गृह » अस्ताए जनवादी गायक
कला प्रमुख समाचार समाचार

अस्ताए जनवादी गायक

किशोर खनाल
भरतपुर । सभामा जनलहर बाक्लो हुँदै गएको थियो । चारैतिरबाट मान्छेहरुको उपस्थिति थियो ।
वाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा नेतागढहरु आउन भने बाँकी थियो । भरतपुर बसपार्कको छेउमा सजिसजाउ भएको मञ्चमा उपस्थित भएर जनवादी गायक खुसीराम पाख्रिन सुमधुर स्वरमा गीत गाइरहेका थिए । दुई वटा गीत गाएपछि उनले असहज महसुस गरे । उनी कुर्चीमा गएर बसे । बसेको केही मिनेटमा उनी त्यहीँ ढले ।
। क्षेत्र नम्बर ३ बाट प्रचण्ड जिताऊ अभियानमा सहभागी हुँदै गीतमार्फत मतदातालाई रिझाउँदै दौडधूप गरेका उनै प्राखिन भरतपुरमा युवालाई जगाउँदै दुई वटा गीत गाएका थिए । त्यसपछि उनी कहिल्यै गीत गाउन नआउने गरी बिदा भए ।
गीत गाउँदै जनवादी गायक पाख्रिन युवालाई जगाए, तर आफू भने ढलेको ढल्यै भए । गीत गाउँदागाउँदै असहज महसुस गरेका पाख्रिन कहिल्यै नफर्कने गरी अलबिदा भए । मञ्चमै पाख्रिनले साह्रै असहज महसुुस गरेपछि उनलाई नारायणी सामुदायिक अस्पताल ल्याइयो । उपचारकै क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भयो । उनको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।
मंगलबार दिउँसो १ बजेतिर युवालाई जगाउँदै मञ्चमा उफ्रीउफ्री गीत गाएका थिए पाख्रिनले । एकाध घण्टाअगाडि गीत गाउने पाख्रिनलाई साँझ ५ बजेतिर सोही मञ्चबाट उद्घोषक एमाले नेता देवी ज्ञवालीले निधन भएको जानकारी दिए । उनले भने, ‘केहीबेर अघि गीत गाएका जनवादी गायक खुसीराम पाख्रिन हामीमाझ हुनुहुँदैन, आत्माको चिरशान्तिको कामना गर्दछौँ, शोकाकुल परिवारमा धैयधारण गर्ने शक्ति प्राप्त होस् ।’
भरतपुर महानगरपालिका–१९ निवासी खुसीराम पाख्रिन लामो समयदेखि गायन क्षेत्रमा रहेका छन् । जनताको दुःखपीडा र सामन्ती सरकारको विरोधमा गीत गाउँदै हिँड्ने पाख्रिन माओवादी सशस्त्र द्वन्द्वको समयमा इच्छुक सांस्कृतिक कार्यक्रमको अध्यक्षसमेत थिए ।
पहिलो संविधानसभाको चुनावमा समानुपातिकबाट सभासद बनेका जनवादी गायक पाख्रिनका गीतले नेपाली जनता रुवाउन सक्ने सामर्थ राख्थ्यो । २०३८ सालदेखि नै उनी जनवादी गायकको रुपमा चिनिएका थिए । पछिल्लो समय उनी प्रचण्डको उम्मेदवारी रहेको क्षेत्र नम्बर ३ का विभिन्न क्षेत्रको घरदैलो कार्यक्रममा सहभागी भएका थिए । जनवादी गीत गाएर जनता रुवाएका थिए । उनका कान्छा छोराको युद्धको समयमा ज्यान गएको थियो ।
२००९ साल गोर्खाको खरिबोटमा जन्मेका प्राखिनले ‘सगरमाथाको काखमा नेपाल देश छ’ ‘डाँडाकाँडा फुटालेर बाटो बनायो’ ‘कालो वनको बीचैमा खेतालाको गाउँ’ ‘रक्तक्रान्तिको बेला हो यो’ ‘उठ जाग युवाहरु’ ‘लड्दै छौ मुक्ति युद्ध’ लगायतका २०० भन्दा बढी गीत गाएका छन् ।

 

Comments

About the author

चितवन पोष्ट