेलामा मलाई वचनको मुक्का खाली नदेऊ

तिमी नै भन न मेरो चाहिँ आफ्नो भन्ने को छ र
बिन्ती छ हजुर मलाई घरबाट निकाली नदेऊ

सक्ने भएपछि त म आफैँ निस्की हाल्छु नि
मेरो खुसीको पराललाई अहिले नै बाली नदेऊ

हेर्दै जाऊ तिमी मेरो पनि एक सुन्दर घर थर हुनेछ
आशा छ मलाई केही त्यसै फोहोरमा फाली नदेऊ

 

Comments

About the author

चितवन पोष्ट