गृह » ‘खडेरीका फूलहरु’ : समसामयिक स्वर बोकेको हाइकुसंग्रह
साहित्य

‘खडेरीका फूलहरु’ : समसामयिक स्वर बोकेको हाइकुसंग्रह

– तुलमान गुरूङ
tulmangurung1@gmail.com
नेपाली साहित्य जगत्मा हाइकु कुनै नौलो विधा होइन । खासमा हाइकुलाई जापानबाट प्रयोगमा आएको साहित्यिक विधा मानिन्छ । तर, नेपालमै पनि हाइकु लेख्ने परम्परा करिब तीन दशकअघिदेखि नै बसेको मानिन्छ । त्यसैले पनि नेपाली साहित्यको क्षेत्रमा हाइकु कुनै नौलो विधा होइन भन्न सकिन्छ । अझ छोटकरीमा भन्नुपर्दा ‘हाइकु’ वाङ्मय फाँटको अत्यन्त सानो छुड्किलो रचना हो । पाँच, सात र पाँच पङ्क्तिको अक्षरभित्र रहने सत्र अक्षरको अनुपम रचना हो हाइकु, जहाँ डुबुल्की मार्दा बेग्लै शीतलता र आनन्दको अनुभूति गर्न पुग्दछौँ ।
थप भन्नुपर्दा हाम्रा पूर्वजहरुले प्रयोग गर्दै आएका र आज पनि उत्तिकै प्रभावशाली रहेका उखान टुक्कालाई बिर्सन मिल्दैन । त्यसैले, हाइकुलाई नेपाली साहित्यको क्षेत्रमा अचारका रुपमा समेत लिन सकिन्छ, जसको एक पित्कोले नै जिब्रोमा पूर्ण स्वाद दिलाउँछ । नेपाली साहित्यको पाटोमा सबैभन्दा छोटो हुने भएकाले पनि नेपालमा हाइकु निकै लोकप्रिय मानिन्छ । पछिल्लो समय कविताको क्षेत्रमा कलम चलाएका साहित्यकारहरु पनि हाइकु लेखनतर्फ आकर्षित भएका हामी पाउँछौँ । पछिल्लो समय डीबी पुन, खगेन्द्र बस्याल र हृदय लेकालीले ‘खडेरीका फूलहरु’ नामक संयुक्त हाइकुसंग्रहमार्फत नेपाली साहित्यको क्षेत्रमा पाठकहरुलाई फरक स्वाद चखाउने प्रयास गरेका छन् ।
यी तीनैजना लेखकहरु विशुद्ध नेपाली स्वादलाई मन पराउँछन् । त्यसैले पनि ‘खडेरीका फूलहरु’ हाइकुसंग्रह तीनैजना लेखकहरुको शैली र शिल्पको त्रिवेणी बन्न पुगेको छ । खासमा भन्नुपर्दा खडेरी भन्नु नै प्राकृतिक प्रतिकूलताको द्योतक हो । तर, यी तीनजना लेखकहरुले खडेरीमा पनि फूल फुलाउने प्रयास मात्रै गरेका छैनन्, खडेरीको समयमा पनि फूलका बगैँचालाई सुगन्धित बनाउने प्रयास गरेका छन् ।
तीनैजना लेखकले विद्रोह, प्रेम, विकृति, विसंगति, छटपटी आदिलाई टपक्क टिपेर हाइकुमार्फत माधुर्यपूर्ण शैलीमा युगीन चेतनाको सोपानमा चढ्ने प्रयास मानेका छन् । खासमा हाइकु भन्नेबित्तिकै पाठकको मनमा चस्स छुने खालको हुनुपर्दछ । छोटो भइकन पनि खरखजानापूर्ण हुनु जरूरी छ । त्यसैले, एउटा चित्रले संकेत गरेको सम्भावित दृश्यानुभव बिम्ब अर्थात् आकृतिलाई स्पष्ट तरिकाले छताछुल्ल बनाउन सक्नु नै हाइकुको विशेषता हो ।
यहाँ ‘खडेरीका फूलहरु’मा पनि यो लागू भएको पाइन्छ । किनकि संग्रहको सुरूवातीमै डीबी पुनले वर्तमान राजनीतिक परिवेशलाई व्यङ्ग्य गर्दै भनेका छन् :
देशको रोटी
खाँदैछन् जोख्तै चुँड्दै
बाँदरहरु
