गृह » चितवनको महाकाव्ययात्रामा ‘कैकेयी’ महाकाव्यको योगदान
साहित्य

चितवनको महाकाव्ययात्रामा ‘कैकेयी’ महाकाव्यको योगदान

– रमेश प्रभात
rameshprabhat29@gmail.com

आमुख
चितवन र नवपरासीका विभिन्न साहित्यिक संघसंस्थाहरुसँग कुनैनकुनै रुपमा आबद्धता जनाउँदै आएका कवि गोविन्दराज विनोदी (२०१०) युवापुस्ताका लागि एउटा असल मार्गदर्शक हुन् । उनले नेपाली शास्त्रीय लयका फुटकर कविता, गीत, गजलजस्ता लघुरचनामा निकै चर्चा समेत कमाएका छन् । ‘रिस’ कविता (चितवनको चिनो, २०२१) मार्फत नेपाली साहित्यमा सार्वजनिक भएका साहित्यकार विनोदी कवि, गीतकार, गजलकार, खण्डकाव्यकारसमेत हुन् । हालै उनको पौराणिक विषयवस्तुमा आधारित ‘कैकेयी’ महाकाव्य (२०७४) प्रकाशित भएको छ, जसले उनलाई महाकाव्यकारका रुपमा समेत उभ्याएको छ । साहित्यका अतिरिक्त ब्रस र रङका माध्यमबाट चित्रका रुपमा कलाको अभिव्यक्ति गर्नुमा पनि उनको सिद्धहस्तता रहेको देखिन्छ ।
चितवनको महाकाव्ययात्राको सङ्क्षिप्त चर्चानेपाली महाकाव्यले विभिन्न खालका प्रयोग र प्रवृत्ति अँगालिसकेको अवस्थामा विसं २०५७ मा कवि पोषराज पौडेलद्वारा रचित ‘शहीदगाथा’ महाकाव्य प्रकाशित भएपछि मात्रै चितवनले महाकाव्यतर्फ पाइला चाल्न थालेको हो । यो यात्रामा हेमनाथ पौडेल, हरिहर सविता, ईश्वरीप्रसाद ओझा, लकाश पौडेल, कृष्णादेवी शर्मा श्रेष्ठलगायतका कविप्रतिभाहरुले साथ दिएको देखिन्छ । यसरी महाकाव्ययात्रा थालिएको सत्र वर्षपछि कवि गोविन्दराज विनोदी पनि ‘कैकेयी’ महाकाव्य (२०७४) लिएर सहयात्रीका रुपमा यात्रामा मिसिन आइपुगेका छन् । महाकाव्यका त¤वका आधारमा ‘कैकेयी’को विश्लेषणमहाकाव्यका त¤वका बारेमा विभिन्न धारणा पाइन्छ । पूर्वीय काव्यसिद्धान्तले वस्तु, नेता र रसलाई मुख्य त¤व मानेको भए पनि यहाँ कथानक, चरित्रचित्रण, भाषाशैली, परिवेश, सर्गविधान, लयविधान, रसविधानजस्ता त¤वका आधारमा निम्नानुसार विश्लेषण गरिएको छ ः
‘कैकेयी’ महाकाव्यको कथानक
रामायणलाई उपजीव्य मानेर तयार पारिएको प्रस्तुत कैकेयी महाकाव्यको आख्यानस्रोत पूर्वीय वाङ्मयको पौराणिक मिथक हो । यसमा रामायणमा स्वार्थी नारीका रुपमा चित्रित र अपहेलित रहेकी पात्र कैकेयीलाई मुख्य पात्रका रुपमा उभ्याएर एकालापीय शैलीमा उसका मुखबाट कथावाचन गरी कथानकलाई अगाडि बढाइएको छ ।