गृह » स्वीजरल्याण्डको अस्पतालसँग रत्ननगर अस्पतालको सम्झौता
समाचार समाज स्वास्थ्य

स्वीजरल्याण्डको अस्पतालसँग रत्ननगर अस्पतालको सम्झौता

रत्ननगर । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन रत्ननगर अस्पतालले सहयोग आदानप्रदानको लागि स्विजरल्याण्डको एक अस्पतालसँग आइतबार सम्झौता गरेको छ ।
रत्ननगर अस्पताललाई विगतदेखि नै सहयोग गर्दै आएको स्विजरल्याण्डको लिमाटाल अस्पतालले दीर्घकालीन सहयोगको लागि सम्झौता गरेको हो । आइतबार रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा रत्ननगर अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ र लिमाटाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक थोमस बराबले दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा अस्पतालको भौतिक पूर्वाधार विकास, स्वास्थ्य सेवा प्रभावकारी बनाउन, डाक्टर र नर्सको क्षमता विकासको लागि सहयोग गर्ने उल्लेख गरिएको छ ।
लिमाटाल अस्पतालले यसअघि शल्यक्रियामा आवश्यक पर्ने उपकरण, प्रसूतिलाई आवश्यकपर्ने उपकरण, एक्सरे मेसिनलगायतका स्वास्थ्य उपकरण सहयोग गर्दैै आएको छ । सोही कारणले पछिल्लो समय रत्ननगर अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ । रत्ननगर अस्पतालको सहयोगी संस्था शान्ति मेड नेपाल स्विजरल्याण्डकी अध्यक्ष डाक्टर रुथ गोन्सेथको पहलमा स्विजरल्याण्डको लिमाटाल अस्पतालसँग महत्वपूर्ण सहयोग सम्झौत गरिएको अस्पताल विकास समितिको अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले बताए ।
रत्ननगर नगररपालिकाका मेयर नारायण वन, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, अस्पताल विकास समितिका सदस्य गोपाल कर्माचार्य, अस्पतालका मेसु अजय न्यौपानेलगायतका विशिष्ट व्यक्तिहरुको सहभागितामा रत्ननगर अस्पतालले लिमाटाल अस्पतालसँग सहयोग सम्झौता गरेको हो । कार्यक्रममा शान्ति मेड नेपालकी अध्यक्ष रुथ गोन्सेथले रत्ननगर अस्पतालको विकासको लागि दुई अस्पतालबीच भएको सम्झौताले यस क्षेत्रका जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउने निश्चित भएको बताइन् । ‘यहाँका जनता भाग्यमानी हुनुहँुदो रहेछ’ उनले भनिन्, ‘त्यही कारणले रत्ननगर अस्पतालले लिमाटाल अस्पतालको सहयोग पायो ।’
अस्पताल विकास समितिका सदस्य गोपालराज कर्माचार्यले दुई अस्पतालबीच भएको सहयोग सम्झौताले रत्ननगर अस्पतालको सेवा प्रभावकारी बनाउन र भौतिक पूर्वाधार निर्माण गर्न सहयोगी हुने बताए । लिमाटाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक थोमसले स्वास्थ्यसम्बन्धी आफ्नो अनुभव र स्विजरल्याण्डमा स्वास्थ्यको विकासका लागि गरिने क्रियाकलाप रत्ननगर अस्पतालमा सुरू गर्ने बताए । उनले रत्ननगर अस्पतालमा उपकरण सहयोगसँगै डाक्टर तथा नर्सहरुलाई सम्बन्धित विषयमा दक्ष बनाउन सहल गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले विदेशी अस्पतालसँग भएको सहयोग सम्झौताले रत्ननगर अस्पताललाई नमुना अस्पताल बनाउने सपना पूरा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष तिलकराज शर्मा, अस्पतालका मेसु डा अजय न्यौपाने, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट