गृह » माओबादीसँगको २३ वर्षदेखिको नाता तोडेर स्वतन्त्र उम्मेदवारी
प्रमुख समाचार

माओबादीसँगको २३ वर्षदेखिको नाता तोडेर स्वतन्त्र उम्मेदवारी

रत्ननगर । एमाले छाडेर २०५१ सालमा माओवादीमा प्रवेश गरेका सिंहबहादुर गोलेले पार्टीसँगको २३ वर्ष लामो सम्बन्ध तोडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सशस्त्र द्वन्द्वको सुरूवाती समयमै तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेर युद्ध छेड्न महत्वपूर्ण भूमिका निर्वाह गरेका गोलेले २३ वर्षपछि पार्टी परित्याग गरी राजनीतिक बाटो परिवर्तन गरेका हुन् । युद्धको बेला ज्यानको बाजी राखेर काम गरे पनि आफूलाई माओवादीले निर्वाचन जितेर जनताको दुःखमा साथ दिने अवस्थामा अवसर नदिएको भन्दै चितवन क्षेत्र नं।१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनको चुनाव चिन्ह शंख हो ।
सो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र कांग्रेसबाट राजेन्द्र बुर्लाकाटी चुनावी मैदानमा छन् । गोलेले माओवादीबाट विद्रोह गरेर स्वतन्त्ररुपमा उम्मेदवारी दिएका कारण उनको उम्मेदवारीले सुरेन्द्र पाण्डेलाई केही असर गर्ने आकलन गर्न थालिएको छ । गोलेले सोमबार खैरहनीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले हरेक निर्वाचनको बेला आफूलाई उपेक्षा गरेका कारण पार्टीबाट विद्रोह गरेर स्वतन्त्ररुपमा उम्मेदवारी दिएको बताए ।
उनलाई माओवादीले एमालेसँग चुवानी तालमेल गरेको समेत चित्त बुझेको छैन । ‘द्वन्द्वकालदेखि पार्टीमा रहेर दुःख गरेकालाई पाखा लगाएर माओवादीले एमालेसँग तालमेल ग¥यो’ उनले भने, ‘माओवादीले आफ्नो कार्यदिशा नै बिर्सिसक्यो ।’ पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका गोलेलाई माओवादीले अहिलेसम्म कारबाही गरिसकेको छैन । राप्ती नगरपालिका वडा नं। ५ भण्डारा निवासी गोले अहिले चुनावी अभियानमा छन् । ‘सुरेन्द्र पाण्डे र राजेन्द्र बुर्लाकोटी विरुद्ध मेरो उम्मेदवारी हो’, उनले भने, ‘यस क्षेत्रका अधिकांश माओवादी कार्यकर्ताले मलाई मतदान गर्नुहुन्छ ।’ २०५१ सालमा माओवादीमा प्रवेश गरेका गोले केही समय सैन्य कमिसारको रुपमा काम गरेका थिए ।
तत्कालीन अवस्थामा माओवादीले जनमुक्ति सेना तयार गरेपछि उनलाई पार्टीले संगठनको जिम्मेवारी दियो । तामाङ राष्ट्रिय मुक्ति मोर्चाको २०५८ सालमा केन्द्रीय सदस्य, २०५९ सालमा केन्द्रीय कोषाध्यक्ष, २०६२ सालमा केन्द्रीय सचिव, २०६३ सालदेखि केन्द्रीय कोषाध्यक्ष भएर अहिले सम्म सोही पदमा आफू रहेको उनले बताए । गोले अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि उनलाई माओवादीले टिकट दिएन ।
माओवादीले स्थानीयस्तरबाट उम्मेदवार छनौट गर्ने पद्धतिलाई समेत लत्याएर नेतृत्वले आफू खुसी टिकट वितरण गरेको उनले बताए । समानुपातिकमा समेत आफूलाई नपारेपछि पार्टी भित्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएको गोलेले बताए । सशस्त्र द्वन्द्वको बेला गोलेका सबै परिवार माओवादीमा प्रवेश गरे । ‘कमाउने बेलामा परिवारका सबै पार्टीको काममा हिडियो’, उनले भने, ‘अहिले हामीसँग सम्पत्तिको नाममा केही छैन । छोराछोरीलाई राम्ररी शिक्षा दिन पनि सकिन ।’ ‘म असल अभिभावकसमेत बन्न सकिन’ उनले भने, ‘यो सबै माओवादीले गर्दा भएको हो ।’ ‘श्रीमतीलाई राम्रो कपडा, छोरालाई कापीकलम समेत किन्न नसक्ने अवस्थामा म छु’ उनले भने, ‘यस्तो व्यक्तिलाई माओवादीले लत्यायो ।’ भावनात्मकरुपमा अब माओवादीसँग कुनै पनि नाता नरहेको उनले बताए । भोट माग्न चुनावी अभियानमा रहेका गोलेले चितवन क्षेत्र नं।१ बाट आफूले पाँच हजारदेखि सात हजारसम्म मत ल्याउने दाबी गरेका छन् ।

Comments

About the author

चितवन पोष्ट