प्रस्तुत ‘कैकेयी’ महाकाव्यको पहिलो सर्गमा रामको राज्याभिषेको सन्दर्भ आएको छ भने दोस्रो सर्गमा कैकेयीले आफ्नो अतीतको स्मृति गरेको पाइन्छ । यस्तै, तेस्रो सर्गमा मन्थराले कैकेयीसँग छोरा भरतलाई राजा बनाउन राजासँग माग गर्ने सल्लाह दिएको पाइन्छ भने चौँथो सर्गमा राजाले युद्धका समयमा कैकेयीलाई दुई वरदान माग्न दिएको कुराको पूर्वप्रसङ्ग आएको छ । यस्तै गरी, पाँचौँ सर्गमा रानी कैकेयीले राजा दशरथसँग पहिले दिएको वचनअनुसार वर माग्न गरेको नाटकको चित्रण गरिएको छ भने छैटौँ सर्गमा राजाले रामलाई चौध वर्ष वनबासका सट्टा अरु वर माग्न गरेको अनुनयको प्रसङ्ग आएको छ । त्यस्तै, सातौँ सर्गमा रामको वनप्रस्थानको कुरा छ भने आठौँ सर्गमा छोराको वियोगमा राजा दशरथले देहत्याग गरेको कुरा पाइन्छ । त्यस्तै, नवौँ सर्गमा मावलीबाट भरतको गृहआगमनको कुरा गरिएको छ भने दसाँै सर्गमा भरतले राज्यारोहण अस्वीकार गरी दाजु रामलाई नै असली राज्यको हकदार मानेको कुरा पाइन्छ । त्यस्तै, एघारौँ सर्गमा चित्रकूट पर्वतमा राम र भरतको मिलन भएको देखाइएको छ भने बाह्रौँ सर्गमा भाइ भरतले राजा बन्न गरेको आग्रहलाई रामले चौध वर्षका लागि अस्वीकार गरेको देखाइएको छ । त्यस्तै, तेह्रौँ सर्गमा भरतले रामको प्रतिनिधित्व गरी राज्य चलाएको देखाइएको छ भने चौधौँ सर्गमा कैकेयीले पश्चातापपूर्ण जीवन बाँचेको चित्रण गरिएको छ । पन्धौँ सर्गमा ऋतुपरिवर्तन देखाउँदै चौध वर्षको वनबास सकिएको देखाइएको छ भने सोह्रौँ सर्गमा रामको अयोध्यामा पुनरागमन भएको देखाइएको छ । त्यस्तै, सत्रौँ सर्गमा छोरा रामसँग माता कैकेयीले क्षमायाचना गरेको देखाइएको छ भने अठारौँ सर्गमा समग्र काव्यको उपसंहार राखिएको छ ।
महाकाव्यको कथावस्तु बृहत् हुनुपर्छ भन्ने काव्यमान्यतालाई यसले पालना गरेको छैन ।
समग्र महाकाव्यका कथावस्तुका सम्बन्धमा लेखकको भनाइ यस्तो पाइन्छ :
बृहत् श्री रामगाथाको यो सानो अंश केवल
कचौराले उबाएको महासागरको जल
(अभिवादन, पृ. ६)
कैकेयी महाकाव्यको चरित्रचित्रण
विवेच्य ‘कैकेयी’ महाकाव्यको प्रमुख पात्र कैकेयी हुन् भने अन्य पात्रका रुपमा राजा दशरथ, उनका छोराहरु राम, भरत, लक्ष्मण र शत्रुघ्न, गुरू वशिष्ठ, ऋषि भारद्वाज, राजा अश्वपति, युवराज युधाजित, लङ्कापति रावण, विभीषणजस्ता पुरूष पात्रहरु गौण पात्रका रुपमा आएका छन् । त्यस्तै, राजा दशरथका रानीहरु कौशिल्या र सुमित्रा, बुहारीहरु सीता र ऊर्मिलाजस्ता नारी पात्रको भूमिका पनि गौण पात्रकै रुपमा देखिन्छ । यहाँ प्रमुख पात्रका रुपमा चित्रित कैकेयीको निम्नानुसार चरित्रचित्रण गरिन्छ :
प्रस्तुत महाकाव्यको मुख्य भूमिकामा देखिने कैकेयी रामायणमा वर्णित केकय देशका राजा अश्वपतिकी छोरी, अयोध्या नरेश दशरथकी माहिली रानी, राजकुमार भरतकी माताका रुपमा रहेको पाइन्छ । उनमा रुप, गुण, शिक्षा, राजनीतिक ज्ञान, युद्धकौशल आदिजस्ता विविध विशेषता रहेको देखाइएको छ । राजा दशरथले आफ्ना जेठा छोरा रामलाई राजा बनाउन खोज्दा उनमा अथाह खुसी छाएको पाइन्छ, तर उनकी दासी मन्थराले उनलाई राजा बन्नु र नबन्नुको भेद देखाई भरतलाई राजा बनाउन राजासँग लिन बाँकी दुईवटा वरदान सम्झाएपछि उनमा पुत्रमोह जाग्छ । पतिलाई वाचामा पारेर रामलाई चौध वर्ष वनबास र भरतलाई राज्य माग्नु नै उनको ठूलो भूल भएको देखाइएको छ ।कैकेयीको चरित्रका बारेमा उनका छोरा भरतको यस्तो भनाइ पाइन्छ :