यसले गर्दा विश्वकै सुन्दर देश नेपालले अहिलेसम्म फूल फुलेझैँ गरी मुसुक्क हाँस्न नपाएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । नेताहरुले दोसल्लाको न्यानोमा जनताको जाडो नै बिर्सिएका कुरालाई पेचिलो ढंगले पस्किन सफल भएका छन् उनी । यस्तै चोटिला र पेचिला शब्दहरुले भरिएको छ यो संग्रह । देशको बदलिँदो राजनीतिलाई मात्रै होइन, गरिब तथा दीनदुःखीहरुको कथालाई पनि सत्र अक्षरमै सुन्दर ढंगले पस्किन सफल भएका छन् तीनैजना लेखकहरु । हुन त, अहिलेको समयलाई हेर्दा नेपाली जनता पहिलेका तुलनामा धेरै सक्षम र सबल भइसकेका छन् ।
कुनै बेला चामलको भात खानका लागि दसैँतिहार नै आउनुपथ्र्यो । यानि कि, उनीहरु वर्षभरि कोदो र मकैको ढिँडो खान बाध्य हुन्थे । भन्न खोजेको के हो भने, हप्तामा एक–दुई छाकमात्रै चामलको भात खाने परिवार पनि सम्पन्न परिवारभित्र गनिन्थे । सायद, त्यतिबेलाको परिवेशलाई आधार मानेको हुन सक्छ । लेखकले यसो पनि भनेका छन्  :
कोदाको गेडा
दुखियाको पोल्टामा
मोतीका दाना
हुन त, त्यतिबेलाको परिवेशमा साँच्चै नै गरिबका लागि कोदाको गेडा पनि मोतीका दानासरह नै हुन्थ्यो । अझै पनि नेपालका धेरै पहाडि भूभागमा बस्ने मानिसहरुको अवस्था यस्तै छ । विशेषगरी, नेपालको पश्चिमी भेग अर्थात् कर्णाली क्षेत्रका बासिन्दा अझै पनि भोकमरीको समस्या भोग्न बाध्य छन् । यसैलाई आधार मान्ने हो भने वर्तमान समयलाई पनि यी शब्दले प्रस्ट्याएको हामी बुझ्न सक्छौँ । अझै पनि नेपालमा थाप्लोले थेग्न नसक्ने गरी भारी बोकेर पनि रित्तै पुर्पुरो बस्नु परेको छ । जहाँ दसैँ आउँदा निधारमा अक्षता लगाएर पनि माडले आफ्नो पेट भर्नु परेको कारूणिक पीडा पनि समेटिएको छ ।
तर, सहरबजारमा भने परिवेश फेरिएको छ । किनकि, कोदोको परिकारलाई विशेष परिकारका रुपमा लिन थालिसकेका छन् । त्यसो त, लेखक पुनले वास्तविकता र सामाजिक परिवेशलाई सुन्दर ढंगले मालामा उन्ने प्रयास गरेको देखिन्छ । नेपाली मौलिक भाषालाई विशेष ध्यान दिइएको देखिन्छ । भाषामा कुनै खोट लगाउने ठाउँ देखिँदैन । धेरैजसो व्यङ्ग्यात्मक शैलीमा आफ्नो शिल्पको प्रयोग गरिएको छ ।
सहरबजारमा जग्गा खण्डीकरणले गर्दा एक टुक्रा घडेरीको मूल्य पनि लाखौँ रूपैयाँ पर्ने प्रसंगलाई जोडेर उनले मंगल ग्रहमा सस्तो भएको भन्दै तिखो व्यङ्ग्य प्रहार गरेका छन् । यतिमात्रै होइन, देशको राजनीतिक परिवेश अस्थिर रहेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । समय–समयमा भइरहने निर्वाचनले नेतालाई सधँै माथि उठाउने र जनताको स्तर सधैँ तलको तल हुने कारणसमेत प्रस्ट पारेका छन् ।
