गृह » महोत्सवमा दर्शकको भीड बढ्दै
अर्थ समाचार समाज

महोत्सवमा दर्शकको भीड बढ्दै

रत्ननगर । रत्ननगरमा जारी पूर्वी चितवन महोत्सवमा दर्शकहरुको भीड बढ्दै गएको छ ।
रत्ननगर जेसीजले आयोजना गरेको सो महोत्सवको चौथो दिनसम्म आइपुग्दा २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको संयोजक निरज श्रेष्ठले जानकारी दिए । सुरूका दुई दिनमा अपेक्षाकृत दर्शन नआए पनि शनिबार यता अवलोकनकर्ताको संख्या बढ्दै गएको उनले जानकारी दिए । टाँडी बजार नजिकैको विद्युत्चोक नजिक महोत्सव आयोजना गरिएकोले दिनप्रतिदिन संख्या बढ्दै गएका छन् । महोत्सवका कारण टाँडी बजारमा समेत चहलपहल बढ्दै गएको संयोजक श्रेष्ठले जानकारी दिए ।
चारलेन सडक निर्माणका कारण विगत दुई वर्षदेखि सुस्ताएको टाँडी बजारमा चहलपहल बढेको बताइएको छ । महोत्सव विवाह विशेष भएका कारण महोत्सवमा गीतसंगीतसँगै विवाहका गतिविधि गरिएको छ । कृषिको विकासको लागि स्थानीय उत्पादन र महोत्सव परिसरमा माछापोखरी निर्माण गरी जिउँदो माछा बिक्री गर्ने व्यवस्था मिलाइएको संयोजक श्रेष्ठले बताए ।
जाडो महिना सुरू भएकाले न्यानो कपडा रहेका स्टलहरुमा दर्शकहरुको बढी भीड रहेको छ । कपडालगायतका व्यापारिक स्टलहरुमा आयोजकले मूल्यसूची हेरेर स्टल राख्न दिइएका कारण सस्तो मूल्यमा न्यानो कपडा किनबेच भइरहेको छ । कृषि र पर्यटनको विकाससँगै टाँडी बजारको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा २२७ वटा स्टलहरु रहेका रत्ननगर जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए ।
महोत्सवअन्तर्गत सोमबार जिल्लास्तरीय तोक्वादो प्रतियोगिता गरिएको छ । जिल्ला तेक्वान्दो संघको सहकार्यमा आयोजना गरिएको तेक्वान्दो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २५ देखि ४३ केजी तौल समूह र महिलातर्फ २८ केजीदेखि ५६ केजी तौल समूहसम्म खेल भएको तेक्वान्दो प्रतियोगिताका संयोजक हेमराज आचार्यले जानकारी दिए । विजयी खेलाडीलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
महोत्सवअन्तर्गत आयोजना गरिएको रत्यौली प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । विवाह विशेष सो महोत्सवको मुल समारोह समितिले आयोजना गरेको सो प्रतियोगितामा उज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्था प्रथम, लगनशील आमा समूह रत्ननगर–१४ द्वितीय र सरस्वती आमा समूह रत्ननगर–३ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार नगद पुरस्कार प्राप्त गरेको रत्यौली प्रतियोगिताका संयोजक सुरज पौडेलले जानकारी दिए । महोत्सवको आयोजक संस्था रत्ननगर जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्य र महोत्सवका संयोजक निरज श्रेष्ठलाई पुरस्कार वितरण गरेका थिए ।
यसैबीच महोत्सवअन्तर्गत दुलही श्रृङ्गार प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा भरतपुरको रोज हर्बल व्युटिपार्लर प्रथम, टाँडीको इन्टरनेशनल व्युटिपार्लर द्वितीय, नारायणगढको वनसरी व्युटिपार्लर तृतीय र पर्साको स्पेश व्युटिपार्लरले सान्त्वना स्थान हासिल गरेको संयोजक मीना उप्रेतीले जानकारी दिए । विजयीलाई महोत्सवको समापनका अवसरमा पुरस्कृत गरिने छ । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार गायक दुर्गेश थापा र गायिका तथा सञ्चारकर्मी शीतल शर्माले गीत प्रस्तुत गरेका थिए । मंगलबार नेपालका चर्चित कलाकार मनोज गजुरेल र सागर आलेको प्रस्तुति रहने आयोजकले जानकारी दिए । महोत्सव मंसिर ३ गतेसम्म चल्ने छ ।

 

Comments

About the author

चितवन पोष्ट