गृह » दुर्घटना न्यूनीकरणमा ध्यान देऊ
सम्पादकीय

दुर्घटना न्यूनीकरणमा ध्यान देऊ

गत शुक्रबार साँझ रूकुमको मुसीकोटमा जिप दुर्घटनामा परी सात जनाको निधन भयो । उक्त दुर्घटनामा मंसिर ६ गतेमात्र वैवाहिक जीवनमा बाँधिएका रूकुम सिस्ने–५ का नवीन श्रेष्ठ र इटहरी–१७ की अनिता प्रधानको मृत्यु भयो । यस कहालीलाग्दो र अकल्पनीय घटनामा एक जनविवाहिता जोडीको निधन भए पनि खासै चर्चामा आएन । ०७० सालमा नेपाल प्रहरी निरीक्षकमा सँगै भर्ना भएका यी राष्ट्रसेवक सुरक्षाकर्मी लामो समयको प्रेमपश्चात् बिदा मिलाएर बिहेमा जुटेका थिए । बिहे गरेकै चार दिनमा आफ्नो कार्यक्षेत्रतर्फ जाँदा यात्रा गन्तव्यमा नपुग्दै सधैँका लागि उनीहरु बिदा भए । हरेक मानिसको मृत्यु शाश्वत् र अवश्यंभावी छ । तर, यस्तो दुःखद मृत्युको खबर सुन्नेका लागि पनि आङ नै सिरिङ्ग बनाउँछ । यस्तो बज्रपात कसैको नहोस् भनेर हामीले कामनासिवाय केही गर्न सक्दैनौँ । तर, पटकपटक यस्ता अकल्पनीय दुर्घटना दोहोरिँदा हाम्रा राजमार्ग र सडकहरु मृत्युमार्गकै रुपमा स्थापित बन्दै गइरहेका छन् ।
संख्याका हिसाबले दुर्घटनालाई सानो–ठूलो मानिए पनि कसैको पनि दुर्घटनामा ज्यान जानु विडम्बनाको विषय हो । देशभर हरेक दिनजसो साना–ठूला दुर्घटना भइनै रहन्छन् र अकालमै ज्यान गुमाउनुपर्ने नियति बन्दै गएको छ । गाडी दुर्घटनामा सयौँले ज्यान गुमाउनु परेको छ भने उत्तिकै संख्यामा अंगभंग भएका छन् । नेपालका प्रायः राजमार्ग निकै साँघुरा छन् । त्यसमा पनि आवश्यक सुधार तथा मर्मत नगर्दा यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । पहाडी क्षेत्रमा धमाधम खोलिएका कच्ची सडक र क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्तिले दुर्घटना बढ्दै गएका छन् । सामान्यतः दुर्घटनाको प्रमुख दोषी सवारी चालक र प्रमुख कारण मादक तथा लागूपदार्थ सेवन, सवारीको गति र सडक अनुशासनलाई लिने गरिन्छ । तर, दुर्घटनाको प्रमुख कारण भने लापरबाही नै हो । सवारी चालकले सवारी चलाउँदा, सवारीसाधनका धनीले मर्मतमा, ट्राफिक प्रहरीले कर्तव्य पालनमा र राज्यका नीति निर्माताले त्यसको कार्यान्वयन, सडक निर्माण र मर्मतमा गरिने लापरबाहीजस्ता कारण नै सवारी दुर्घटनाका कारक मानिन्छन् ।
सडकमा गाडी दुर्घटना जेजसरी बढिरहेका छन्, सवारीसाधनहरुको चाप पनि दिनहुँ बढ्दै गएको छ । यस्तो अवस्थामा सडकको सुधारमा कसैको ध्यान पुग्न सकेको पाइँदैन । सवारीसाधनको वृद्धि भएसँगै सडकको स्तरोन्नति गरी नियमित आवश्यक सुधार र मर्मत गर्न सकिए दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । सरोकारवालाले लापरबाही नगर्ने हो भने दुर्घटना न्यूनीकरण गर्न सम्भव देखिन्छ । विगतमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने चालकको न्यूनतम उमेर बढाउनुपर्ने, सार्वजनिक सवारीसाधन चलाउने चालकको न्यूनतम योग्यता र सवारी चालक अनुमतिपत्र वितरण प्रणाली वैज्ञानिक हुनुपर्ने भन्ने विषयमा धेरै बहस र छलफल भए, नियमावली बन्यो तर यातायातसम्बद्ध मजदुर संगठनहरुको दबाबका कारण कार्यान्वयनमा आउन सकेन । मानिसका सुविधाका लागि प्रयोगमा ल्याएका सवारीसाधनहरु नै मृत्युको कारण बन्नु दुर्भाग्य हो । यसतर्फ सरोकारवाला निकायले दुर्घटनाका कारणहरुको सूक्ष्म रुपमा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान केन्द्रित गर्नु जरूरी देखिएको छ ।

 

Comments

About the author

चितवन पोष्ट