गृह » अबको गन्तव्य दोस्रो चरणको
सम्पादकीय

अबको गन्तव्य दोस्रो चरणको

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरण अर्थात् मंसिर १० गते ३२ जिल्लामा मतदान सम्पन्न भएको छ । केही छिटफुट घटनाबाहेक ६५ प्रतिशत मतदान भएको छ । निर्वाचनलाई लक्षित गरी केही समूहबाट त्रास फैलाउने र मतदान प्रभावित गर्ने प्रयास गरिए पनि सुरक्षाकर्मीहरुले अप्रिय घटना हुन दिएनन् । स्थानीय तहमा जसरी मतदाताको उत्साहजनक सहभागिता नरहे पनि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । राष्ट्रिय पर्वका रुपमा लिइएको यस निर्वाचनमा कम्तीमा ८० प्रतिशत मत खस्ने अपेक्षा गरिए पनि त्यो सार्थक हुन सकेन । यसले मतदातामा मतदान गर्ने उत्साह र रुचि नरहेको भन्ने देखाउँछ । सबै जनताको उत्साह नहुनुमा विभिन्न गठबन्धनका नाममा चुनावी प्रतिस्पर्धा हुनु र सही उम्मेदवार छनोट नहुनु पनि एउटा कारण हुनसक्छ । त्यसमा पनि चुनाव बहिष्कार गर्ने समूहले चुनावअघि गरेका बम विस्फोट र उम्मेदवार लक्षित अराजक गतिविधि पनि अर्को कारण हुनसक्छ ।
स्थानीय निर्वाचनमा मतदाता जति उत्साहित भएर स्थानीय जनप्रतिनिधि छान्न तम्सिएका थिए, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदातामा पुरानै अनुहारप्रति वितृष्णा भएका कारण पनि मतदान गर्न रुचि नरहेको बुझ्न सकिन्छ । मतदानस्थल मतदातालाई पायक नपर्नु, पहाडी क्षेत्रमा मतदान गर्नका लागि कहीँ बास नै बस्नुपर्ने स्थितिले गर्दा उत्साहजनक मत खस्न सकेन । दैनिक ज्याला मजदूरी गरेर परिवार पाल्नुपर्ने नियति बोकेका हजारौँ जनता मतदानका बेलामा गाउँ नै खाली गरेर भारतका विभिन्न सहरहरुमा जानुपरेको दृष्टान्तले कसरी मत प्रतिशत बढ्छ ? चुनावका बेला मत प्राप्त गर्न हुने÷नहुने, पूरा गर्न सकिने÷नसकिने सबै खालका प्रतिबद्धता बाँड्ने र चुनाव जितेपछि सदरमुकाममै केन्द्रित हुने कतिपय उम्मेदवारको वास्तविकता हो । जनता भोट बैंकमात्र होइनन् र आश्वासनले मात्र उनीहरुको माग पूर्ति हुँदैन भन्ने कुरा राजनीतिक दलहरुले मनन गर्न नसक्दा उत्साहजनक मतदान हुन नसकेको हो । जनता निर्णायक हुन्, उनीहरुले मतदान गर्न वा नगर्न सक्छन् भन्ने उदाहरण पनि हो– पहिलो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ।
अबको गन्तव्य भनेको दोस्रो चरण अर्थात मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको हो । आसन्न निर्वाचनका लागि नेपाल–भारतका सुरक्षाकर्मीले सीमाक्षेत्रमा संयुक्त रुपमा गस्ती सुरू गरेका छन् । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले उच्च सुरक्षा सर्तकता बढाएको छ । विभिन्न सीमा नाकामा चेकजाँचलाई कडा बनाइएको छ । सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरुलाई निगरानी बढाइएको छ । अब दोस्रो चरणमा थप भएको दुई जिल्लासहित ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सुरक्षा सतर्कता बढाउनुका साथै दलहरुलाई निर्वाचन आचारसंहिता पालना गराउन जोड दिनुपर्छ । अबको निर्वाचन तराईका जिल्लाहरुमा बढी हुने भएकाले सुरक्षा चुनौती पनि बढ्ने देखिएको छ । सीमा सुरक्षामा कडाइ गरिए पनि निर्वाचन विरोधी समूहहरुको गतिविधिलाई निरुत्साहित नगर्ने हो भने दोस्रो चरणमा पनि उत्साहजनक नतिजा नआउन सक्छ । त्यसैले मतदातालाई भयरहित ढंगले मतदानमा सहभागी गराउन र चुनौतीका रुपमा लिइएका विभिन्न समूहका गतिविधिबारे निगरानी बढाउनु जरूरी देखिन्छ ।

Comments

About the author

चितवन पोष्ट