कताकता मायाप्रेममा पनि डुबेका छन् उनी र भन्दैछन्, काँडाकोे माझमा फुलेको मायालाई चुँडेर होइन, आँखाले टिप्नुपर्छ । त्यसैले मायाप्रेम भन्ने कुरा प्राणी जगत्मै मह¤वपूर्ण र अपरिहार्य भएको उनी यसरी बताउँछन् :
बैँसको प्रेम
जति कनायो उत्ति
मज्जा लुतो झैँ
उनले नेपालका विकृति र विसंगतिलाई राम्रैसँग चिरफार गर्ने प्रयास गरेको देखिन्छ । नेपालमा चाहे स्वास्थ्य क्षेत्र होस्, चाहे शैक्षिक क्षेत्र होस्, सबै भ्रष्टाचार गर्दै पैसा कुम्ल्याउने बाटोमात्रै भएको तीतो यथार्थलाई पनि चरितार्थ पारेका छन् । यतिमात्रै होइन, सरकारी कामको ढिलाइले गर्दा अनाहकमा सेवाग्राहीले दुःख पाएको कुरा पनि सुन्दर ढंगले प्रस्तुत गरेका छन् । त्यसैले पनि उनले भनेका छन् कि मानिसको जिन्दगी नै खोसाखोसमै बितेको छ । अर्को कुरा, उनले नेपाली समाजमा अझै पनि छोरा र छोरीबीचको व्याप्त विभेदको अन्त्य गर्नका लागि पनि पहल गरेका छन् ।
अहिलेको परिवेशमा गाउँका मानिसहरु बजारमुखी हुँदा गाउँका खेतबारीका गराहरु बाँझै रहेकाले कृषिप्रधान देश नेपालमा हरेक वर्ष उत्पादन घट्दै गएकोले यस्तै भइरहे हरेक नेपालीले जन्मिएदेखि नमरून्जेलसम्म विदेशी उत्पादनकै भर पर्नुपर्ने प्रसंगलाई पनि उनले कोट्याएका छन् ।
‘खडेरीका फूलहरु’ हाइकुसंग्रहमा तीनजनाको हाइकु संग्रहित छन् । तीनजनामध्ये अर्का सशक्त लेखक हुन्, खगेन्द्र बस्याल । उनले पनि नेपालको विगत र वर्तमानलाई राम्रोसँग केलाउने प्रयास गरेका छन् । बिरामीले औषधि अभावमा छटपटिनुपर्दाको पीडा, महँगीको समस्या र नेपाली संस्कृतिलाई पनि सुन्दर ढंगले उनेका छन् ।
छ कि औषधि
ए डाक्टर साहेब
देश दुखेको
संग्रहमा समावेश बस्यालका १६० वटा हाइकुमध्येको पहिलो नम्बरमा रहेको हाइकु हो यो । उनले सुरूवाती चरणमै व्यङ्ग्यात्मक शैलीमा नेपालको स्वास्थ्य क्षेत्रमा भएको समस्याप्रति चिन्ता प्रकट गरेका छन् । अस्थिर राजनीतिले गर्दा देश दुखेकोले औषधि छ कि छैन ? भनेर पनि सोधेका छन् । उनी सर्वसाधारणको प्रतिनिधित्व गर्दै सरकारलाई झकझक्याउन सफल भएका छन् । छोटो लेखनमा पनि मह¤वपूर्ण ढंगले अर्थ खुलाउन सक्ने गरी शब्द रच्न माहिर देखिन्छन् उनी ।
केही समयअघिमात्रै स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनताले स्थानीय जनप्रतिनिधि पाइसकेको खण्डमा पनि खासै परिवर्तन देख्न नपाएका र जनताको आवाजलाई पनि सिर्जनामार्फत पस्किन सफल भएका छन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका नाममा पालिकामात्रै थपेर विकास गर्न सहज छैन भन्ने कुरालाई उनले पुष्टि गरेका छन् ।
तालिकाबिना कुनै पनि काम सफल नहुने उनको तर्क छ । नेताहरुका आआफ्नै तालको खुकुलो परिभाषाले समृद्ध राष्ट्र सम्भव नहुने भन्दै उनले टिप्पणी गरेका छन् । त्यसैले, अहिलेसम्म राष्ट्रको माया पढेको मात्रै नभई पढाएको प्रसंगलाई व्यङ्ग्य गर्दै अझै पनि परीक्षा दिनै बाँकी रहेकाले नतिजा आउन धेरै समय पर्खिनुपर्ने उनको रचनाले प्रस्टै बोलेको छ ।