कुमाताको हुँदा पुत्र मलाई अपशोच छ
तर श्रीराममा मेरो चित्त यो अनुरक्त छ
(१०/४७, पृ. १४०)
आफूले आफ्नो पुत्रका लागि गरेको कार्यका बारेमा कैकेयीको धारणा यस्तो छ ःरहलान् कहिलेसम्म निन्दाका बोझिला क्षण
वात्सल्य प्रेमको मेरो होला चर्चा कुनै दिन
(१०/७२, पृ. ११९)
कैकेयीका बारेमा लेखकले यस्तो धारणा राखेका छन् ःकैकेयी बिचरी नारी सोची सन्तानको हितगर्दा निर्णय आफैँले भइन् व्यथै कलङ्कित
(१८/५९, पृ. २११) ‘कैकेयी’ महाकाव्यको भाषाशैली
प्रस्तुत ‘कैकेयी’ महाकाव्यमा सरल र सहज भाषाको प्रयोग भएको छ । यो महाकाव्य यसकी प्रमुख पात्र कैकेयीका मुखबाट एकालापीय शैलीमा प्रस्तुत भएको छ । यसमा छोटाछोटा शब्दहरुको प्रयोग ज्यादा भएको छ । कतैकतै संस्कृतका श्लोकको उद्धरण गरिएको भए पनि यसको भाषा सामान्य पाठकले समेत ग्रहण गर्नयोग्य देखिन्छ ।सरल खालको श्लोकको उदाहरण :राम्रा स्वप्नहरु जस्तै विपना पनि भैदिएअहा जीवन मान्छेका कति धन्य हुने थिए (२/५३, पृ. २६)संस्कृतका श्लोेकको प्रयोग भएको उदाहरण : सानैदेखि सुनेँ मैले उक्ति सद्गुरूको यही‘पुत्रस्य परमो धर्मः पिœयुद्धारसमो न हि’ (१२/५८, पृ. १४०)
‘कैकेयी’ महाकाव्यको परिवेश
प्रस्तुत ‘कैकेयी’ महाकाव्यमा मूलतः अयोध्याको चित्रण पाइन्छ भने स्मृतिका रुपमा केकय देशको पनि चर्चा पाइन्छ । यसमा राम वनमा रहँदा भरतले राजा बन्नका लागि फर्काउन जाने सन्दर्भमा चित्रकूट पर्वतवरपरको वन्य वातावरण पनि आएको छ । यसमा चौध वर्षको चित्रण गरिएको भए पनि मूलतः रामको राज्याभिषेक हुने बेलाको करिब एक महिना र राम वनबाट फर्केको केही दिनको वर्णन मूल रुपमा भएको छ ।
केकय देशमा हुने कलासाहित्यप्रतिको अनुरागको चित्रण :समारोहहरु हुन्थे गीत सङ्गीत नृत्यकाकला साहित्य मानिन्थे ठूला वैभव राज्यका
(२/२८, पृ. २३)महाकाव्यको परिवेश व्यापक हुनुपर्छ भन्ने पूर्वीय काव्यमान्यताको यसले आंशिक रुपमा मात्रै पालना गरेको छ । परिवेशका दृष्टिले यसमा अपूर्णता पाइन्छ ।
‘कैकेयी’ महाकाव्यको सर्ग र लयविधान
प्रस्तुत ‘कैकेयी’ महाकाव्यका कूल १८ सर्गमा जम्मा १३०९ श्लोकहरु रहेका छन् । यसको सोह्रौँ सर्ग सबैभन्दा छोटो छ, जसमा केवल ६३ श्लोक छन् । त्यस्तै, यसको सबैभन्दा लामो सर्ग पन्ध्रौँ सर्ग हो, जसमा १०१ श्लोक रहेको छ । यसमा सर्गान्तमा बाहेक सबै श्लोकहरु अनुष्टुप छन्दमा रचना गरिएका छन् । प्रत्येक सर्गका अन्त्यमा शालिनी छन्दको चतुष्पदी एक श्लोक छ भने बाँकी सबै श्लोकहरु द्विपदी ढाँचाको अनुष्टुप छन्दको पाइन्छ ।
