गृह » रत्तनगरमा रोमाको रौनक
कला समाचार समाज

रत्तनगरमा रोमाको रौनक

–होमनाथ सापकोटा
रत्ननगर । नृत्यको क्षेत्रबाट कलाकार रोमा न्यौपाने अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेकी छन् । नृत्य गरेरै चर्चित भएका कलाकार नेपालमा कमै छन । ती कमै चर्चित नृत्यकारको सूचीमा रोमा एक नम्बरमा पर्छिन् । उनी अपाङ्गता भएकी नृत्यकार हुन् । उनको एउटा खुट्टा छैन । एउटा खुट्टाले आर्कषक नृत्य गर्ने भएकाले उनी नृत्य क्षेत्रमा चर्चित छन् । उनको नृत्य सपाङ्गको भन्दा दोब्बर आकर्षक छ । एउटा खुट्टाले उनले नाच्न सुरू गरेपछि दर्शकहरु चकित पर्छन् ।
शुक्रबार रत्ननगरमा जारी रत्ननगर महोत्सवको स्टेजमा उनले आर्कषक नृत्य गरिन् । नृत्य सुरू गर्नुअघि उनले आफू अपाङ्ग हुँदाका सुरूवाती दिनका दुःख सुनाइन् । आठ वर्षको हुँदा दुर्घटनामा परेर देब्रे खुट्टा गुमाएकी रोमालाई कला क्षेत्रमा प्रवेश नगर्दा जीवन नै सकियो भन्ने लाग्थ्यो । तर होइन रहेछ । दुर्घटनाले नै उनलाई जीवन जिउन सिकायो । एउटा खुट्टाले नृत्य गर्दागर्दै उनी राष्ट्रियस्तरमै चर्चित भइन् ।
देश र विदेशका दर्जनौँ कार्यक्रममा उनले नृत्य प्रस्तुत गरिसकेकी छन् । महोत्सवको स्टेजमा उनले भनिन् ‘पहिला रोमाले स्टेज खोज्नुपथ्र्यो, अहिले स्टेजले रोमा खोज्छ ।’ पछिल्लो समय देश विदेशका कार्यक्रममा एउटा खुट्टाले नृत्य गरेर सबैलाई आश्चर्यचकित पार्ने रोमालाई ८ वर्षको उमेरमा स्कुल जाँदै गर्दा गाडीले ठक्कर दिएको थियो । सोही कारणले उनले एउटा खुट्टा गुमाउनुपरेको थियो ।
सुनसरी जिल्लाको इटहरीमा जन्मिएकी रोमा हाल निकै व्यस्त कलाकारको सूचीमा पर्छिन् । दर्शकहरुले उनलाई दयाको भावले हेर्दैनन् बरु एउटी साहसी नारीको रुपमा दर्शकले बुझ्ने गरेको उनको बुझाइ छ । ‘वान लेग डान्सर’को रुपमा नाम कमाएकी रोमाको नृत्य हेर्न दर्शकहरु उत्साहित हुने गरेका छन् । उनको अदृश्य कला छ । एउटा खुट्टाले छमछम्ती नाच्न कलामात्र पर्याप्त हुँदैन ।
कलासँगै उनमा एउटा अदम्य साहस पनि छ । त्यही साहसले उनलाई अहिले चर्चाको शिखरमा पु¥याएको छ । उनी भन्छिन्, ‘ममा कलामात्र होइन, साहस पनि उत्तिकै छ ।’
विदेशमा दुई दर्जनभन्दा बढी देश पुगेकी छन । उनी जहाँ जति देश पुगेर दर्शक नचाएकी छन्, त्यो एक प्रस्तुति नै दर्शकका लागि काफी हुने गरेको छ । अहिले जताततै वाहवाही पाएकी रोमाले पूर्वीचितवन महोत्सवमा पनि धमाकेदार प्रस्तुति देखाइन् । महोत्सवमा उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिन । रोमाको प्रचार गरेअनुसार नै महोत्सवमा दर्शकको ओइरो लाग्यो । महोत्सवको स्टेजमा उनले तीन वटा गीतमा नृत्य गरिन् । चितवनमा यो उनको तेस्रोपटक हो । ‘चितवनवासीले मेरो कलालाई मन पराइदिनुभएको छ’ उनले भनिन् ‘त्यही भएर मैले चितवनमा अवसर पाएकी छु । शुक्रबार रोमालगायत अर्का चर्चित कलाकार रमेशराज भट्टराई, दुर्गा सापकोटा, गोविन्द अधिकारी, रिकेश बस्कोटा, लीलामणि भण्डारीले गीत प्रस्तुत गरेकाथिए ।

 

Comments

About the author

चितवन पोष्ट