उनले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई निर्वाचनको बेलामात्रै नाटक मञ्चन गर्न सक्ने कलाकारको संज्ञा दिएका छन् । त्यसैले नाकाबन्दी, नेपाल बन्द, भूकम्पजस्ता आपतविपत्ले आक्रान्त जनताले अझै पनि कति समयसम्म यस्ता समस्या खेप्नुपर्ने हो भन्दै गहिरो चिन्तासमेत व्यक्त गरेका छन् । नेपालको प्राकृतिक सुन्दरताले मात्रै विश्वमा नेपालको परिचय फराकिलो भएको उनको तर्क छ । तसर्थ, उनले आफूलाई जस्तो देशको चिन्ता कुनै पनि दलका नेता तथा कार्यकर्तालाई नभएको प्रस्ट पारेका छन् । नेपालका नेता तथा कार्यकर्ताले ढाँट र छलको खेती गर्नबाहेक अन्ततिर ध्यानै नदिएको कुरालाई पनि सुन्दर ढंगले उनले प्रस्तुत गरेका छन् ।
अब पनि जनताले कानमा तेल हालेर सुत्न नहुने उनको सुझाव छ । नेताहरुले जनतालाई सधैँ भकुण्डो नै सम्झिरहने हुँदा अब जनता आफैँ रेफ्री बन्न उनले सुझाव दिएका छन् । जनताले जिताएर पठाएका नेता नै ठाउँमा पुगेपछि मतदाताले भेट्न खोज्दा मुन्टो बटारेर हिँडेका तीतो यथार्थलाई पनि उनले चित्रण गरेका छन् । हात जोडेर भोट माग्ने र जितेको भोलिपल्टैदेखि बोल्न छाड्ने नेताहरुको वास्तविकतालाई मात्रै होइन, जनतालाई सधैँ अलमल खुवाएर पनि नेताहरु कहिल्यै नअघाएको भनेर उनले पाठकसामु छर्लङ्ग पारेका छन् ।
नेताहरुको छलछाम र साँढे जुधाइले सधैँ बाच्छो मिचेका कारण देश रोएको र गरिब जनताको दिन फेरिन नसकेको भन्दै लेखक बस्यालले मुक्तिनाथ भगवान्सँग त्यस्ता नेताहरुको कान समातेर कारबाही गर्नसमेत माग गरेका छन् । उनको रचनामा शक्ति र भक्तिले गर्दा इमानदार मानिसले सधैँ अवसरबाट वञ्चित हुनु परेको कहानी पनि भेटिन्छ ।
नेपालका हरेक क्षेत्र वा निकायमा हुने क्रियाकलापले जनता आजित भइसकेका छन् । तैपनि, जनता अझै त्यो पीडा भोग्न बाध्य छन् । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने पुरानो उखानलाई पनि उनले चरितार्थ पारेका छन् । दस बजे कार्यालय पस्ने बेला र पाँच बजे छुट्टी भएर निस्कने बेलामा हाजिर गर्ने बानी लागेका सरकारी कर्मचारीलाई फुर्सद मिलाएर झापड हान्न सफल भएका छन्, उनी । देशमा गणतन्त्र आइसक्दासम्म पनि चन्दा आतंकले जनता अझै पनि वाक्कदिक्क भएका कुरालाई उनले यसरी प्रस्ट्याएका छन् :
परियो फन्दा
कति सजिलो धन्दा
जो आयो चन्दा
जनतासँग चन्दा उठाएर पनि सही काममा नलगाई हिनामिना गरेर जनतालाई हिसाबै देखाउन नसक्ने विषयलाई उनले छताछुल्ल पारेका छन् । काम गर्ने बेला भोलि भोलि भन्ने तर, जनतालाई चन्दा आतंकले नछाडेकोले नेपालमा व्याप्त विकृतिलाई पूर्ण रुपमा निषेध गर्न उनको सिर्जना सकारात्मक देखिएको छ ।
