गृह » विनोदीले ल्याए ‘कैकेयी’ 
साहित्य

विनोदीले ल्याए ‘कैकेयी’ 

भरतपुर । साहित्यमा बहुमुखी प्रतिभा भएका गोविन्दराज विनोदीले पहिलो महाकाव्य ‘कैकेयी’ बजारमा ल्याएका छन् । चितवन साहित्य परिषद्ले शनिबार विनोदीको महाकाव्य ‘कैकेयी’को विमोचन गरेको छ ।
कवि, गीतकार, गजलकार र खण्डकाव्यकारको परिचय बनाइसकेका विनोदीले ‘कैकेयी’ महाकाव्य ल्याएर आफ्नो परिचयलाई अझ फराकिलो पारेका छन् । साहित्य परिषद्ले शनिबार विनोदीको महाकाव्यको विमोचनसहित कृतिमाथि अन्तक्र्रिया गरेको छ ।
छन्दमा आधारित रहेको यस महाकाव्यमा १८ सर्ग रहेका छन् । १३ सय ९ श्लोकहरु छन् । सबै श्लोकहरु अनुष्टुप छन्दमा रचना गरिएको छ । महाकाव्य छोटो र छरितो खालको छ । एक बसाइँमा पढेर सकिने खालको छ । विनोदीको पहिलो महाकाव्य पौराणिक विषयवस्तुमा आधारित छ । यस महाकाव्यको पहिलो सर्गमा रामको राज्याभिषेको सन्दर्भ आएको छ । रामको राज्याभिषेको सन्दर्भबाट सुरु भएको महाकाव्यमा रामसँग माता कैकेयीले क्षमायाचना गरेपछि करिबकरिब बिट मारिन्छ । कवि विनोदीले अठारौं सर्गमा समग्र काव्यको उपसंहार राखिएको छ ।
अन्तक्र्रियामा विनोदीको महाकाव्यमाथि डा केशव चालिसे र भुवनहरि सिग्देलले टिप्पणी गरेका थिए । टिप्पणीकर्ता डा केशव चालिसेले विनोदीले झिनो विषयलाई ठूलो रुप दिन सक्नु नै प्रशंसनीय रहेको बताए । उनले भने, ‘कैकेयी महाकाव्यभित्रको महाकाव्य हो ।’ उनले लेखकले विम्ब र अलंकारलाई मजबुद पार्न सक्नु महाकाव्यको सुन्दर पक्ष रहेको बताए । उनले महाकाव्यको नजिकबाट चिरफार गरेका थिए । कैकेयीको दोहोरो भूमिका ज्यादै राम्रो रहेको उनले बताए ।
अर्का टिप्पणीकर्ता भुवनहरि सिग्देलले महाकाव्यमा खलनायकलाई नायकत्व बनाएर लेखकबाट नौलो आयामको सुरुवात् भएको बताए । उनले कैकेयीले महाकाव्य जगतमा ठूलो तरङ्ग पैदा गरेको बताए ।
त्यस्तै, अर्का समीक्षक लक्ष्मी बरालले पुरुष भएर पनि नारी समवेदनालाई रेसारेसा छाम्न सक्नु लेखकको खुबी भएको बताइन् । कवि विनोदीलाई रमेश प्रभातले लयमा खेल्न सक्ने आख्यानकारको रुपमा चिनाएका थिए । द्वारिका नेपालले महाकाव्यलाई नारी मनोविज्ञानमा आधारित रहेको बताए ।
स्रष्टा कपिल अज्ञातले महान् महाकाव्य पस्केर नेपाली साहित्यमा लेखक सगरमाथा आरोहण गर्न सफल हुनुभएको बताए । उनले भने, ‘यस महाकाव्यले सयौं महाकाव्यलाई पछाडि पारेको छ ।’
विमोचन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको प्रेमविनोद नन्दनले विनोदीलाई छन्दनायकको रुपमा चिनाए । उनले भने, ‘पौराणिक पात्रहरुलाई कृतिमा ल्याउन सक्नु विनादीज्यूको सफल पक्ष हो ।’
महाकाव्यका लेखक विनोदीले महाकाव्यमा नारीभित्रको सम्वेदनालाई देखाउन सकेको बताए । उनले भने, ‘महाकाव्य लेख्न सकिन्छ कि भनेर कोशिस गरेको हो, यो कृति त्यही कोशिसको सुन्दर फल हो । अब झन् राम्रो लेख्न सकिन्छजस्तो लागेको छ ।’ विनोदीको महाकाव्यलाई शिखा बुक्स प्रकाशकले बजारमा ल्याएको हो ।

 

Comments

About the author

चितवन पोष्ट