यस आलेखमा लिइएका सबै उदाहरण अनुष्टुप छन्दका हुन् भने शालिनी छन्दको श्लोकको एउटा उदाहरण यस्तो छ ः
कैकेयीका पुत्र सत्ताविरागीयोगीजस्तै देखिए खूब त्यागीरामैलाई राज्य सुम्पन्छु भन्दैथाले यात्रा दण्डकारण्य खोज्दै  (१०/७७, पृ. १२०)
सर्गान्तमा छन्दपरिवर्तन गर्ने पूर्वीय मान्यताको पालना गरिएको भए पनि लयगत विविधताको कमी यो महाकाव्यमा रहेको छ ।
‘कैकेयी’ महाकाव्यको रसविधानरसपरिपाकका दृष्टिले ‘कैकेयी’ महाकाव्यमा पूर्णता पाइन्न । समग्र महाकाव्यले अङ्गीरसका रुपमा शान्त रसको वरण गरेको भए पनि यसमा बात्सल्य भाव अधिक पाइन्छ । कैकेयीमा पुत्रलाई राजा बनाउने चाहना बढ्नु त्यसको नमुना हो । त्यस्तै, यसमा कतैकतै करूण भाव पनि पाइन्छ ।
वात्सल्य भावको उदाहरण :पुत्रको हितमा स्वार्थी बन्नु के अपराध होपाएको हक मेरो हो भन्नु के अपराध हो (८/६६, पृ. ९५)
करूण भावको उदाहरण : हे ईश्वर तँ नै बुझ्लास् मान्छेमा छैन त्यो कलापीडामै बाँच्नुको चल्ला कहिलेसम्म शृङ्खला (५/२२, पृ. ५५)
चितवनको महाकाव्ययात्रामा कैकेयीको स्थाननिर्धारणमहाकाव्यका त¤वहरु कथानक, चरित्रचित्रण, भाषाशैली, परिवेश, सर्गविधान, लयविधान, रसविधान आदिका आधारमा हेर्दा प्रस्तुत ‘कैकेयी’ महाकाव्य सुन्दर काव्य बनेको छ । अठार सर्गमा रचना गरिएको यो काव्य कथावस्तुको एकाङ्गी गति, पात्रको एकल विकास, सीमित परिवेश, सीमित छन्दको प्रयोग तथा रसप्रयोगमा देखिएको एकरुपतालाई नियाल्दा महाकाव्य कम खण्डकाव्य ज्यादा देखिन गएको छ : महाकाव्यका सम्बन्धमा स्वयं महाकाव्यकारको भनाइ यस्तो रहेको छ ःयौटी अनादृता नारी कैकेयीको लिई कथाएकालापीय शैलीमा उनकै मनका व्यथापोख्ने यत्न गरेको छु यो सानो काव्यमा तरस्रष्टाले सृष्टिको चित्र कोर्न सक्ला बृहत्तर ? (अभिवादन, पृ. ६)
समग्र चितवनको महाकाव्य यात्रालाई हेर्दा ‘शहीदगाथा’, ‘विभूति दर्पण’, ‘शौर्यगाथा’जस्ता महाकाव्यहरु केवल गाथाका रुपमा रहेको पाइन्छ भने ‘पुष्पपत्र’ महाकाव्यमा पत्रशैलीको प्रयोग देखिन्छ । यस्तो अपूर्णतामा महाकाव्यकार गोविन्दराज विनोदी परिपुष्ट कथानक लिएर देखिनुलाई एउटा उपलब्धि मान्न सकिन्छ । उनको आगामी महाकाव्य सम्पूर्ण महाकाव्य बनोस् यही शुभकामनासहित ‘कैकेयी’ महाकाव्यको सफलताको शुभकामना ।
कृति : कैकेयी
विधा : महाकाव्य
कृतिकार : गोविन्दराज विनोदी
प्रकाशक : शिखा बुक्स
संस्करण : २०७४, भाद्र
मूल्य : रू. ३००।–

Comments

About the author

चितवन पोष्ट