राज्य सञ्चालनमा रहेका र ठूला भनिएका व्यक्तिहरु नै जँुगाको लडाइँ लडिरहने पुरानो विकृतिलाई सबै मिलेर हटाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता देखेका छन् उनले । खासमा नेपालका नेताहरुलाई शिक्षाको अभाव भएको उनको बुझाइ छ ।
योग्यता आलु
जुँगा मुसार्दै सधैँ
यहाँका ठालु
यस्तै कारणले गर्दा अझै पनि बासी एजेन्डालाई नै छलफलको मुख्य विषय बनाइरहेका छन् दलहरु । योग्यता नभएकै व्यक्ति पहुँचका भरमा सत्ता सम्हाल्न पुग्ने हुँदा उनले त्यस्ता नेताहरुलाई झुसिल्कीरोको उपनाम दिएका छन् ।
हाइकु लेखनमा अर्को सशक्त नाम हो, हृदय लेकाली । उनी पनि नेपाली समाजमा व्याप्त विकृति र विसंगतिलाई हाइकुमार्फत पाठकमाझ छरपस्ट पार्न सक्ने खुबी राख्दछन् । नेपालको राजनीतिमा सबैभन्दा ठूलो समस्या र विकृति रहेको उनको बुझाइ छ । एउटै हड्डीका लागि लडेर बिजोग नदेखाउन उनले नेताहरुलाई व्यङ्ग्यात्मक तरिकाले आग्रह गरेका छन् । विगतदेखि वर्तमानसम्म देशका धेरै युवा जनशक्ति दिनानुदिन विदेशिन बाध्य छन्, जुन भोलिका दिनसम्म पनि अवश्य जारी रहने छ । साना–ठूला सबै खालका उद्योगधन्दा खोल्ने र युवा जनशक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था मिलाउन सके कुनै पनि नेपाली युवाले विदेशी भूमिमा भौँतारिन पर्दैन । तर, हरेक नेपालीले विदेश नगई सुखै छैन । देशकै स्थितिले गर्दा अहिलेका युवा पनि स्वदेशमा केही गर्न नचाहने भाव यसरी प्रकट गर्छन् :
जन्मन बेर
विदेशिनै हतार
आजका युवा
हृदय लेकाली राजनीतिक परिवेश, सामाजिक विकृति र विसंगति, बढ्दो महँगीमात्रै होइन, मायाप्रेमलाई पनि सुन्दर ढंगले व्याख्या गर्न माहिर देखिन्छन् । यतिमात्रै होइन, ‘खडेरीका फूलहरु’ हाइकुसंग्रहमा उनका धेरैजसो मायाप्रेमसम्बन्धी हाइकु समावेश भएको पाइन्छ । नेपालमा भ्रष्टाचारीहरुको संख्या दिनानुदिन बढ्दै गएकोप्रति उनले चिन्तासमेत प्रकट गरेका छन् । समाजसेवीको खोल ओढेर भ्रष्टाचार गरेका कुरालाई उनी यसरी प्रस्तुत गर्छन् ः
सेवा गुनको
तस्करी छ सुनको
समाजसेवी
तर, सोझासाझा जनता भने समयको जाँतोमा सधैँ पिसिनु परेको पीडालाई पनि उनले व्याख्या गरेका छन् । जताततै समस्यैसमस्या देख्छन् उनी । मौलिक सामानको मूल्यमा कमसल सामान बेचेर जनता ठगिरहेका छन् व्यापारीहरु । तर पनि नारायण गोपालले गाएको गीत ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ’ भनेजस्तै जबर्जस्त हाँस्न बाध्य छन् नेपाली जनता । यसका लागि राज्यको संयन्त्रकारी निकाय नै मौन हुनु र उस्तै परे नियमनकारी निकाय नै यस्ता घृणित कार्यमा संलग्न रहेको आशंका व्यक्त गर्छन् उनी ।
देशमा शान्तिले सास फेरिसक्दा पनि त्रास कम भएको छैन । द्वन्द्वकालको राम्रैसँग सामना गर्दै आएका नेपाली जनताले अझै पनि बमबारूदको डर र त्रासमा बस्नुपरेको छ, जसले गर्दा चैत–वैशाखको खडेरीमा पनि दुःखको मूल फुटेका कुरालाई कलात्मक शैलीमा पस्किन सफल भएको देखिन्छ । उनी मायाप्रेमलाई पनि सुन्दर ढंगले पस्किन सफल देखिन्छन् ।
पोख्नु पोखिछ्यौ
बगायो नि मलाई
तिम्रो मायाले
जति टाढा उति गाढा भन्ने भनाइलाई चरितार्थ गर्दै उनले सामान्य चिनजानमात्रै भएका मान्छेको पनि भौगोलिक दूरी टाढा हुँदा सम्झना धेरै हुने बताएका छन् । उनको समग्र रचनालाई हेर्दा सबै खालको विषयवस्तुसँग राम्रोसँग खेल्न सक्ने खुबी देखाएका छन् । अन्ततः ‘खडेरीका फूलहरु’मा पनि तीनजना लेखकले फरक–फरक स्वाद दिने प्रयास गरेका छन् । हुन त, कतिपय रचनामा शैली फरक भए पनि एकअर्काबीचको भावना उस्तै लाग्ने खालका पनि छन् । समग्रमा भन्नुपर्दा तीनैजना लेखक हाइकु लेखनमा सक्षम छन् । तीनैजनाको लेखनशैली सबैले बुझ्न सक्ने गरी सरल भाषाको प्रयोग गरिएको छ ।
एउटा पृष्ठमा चार–चारवटा हाइकु राखिएको छ । हेर्दा सामान्य देखिने खालको आवरण भए पनि संग्रहभित्र राखिएका सिर्जना निकै कलात्मक देखिन्छन् । लेखक डीबी पुनले लेखेका हाइकुमध्ये १९ औँ नम्बरमा राखिएको हाइकुलाई नै फेरि १५६ औँ नम्बरमा पनि राखिएको छ । तसर्थ, डीबी पुनका १६० वटा हाइकु भनिए पनि एउटा रचना दोहोरिएकाले यो संग्रहमा उनको १५९ वटा हाइकुहरु संग्रहित छन् भन्न सकिन्छ । खगेन्द्र बस्याल र हृदय लेकालीको रचना भने दोहोरिएको छैन । संख्यात्मक रुपमा तीनैजनाको १६० का दरले ४८० वटा हाइकु संग्रहित छन् ।
यो संग्रहमा रचनाकारहरुले भ्याएसम्म विवेक पु¥याएका देखिन्छन् । कहीँकतै कमीकमजोरी भए पनि समग्रमा सफल भएका छन् । कसैलाई अलमल्याउने खालको गहन शब्दभन्दा पनि सबै वर्गका पाठकले बुझ्न सक्ने खालका शब्द र भाषाको प्रयोग भएको पाइन्छ । उमेर हेर्दा तीनैजना फरक–फरक उमेर समूहका भए पनि रचनामा भने उस्तै लाग्छन् ।
‘खडेरीका फूलहरु’ हाइकुसंग्रहमा नौलो कुरा त के छ भने, प्रकाशकका रुपमा कुनै संस्था नभई तीनजना लेखकका श्रीमतीहरु नै प्रकाशकका रुपमा उभिएका छन् । अर्थात्, सीता पुन, रेनुका बस्याल र सरस्वती बस्नेत यस संग्रहका प्रकाशक हुन् । सकारात्मक कुरा त के हो भने, यो संग्रहमा श्रीमान्को जति अधिकार छ श्रीमती नै प्रकाशक भएपछि श्रीमतीको पनि उत्तिकै अधिकार छ भन्ने पुष्टि हुन्छ । नेपालमा यसरी श्रीमान्को सिर्जनालाई श्रीमतीले प्रकाशन गरेका सायदै होलान् ! यस्तो कामले श्रीमान्श्रीमतीबीचको सम्बन्ध झनै सुमधुर बनाउनमा सहयोग पुग्ने देखिन्छ ।

Comments

About the author

चितवन पोष्ट