गृह » अति भयो गाडी दुर्घटना
सम्पादकीय

अति भयो गाडी दुर्घटना

एउटा गाडी दुर्घटनाको खबर नसेलाउँदै पुनः अर्को पीडादायी खबर सुन्न हामी नेपाली अभिशप्त भएका छौँ । अकल्पनीय दुर्घटनाको श्रृंखला चलिरहँदा बुधबार बिहान फिस्लिङमा काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा सात जनाको निधन भएको छ । इच्छाकामना गाउँपालिकामा पर्ने फिस्लिङस्थित पृथ्वीराजमार्गमा लु२ख २९१ नम्बरको बस त्रिशूली नदीमा खसेको थियो । बसमा कति यात्रु थिए भन्ने यकिन छैन । सबैभाग नदीमा डुबेको बसबाट २५ जना घाइतेको उद्धार गरिएको छ । हरेक मानिसको मृत्यु शाश्वत् र अवश्यंभावी छ । तर, यस्तो दुःखद मृत्युको खबर सुन्नु हाम्रो नियति बनिरहनु अति नै दुर्भाग्य हो । पटकपटक यस्ता अकल्पनीय दुर्घटना दोहोरिँदा हाम्रा राजमार्ग र सडकहरु मृत्युमार्गकै रुपमा स्थापित बन्दै गइरहेकामात्रै छैनन्, अब यात्रा गर्नुअघि तीनपटक गम्भीर भएर सोच्न आवश्यक भइसकेको छ । संख्याका हिसाबले दुर्घटनालाई सानो–ठूलो मानिए पनि जोकसैको पनि गाडी दुर्घटनामा ज्यान जानु चिन्ताको विषय हो ।
गाडी दुर्घटनामा बुधबार अर्को अत्यन्त दर्दनाक खबर सञ्चारमाध्यममा आयो । कालीकोटको खाँडाचक्रमा सुत्केरी बोकेर मुगुतर्फ जाँदै गरेको जिप दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा ६ जना घाइते भए । जिप दुर्घटनाको कारण पत्ता नलागे पनि सडकको दुरवस्था नै प्रमुख कारण रहेकोमा कुनै द्विविधा छैन । गत शुक्रबार पनि रूकुमको मुसीकोटमा जिप दुर्घटनामा परी नवविवाहिता दम्पतीसहित सातजनाको निधन भएको थियो । हरेक दिनजसो साना–ठूला दुर्घटना भइरहँदा यस्ता दुर्घटनाको खबर सुन्नु नपरेको दिन मनमा कति शान्ति महसुस हुन्थ्यो होला भन्ने कामना सबैले गर्न थालेका छन् । सधैँ दुर्घटना भइनै रहने र यात्रुले मृत्युमार्गमा अकालमै ज्यान गुमाउनुपर्ने नियति बन्दै जानु आफैँमा दुःखद कुरा हो । नेपालमा अकाल मृत्युको प्रमुख कारण नै गाडी दुर्घटनालाई मानिएको छ । आजका दिनसम्म गाडी दुर्घटनामा परी कतिले ज्यान गुमाए, बेपत्ता बने र कति अंगभंग भए त्यसको अनुमानसम्म पनि गर्न नसकिने भएको छ ।
नेपालका राजमार्ग र सडकका विषयमा यहाँ उल्लेख गरिरहनु सान्दर्भिक छैन । किनभने, यो समस्या अब विश्वका जुनसुकै कुनामा बस्नेका लागि पनि नौलो कुरा रहेन । सडकको आवश्यक सुधार तथा मर्मत नहुनु र जोखिमपूर्ण सडकमा चालकको अर्घेल्याइँ बढ्नु नै दुर्घटनाका कारक हुन् । सडकको दुरवस्थाका बारेमा जगजाहेर हुँदाहुँदै पनि सावधानी नअपनाउनुले दुर्घटना बढिरहेको छ । सरमलाग्दो विषय त यो छ कि, यतिविध्न गाडी त्रिशूलीमा खसिरहँदा पनि सरोकारवाला निकायको दुर्घटना न्यूनीकरण गर्नेबारे आँखा नखुल्नु विडम्बनापूर्ण छ । यात्रुका तमाम सास्ती, गन्तव्यमा पुग्ने अनिश्चितता, सडक अनुशासनको अवमूल्यन्, चालकको लापरबाही, यातायात व्यवसायीको ज्यादती, राज्यको असफल नीतिजस्ता विविध विषय नसुधारिएसम्म हामी नेपाली मृत्युमार्गमा हिँडिरहन बाध्य हुनेछौँ । सुरक्षित, आरामदायी र सहज यात्रा नै आजको आवश्यकता हो । यस विषयमा राज्यका सरोकारवाला, जिम्मेवार राजनीतिक दल र नागरिक समाजले यस विषयमा गम्भीर बहस गर्नु जरूरी देखिन्छ ।

Comments

About the author

चितवन पोष्ट