गृह » होटल व्यवसायीलाई प्रशासनको त्रास 
अर्थ प्रमुख समाचार

होटल व्यवसायीलाई प्रशासनको त्रास 

–तुलमान गुरूङ
भरतपुर । चितवनका होटल व्यवसायीहरूले निर्वाध तरिकाले व्यवसाय सञ्चालन गर्न नपाएको गुनासो गरेका छन् ।
सोमबार होटल व्यवसायी संघ चितवनको २२ औँ साधारण सभामा व्यवसायीहरूले यस्तो गुनासो गरेका हुन् । संघका अध्यक्ष कमल शर्माले चितवनका होटलहरूमा समय–समयमा जिल्लाका सरकारी निकायहरूले विभिन्न बहानामा दुःख दिने गरेको भन्दै सेवामूलक व्यवसायलाई निर्वाध ढङ्गले सञ्चालन गर्न पाउनुपर्ने बताए ।
केही दिनअघिदेखि बजार व्यवस्थापनको लागि भनेर लायन्सचोकदेखि पुलचोकसम्मको मुख्य सडकमा पार्किङ निषेध गर्दा नारायणगढका होटलहरू प्रत्यक्ष मर्कामा परेको व्यवसायीहरूको भनाइ छ । ‘बाहिरबाट आएका सार्वजनिक सवारी साधनलाई मुख्य बजारभित्र आउन नदिँदा हाम्रो व्यवसाय नै धरापमा परेको छ,’ होटल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष डाँसीराम ढकालले भने, ‘निजी सवारी साधनलाई रोक्न नदिइए पनि बाहिरबाट आएका बसहरूलाई खाना खाने समयसम्म रोक्न दिनुपर्छ ।’
राति १० बजेपछि होटल बन्द गर्नुपर्ने भएकोले कम्तीमा पनि राति १२ बजेसम्म होटल खोल्न पाउनुपर्ने व्यवसायीहरूको माग छ । ‘टाढाबाट आएका यात्रु राति १० बजे पछाडि नारायणगढ आइपुगे खाना खान नपाउने स्थिति छ,’ ढकालले भने, ‘सेवामुखी व्यवसाय भएकोले प्रत्यक्ष जनताको सेवालाई पनि हेर्नु आवश्यक छ ।’
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले हरेक होटलमा मदिराजन्य पदार्थको बिक्रीलाई पूर्णरूपमा बन्द गर्ने गरी यात्रुहरूलाई खाना खुवाउने वातावरण मिलाउनुपर्ने बताए । सरकारी निकायहरूले पनि निकृष्ट व्यवसायीको रूपमा हेरेको भन्दै उनले आपत्ति जनाए । ‘अहिले नारायणगढको अवस्था हेर्ने हो भने कुनै पनि होटलमा बस्दा आफू सुरक्षित छु भन्ने महसुस गर्नै पाईँदैन,’ उनले भने, ‘कतिखेर छापामार शैलीमा आएर लिएर जाने हो थाह छैन ।’
तर, राज्यको कर छली गर्दै बिना दर्ता सञ्चानलमा आएका होटलहरूलाई कारबाही गर्नेतर्फ राज्यको ध्यान पुग्न नसकेको उनको भनाइ छ । बजार व्यवस्थापनको लागि पोकाको सामान बेच्ने र साना सवारी साधनलाई हटाउने हो भने बजारको सडकमा भीड कम हुने उनको भनाइ छ । ‘तर, ध्यान दिनुपर्ने ठाउँमा ध्यान पुग्दैन । जहाँ मानिसहरू आरामसँग बसिरहेका हुन्छन्, त्यस्ता ठाउँमा गएर हस्तक्षेप गर्ने काम भने भइरहन्छ,’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालप्रति लक्षित गर्दै अध्यक्ष गौतमले भने, ‘जुन राम्रो होइन ।’ साथै कतिपय नकारात्मक कामहरू व्यवसायीबाटै भएको भन्दै व्यवसायी पनि सुध्रिनु आवश्यक रहेको औँल्याए । उनले होटल व्यवसाय गर्दै आएका सबैलाई उद्योग वाणिज्य संघमा आवद्ध हुन पनि आग्रह गरे ।
होटल व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले भने हरेक सकारात्मक काम गर्दा कहीँकतै ठेस लाग्नु स्वभाविक भएको बताए । अहिलेको बजारको अवस्था पनि यस्तै भएको भन्दै व्यवसायीहरूले देखाइरहेको समस्या विस्तारै समाधान हुँदै जाने बताए । ‘बजारमा अस्तव्यस्त भएको सवारी पार्किङलाई हटाउने काम नराम्रो काम होइन । अहिलेको आवश्यकता हो,’ उनले भने, ‘तर, सधैँ भइरहेको क्रियाकलापलाई परिवर्तन गर्न त्यत्ति सजिलो छैन । यो बिस्तारै मिल्दै जाने कुरा हो ।’
यही विषयमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भने बजार व्यवस्थापनको पहिलो चरण भएकोले अहिले नारायणगढ बजारप्रति मात्रै केन्द्रीत भएको देखिएको स्पष्ट पारिन् । महानगरको योजनाअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलदेखि चौबिसकोठी, शहीदचोक, पुल्चोक, आँपटारी, बाइपास रोड हुँदै केन्द्रीय बस टर्मिनलसम्मको मुख्य सडकमा पार्किङ गर्न नपाइने गरी काम सुरू गरेको बताइन् ।
‘यो सुरूवात मात्रै हो । हामीले कसैलाई पनि काखा र पाखा गर्न खोजेका होइनौँ,’ मेयर दहालले भनिन्, ‘त्यसैले हामी परीक्षणकालमै छौँ ।’ चितवनमा बजारी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमासमेत ठूलाठूला तारे होटल खुल्ने क्रम चलिरहेको भन्दै उनले भनिन्, ‘तपाइँहरूको व्यवसायमा कस्तो समस्या परेको छ । आउनोस्, छलफल गरेर अगाडि बढौँ ।’ तर, कतिपय अवस्थामा बजारको सुधार गर्ने क्रममा केही घाटा पनि सहन सक्नुपर्ने उनले बताइन् ।
लायन्सचोकदेखि पुलचोकसम्मको सडकमा पाकिङ हटाउँदा बजारमा भीडभाड कम हुनुका साथै पैदलयात्रीलाई पनि धेरै सहज भएको बताइन् । कुनै पनि व्यवसायीले आफ्नो फाइदा मात्रै हेर्दा अरूलाई कस्तो खालको समस्या पर्छ भन्ने कुराको पनि ख्याल गर्नुपर्ने मेयर दाहालको भनाइ छ ।
दसैँ तिहारअघि बजारमा तीनपाङ्ग्रे सवारी साधनको व्यवस्थापन गर्ने विषयमा चाडपर्वले गर्दा कार्यान्वयन गर्न नसकेको भन्दै अबको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि फेरि प्रक्रियाअनुसार व्यवस्थापन गर्ने उनले प्रष्ट पारिन् ।
‘हामीले समृद्ध महानगरको कुरा गर्दैगर्दा बजारको सवारी व्यवस्थापन नगरी सुन्दर शहरको कल्पना सफल हुन सक्दैन,’ उनले भनिन्, ‘त्यसैले बजारमा भएका नकारात्मक वा आवश्यकताभन्दा बढी भएका विषयवस्तुहरूको व्यवस्थापन गर्नुतर्फ लाग्नुपर्छ ।’ चितवनमा करिब तीनहजारभन्दा बढी होटल व्यवसायीहरू रहेको होटल व्यवसायी संघ चितवनले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट