गृह » ‘हराएका हातहरु’ खोज्दै चितवन
साहित्य

‘हराएका हातहरु’ खोज्दै चितवन

भरतपुर । ‘तिमीलाई त्यहाँ पठाउनको लागि व्यालेट बक्सबाट निकालेर दिएको थिएँ, एक जोडी हात । तर त्यहाँ पुगेपछि तिम्रा हातहरु झरेर
हराए ।’ यसो भन्दै कवि गिरि श्रीस मगर झरेर हराएका हातहरु खोज्न शनिबार रुपन्देहीबाट चितवन आए ।
चियासँग कविताको ३८ औं श्रृंखलामा उभिन रुपन्देहीबाट चितवन आएका गिरी श्रीस ‘हात नभएको मानिस’ शीर्षकको कविता वाचन गर्दा चितवनका स्रष्टाहरुको मन छोएको थियो । विश्वास गरेर सत्तामा हातहरु दिएर उनीहरुलाई (नेता) पठाएका हुन्छौँ, तर सत्तामा पुगेपछि उनीहरु हात नभएका जस्ता हुन्छन् । हात झरेर हराएजस्ता हुन्छन् । यस्तै भाव बोकेको कविता उनले दुई पटक सुनाउन परेको थियो । चितवनका स्रष्टाको ताली पाएको थियो ।
दुई दर्जनभन्दा बढी रहेका चितवनका स्रष्टामाझ उभिएर कवि गिरि श्रीसले १२ वटा कविता सुनाउन भ्याएका थिए । उनको कवितामा चितवनका स्रष्टाले फरक स्वाद पाए ।
रुपन्देही निवासी कवि मगर एकल कविता वाचनमा चितवनमा पहिलो पटक आएका हुन् । ‘नक्सा’ शीर्षक कविताबाट सुरू भएको उनको कविता ‘हात नभएको मानिस’मा गएर पूर्णविराम लाग्यो । पहिलो चरणमा ६ वटा र दोस्रो चरणमा ६ वटा कविता सुनाएका कवि मगरले कवितामार्फत आम नागरिकको आवाज बोले । आवाजविहीनहरुको आवाजलाई प्राथमिकता दिए ।
‘कवि गिरि श्रीस मगर विद्रोही कवि हुन् । उनका कविताले विद्रोह गरेको छ’ चितवनका कवि उदय अधिकारीले उनको समीक्षा गरे । कवि अधिकारीले उनका कविता सुन्दर र कलात्मक रहेको बताए ।
अर्का स्रष्टा रामचन्द्र श्रेष्ठले कवि गिरि श्रीस मगरलाई नजिकबाट चिरफार गरेका थिए । उनले प्रश्नहरुलाई व्यूज्याउने शक्ति कवि गिरि श्रीस मगरमा रहेको बताए । उनले थपे, ‘विम्बहरुको संयोजन गर्ने शक्ति उनमा छ, कविताले समाज बोलेको छ ।’ उनले श्रीसका सबै कविता शक्तिशाली भएको बताए । कविता वाचनको सिलसिला सकिएलगत्तै कवि गोविन्दराज विनोदीले जनताको कवि भनेर उनलाई चिनाए । कवि भूपिनले धेरै समयपछि चितवनका स्रष्टाले गिरि श्रीसको कविता चाख्न पाइएको बताए ।

 

Comments

About the author

चितवन पोष्ट