गृह »  बास्केटबलमा बीबीएस तेस्रो वर्ष  पहिलो
खेलकुद

 बास्केटबलमा बीबीएस तेस्रो वर्ष  पहिलो

भरतपुर । ३० औं वार्षिकोत्सवको अवसरमा सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरले आयोजना गरेको अन्तर तह बास्केटबल प्रतियोगितामा बीबीएस तेस्रो वर्ष  पहिलो भएको छ । ११ कक्षाको व्यवस्थापन तह दोस्रो र कक्षा १२ को व्यवस्थापनका विद्यार्थीहरु तेस्रो भएका छन् । विजयी विद्यार्थीहरुलाई सोमबार भएको समापन कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

त्यस्तै छात्रातर्फ बीबीएस तेस्रो वर्ष पहिलो र शिक्षा संकाय कक्षा १२का विद्यार्थी दोस्रो भएका छन् । उनीहरुलाई पनि मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो । प्रतियोगताका रुचाइएका खेलाडीका रुपमा बीबीएस तेस्रो वर्षका अस्मित श्रेष्ठ रहे भने उदयमान खेलाडीका रुपमा कक्षा ११ का विक्रम गुरुङ घोषित भए । त्यस्तै प्राध्यापक र कर्मचारीबीचको प्रतियोगितामा प्राध्यापकहरुको टिम पहिलो भएको थियो । खेल अवधिभर रेफ्रीको भूमिकामा रहेका भरतपुरका विशाल थापा मगर र किशोर कार्कीलाई नगद सहित प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा विद्यार्थी अर्जुन श्रेष्ठले विशेष सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमको विशेष अतिथिमा क्याम्पस प्रमुख खेमनारायण सापकोटा रहेका थिए । कार्यक्रम क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख भूपेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । क्याम्पसले वार्षिकोत्सवको अवसरमा मंसिर १ गते खुला रक्तदान कार्यक्रम समेत गरेको थियो ।

Comments

About the author

चितवन पोष्ट