गृह » एके फोर्टी सेभेनलाई तेकवान्दोको उपाधि
खेलकुद

एके फोर्टी सेभेनलाई तेकवान्दोको उपाधि

भरतपुर । भरतपुरमा आयोजना गरिएको आठौँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि एके फोर्टी सेभेन तेकवान्दो डोजाङले जितेको छ ।
मंसिर १ र २ गते भरतपुर कबर्ड हलमा आयोजना गरिएको प्रतियोगितामा २२ डोजाङको सहभागिता रहेको थियो । नवलपुरको पाँच डोजाङ र चितवनको १७ वटा डोजाङको सहभागिता रहेको प्रतियोगितामा चार वटा गोल्ड मेडल जित्दै बेलचोक नारायणगढको एके फोर्टी सेभेन तेकवान्दो डोजाङ पहिलो भएको हो ।
दुई तेक्वान्दो डोजाङले चार÷चार वटा गोल्ड मेडल जितेपछि गोलाप्रथाद्वारा पहिलो र दोस्रो घोषणा गरिएको थियो । प्रतियोगितामा चार वटा गोल्ड मेडलसहित नवलपुरको गैंडाकोट तेकवान्दो डोजाङ दोस्रो भएको छ । त्यस्तै, दुई वटा गोल्ड मेडलसहित माडी तेक्वान्दो डोजाङ तेस्रो भएको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने डोजाङलाई ट्रफी प्रदान गरिएको थियो । राष्ट्रिय तेकवान्दो संघ जिल्ला समिति चितवनको आयोजनामा भएको प्रतियोगितामा २३० जना खेलाडीहरु सहभागी भएका थिए ।
प्रतियोगितामा पुरुषतर्फ बेस्ट प्लेयरको उपाधि गैंडाकोट तेक्वान्दो डोजाङका अमन गुरुङ र महिलातर्फ माडी तेक्वान्दो डोजाङकी दीक्षा महतोले प्राप्त गरेका छन् । आयोजक संस्थाका अध्यक्ष विकास श्रेष्ठका अनुसार विभिन्न तौल समूहमा खेलाइएको प्रतियोगितामा महिला र पुरुषबीच फरक फरक प्रतिस्पर्धा गराइएको थियो ।
पुरुषतर्फ २० किलो तौल समूहदेखि ५८ किलो तौल समूहसम्म र महिला तर्फ २५ किलो तौल समूहदेखि ५३ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो । यसैबीच, अक्टोबर २० र २१ गते थाइल्याण्डमा भएको ‘सेभेन तिरक इन्टरनेशनल तेकवान्दो च्याम्पिएनशीपमा दोस्रो र तेस्रो भएका तीन जना खेलाडीलाई उक्त प्रतियोगिताको समापनका क्रममा सम्मान समेत गरिएको छ । उक्त प्रतियोगितमा चितवनबाट नौ खेलाडी सहभागी भएकामा कृष्ण थापा र सुदीक्षा गौतम दोस्रो तथा माधव दुलाल तेस्रो भएका थिए ।

 

Comments

About the author

चितवन पोष्ट