गृह » विप्लव अब हतियार बिसाऊ
सम्पादकीय

विप्लव अब हतियार बिसाऊ

नेपाललाई नयाँ युगमा प्रवेश गराउने र संविधान कार्यान्वयन गर्ने निर्विकल्प प्रक्रियाका रुपमा लिइएको प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आउन अब आठ दिनमात्रै बाँकी छ । आमजनताले उत्सवका रुपमा स्वीकारेको र राज्यलाई नयाँ संघीय संरचनाअनुरुप विकेन्द्रीकरण गर्न आसन्न निर्वाचन एकमात्र विकल्प रहेको परिपे्रक्ष्यमा विप्लव समूहले निर्वाचन बिथोल्ने मनसायले बम आतंक सिर्जना गरेर अराजनीतिक चरित्र प्रदर्शन गरेको छ । मंसिर १० गते ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको छ भने मंसिर २१ गते हुने निर्वाचनको मिति नजिकिँदै छ । उम्मेदवारहरु निर्वाचनका कार्यक्रमहरुमा व्यस्त रहँदै आएको अवस्थामा सर्वसाधारणलाई आतंकित गर्ने गरी विप्लव समूहको नेकपाले चुनाव विरोधी गतिविधि गर्दै आएको विश्लेषण सुरक्षा निकायको छ । दलका उम्मेदवारलाई लक्षित गरी एक महिनाअघिदेखि श्रृंखलाबद्ध रुपमा बम विस्फोट गराउँदै आएको घटनामा विप्लव समूहको संलग्नता रहेको देखिन्छ । सुरक्षा निकायले पनि निर्वाचनको एउटा चुनौती नेकपालाई नै मानेको छ ।
नेपालमा हत्या र हिंसाको राजनीति अन्त्य भइसकेको छ । हतियारको सहाराले गन्तव्यमा पुग्न नसकिने दृष्टान्त माओवादी द्वन्द्वले देखाइसकेको छ । शान्तिपूर्ण आन्दोलनबाट ठूला–ठूला परिवर्तन भएका छन् । हतियारको दम्भ र बमबारूदको धङ्धङीले जनताले राहत पाउँदैनन्, आहत हुन्छन् । बम विस्फोटका घटनाले आमजनतामा त्रासदी फैलाउन सकिन्छ, जनमत बटुल्न कदापि सकिँदैन । देशको समृद्धि र विकासका लागि निर्वाचन अपरिहार्य र अन्तिम सत्य हो भन्ने कुरा आमजनताले महसुस गरिसकेका छन् । देश निर्वाचनमय बनिरहेको र आमजनतामा उत्साह थपिँदै गइरहेको वर्तमान परिप्रेक्ष्यमा विभिन्न समूहको अराजक क्रियाकलाप बढ्दै गएको छ । कुन दलको जनमत कति भन्ने मापन गर्ने अस्त्र नै निर्वाचन हो । यो विधि संसारभर चल्दै आएको छ । लोकतान्त्रिक प्रतिस्पर्धामा परीक्षण नगर्ने, सर्वस्वीकार्य विधि र पद्धतिमा विश्वास नगर्ने, चुनाव बहिष्कारको नीति लिने, जनतालाई आतंकित बनाउने चरित्र प्रदर्शन गरेर विप्लव समूहले अलोकप्रिय काम गरेको छ ।
नेकपाको नेतृत्व गर्दै आएका विप्लवले हतियारको राजनीति बन्द गर्नुपर्छ । नेपाली जनताले हत्या–हिंसाको राजनीतिबाट परिवर्तन आउनेमा विश्वास गर्दैनन् । बन्द, हड्ताल र बमबारूदको नामै सुन्न चाहँदैनन् । अब हतियारका भरमा होइन, शान्तिपूर्ण ढंगले देश र जनताको समृद्धिका लागि लड्ने राजनीतिक शक्तिले मात्रै जनमत हासिल गर्न सक्छ । विप्लव समूहले आफूलाई राजनीतिक शक्तिका रुपमा उभ्याउने हो भने उसले अराजक गतिविधि बन्द गर्नुपर्छ । जनतालाई दुःख दिने, चन्दा असुल्ने, आतंक फैलाउने, प्रतिबन्धित हातहतियार र बमबारूदको दम्भ बोक्ने राजनीतिक शक्ति हुँदै होइनन् । दलहरुले आयोजना गरेका शान्तिपूर्ण सभा र घरदैलो अभियान बिथोल्ने गरी माइन÷बम विस्फोट गर्ने, आगजनी गर्नेजस्ता अराजक र गैरराजनीतिक चरित्र प्रदर्शन गरेर विप्लव समूहले आफ्नो साख दिनदिनै गुमाउँदै गएको छ । यस्तो क्रियाकलापले आपराधिक गतिविधि गर्ने समूहलाई प्रश्रय दिन्छ । जनताको मन जितेर जनआकांक्षाबमोजिम काम गर्ने राजनीतिक शक्ति बन्ने कि अराजक र आपराधिक गतिविधिलाई नै प्रश्रय दिने विद्रोही बन्ने भन्ने कुरा अब विप्लव समूहले सोच्न ढिलो भइसकेको छ । तसर्थ, समयमै विप्लवले हतियार बिसाएर शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्नु जरूरी देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट