गृह » मेघौली विमानस्थलमा नियमित उडान सुरू 
अर्थ प्रमुख समाचार

मेघौली विमानस्थलमा नियमित उडान सुरू 

मेघौली । पश्चिम चितवनको मेघौली विमानस्थलमा बुधबारबाट जहाज आउन जान सुरू भएको छ ।
जिल्लाको निकै पुरानो सो विमानस्थल पछिल्लो सात वर्षदेखि बन्द भएको थियो । बुधबारदेखि नेपाल वायु सेवा निगमको टुविनअटर विमानले उडान सुरू गरेको हो । आइतबार, बुधबार र शनिबार सो विमानस्थलबाट काठमाडौंसम्म नियमित उडान हुने विमानस्थल कार्यालयले जनाएको छ ।
‘हप्तामा तीन दिन एक एक नियमित उडान हुने छ’ विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर केशव लम्सालले भने । लम्सालका अनुसार सो विमानस्थल विसं २०६७ सालको मंसिरदेखि बन्द थियो । विसं २०१७ सालमा स्थापना भएको सो विमानस्थलमा चितवन निकुञ्जभित्र रहेको टाइगर टप्स जंगल लजमा आउने पाउनाहरु ल्याएको विमानहरुले उडान भर्दै आएका थिए ।
सरकारले निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने निति बनाएपछि ६९ सालको मंसिरदेखि विमानस्थल बन्द भएको थियो । ‘नभए कुनै बेला मेघौली एयर पोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सबै जहाजमा टाइगर टप्स जंगल लजमा आउने खास गरेर विदेशी पाहुनाहरु नै हुने गर्दथे’ एयर ट्राफिक कन्ट्रोलर लम्सालले जानकारी दिए । सो विमानस्थलमा ४५ जना अट्ने एभ्रो विमानसम्म उड्ने तथा उत्रने गर्दथे ।
बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा उनको विमान मेघौली एयर पोर्टमै उत्रेको इतिहास छ । विमानस्थलका अधिकारीहरुका अनुसार ५० साल तिर एभ्रो विमान सो विमानस्थलमा दुर्घटना भएको थियो । यात्रुलाई खासै केही नभए पनि जहाज क्षतिग्रस्त भएको थियो । त्यसपछि विसं २०५५ सालदेखि सरकारले विमानस्थलमा आधुनिक उपकरणयुक्त टावर राखेको थियो ।
माओवादी सशस्त्र संघर्षका बेलामा सो टावरमा पनि आक्रमण भएको थियो । काठमाडौंबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली आउँछ । हवाइ भाडा नेपालीका लागि एक तर्फी तीन हजार १६५ रूपैयाँ र विदेशीका लागि ९९ सय डलर कायम भएको छ । सदरमुकाम भरतपुरबाट २५ किलोमिटर टाढा पश्चिममा सो एयरपोर्ट रहेको छ । काठमाडौं भरतपुरको एक तर्फी भाडा योभन्दा धेरै छ ।
‘पर्यटकका साथै स्थानीयले पनि यहाँबाट सुविधा पाउने सम्भावना छ’ मेघौलीका स्थानीय तथा मेघौली पर्यटन विकास समितिका उपाध्यक्ष हरिचन्द्र महतोले भने । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले मेघौलीको पर्यटन विकासमा हवाइ उडानले निकै मद्धत गर्ने बताए । चितवन पर्यटन विकास समितिका महासचिव विश्वराव सुवेदीले पश्चिम चितवनको पर्यटन उकासिने समय आएको बताए ।
‘मेघौलीमा राम्रा र ठूला होटलहरु छन् । विदेशी पर्यटकहरु लगातार आइरहेका छन् । मुग्लिन–नारायणगढ सडकको दुरावस्थाले हवाइमार्गबाट पर्यटक ल्याउनु पर्ने बाध्यता छ । भरतपुरको साटो सिधै मेघौली नै पर्यटक बोकेका जहाज उत्रने भएपछि धेरै राम्रो भयो’ महासचिव सुवेदीले भने । यात्रुको चाप बढे सातै दिन उडान हुने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।
प्रचण्डको पहल
यस मेघौली विमानस्थल सञ्चालनका विषयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वैशाख अन्तिम हप्ता मेघौलीमा भएको साना शहरी खानेपानी तथा सरसफाइसम्बन्धी परियोजना उद्घाटन क्रममा विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने बताएका थिए । उनको प्रयासमा मेघौली विमानस्थल सञ्चालनमा आएको कर्मचारीहरु बताउँछन् ।

Comments

About the author

चितवन पोष्ट