गृह » भोट हाल्न सिकाउने जनशक्ति तयार
समाचार समाज

भोट हाल्न सिकाउने जनशक्ति तयार

किशोर खनाल
भरतपुर । निर्वाचन कार्यालय भरतपुरले नागरिकहरुलाई भोट हाल्न सिकाउने जनशक्ति तयार पारेको छ । मतदाता शिक्षा तालिममार्फत नागरिकहरुलाई भोट हाल्न सिकाउने जनशक्ति तयार पारिएको निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरि ढकालले जानकारी दिएका हुन् ।
मतदाता शिक्षा कार्यक्रम आज मंगलबारसम्म चल्ने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । ‘जनशक्ति तयार भइसकेको छ, अब गाउँगाउँमा भोट हाल्ने तरिका सिकाउन पुग्छन्’ निर्वाचन कार्यालय प्रमुख ढकालले भने, ‘यसपटक जनशक्ति धेरै छन् । त्यसैले दुई ठाउँबाट तालिम दिइएको हो ।’
स्थानीय तहको चुनावमा मतदाता शिक्षा तालिम दुई दिनको थियो । यसपटक एकदिनको मात्र हो । ‘पहिला पनि तालिम दिइएको हुनाले यसपटक आयोगले एक दिनको बनाएको हुन सक्छ’ उनले भने । यसपटक भोट हाल्न तरिका सिकाउने जनशक्ति ४०८ जना छन् । जनशक्तिमा पुरुषको तुलनामा महिलाको संख्या दुई तिहाईभन्दा बढी छ । स्थानीय चुनावमा ३७६ जनालाई मतदाता शिक्षा तालिम दिइएको थियो ।
भरतपुरको चितवन मावि नजिक रहेको शैक्षिक तालिम केन्द्र र जिल्ला समन्वय समितिको हलमा मतदाता शिक्षा तालिम दिएर भोट हाल्ने जनशक्ति तयार पारिएको निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिए ।
पहिलो दिन २६ गते १४० जनालाई, दोस्रो दिन २७ गते २०० जनालाई तालिम दिइएको उनले बताए । बाँकी सबैलाई आज मंगलबार २८ गते मतदाता शिक्षा तालिम दिएर भोट हाल्न सिकाउने जनशक्ति तयार पारिने सूचना अधिकारी ढकालले जानकारी दिए ।
सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला सुरू भएको थियो । यसअघि आयोगले एउटै मतपत्र छापेको थियो । सर्वोच्चको आदेशपछि आयोगले अलगअलग मतपत्र छापेर जिल्लामा पठाउँदा ढिला भएको हो । तर पनि जनशक्ति तयार पारिएको र एकदुई दिनमै भोट हाल्ने तरिका सिकाउन गाउँगाउँमा पठाइने निर्वाचन कार्यालय भरतपुरले
जनाएको छ । भोट हाल्ने तरिका सिकाउने जनशक्तिमा शिशु शिक्षिका, स्वास्थ्य स्वयंसेविका र सामाजिक परिचालिका रहेका छन् ।
‘यसपटक सिकाउन गाह्रो छैन’
भोट हाल्ने तरिका सिकाउन यसपटक गाह्रो नभएको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको चुनावमा मतपत्र लामो थियो । अहिले मतपत्र छोटो छ । ‘प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो छ, यसपटक मतपत्रमा कुनै झन्झट छैन र निर्वाचन शिक्षा कार्यकर्तालाई सिकाउन पनि गाह्रो छैन’ निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले भने, ‘छोटोछरितो मतपत्र भएकाले निर्वाचन शिक्षा कार्यकर्तालाई नागरिकहरुलाई बुझाउन पनि सजिलो छ ।’
प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो भए पनि ३ वटा मतपत्रमा ४ वटा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रिया केही झन्झटिलो देखिएको छ । ‘स्थानीय तहमा ७ ठाउँमा भोट दिनुपथ्र्यो, अहिले ४ ठाउँमा भोट दिनुपर्छ । केही सहज त भयो नि’ सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘भोट हाल्न सिकाउने जनशक्तिलाई पनि सिकाउन सजिलो हुन्छ ।’
एउटा मत खसालेपछि बल्ल अर्को
यसपटक मतदाताले एउटा मतपत्र खसालेपछि बल्ल अर्को मतपत्र पाउँछन् । पहिलो मतपत्र प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारको हुन्छ । प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाएर मतपत्र बाकसमा खसाइसकेपछि मतदाताले बल्ल अर्को मतपत्र पाउँछन् । दोस्रो मतपत्र प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाएर बाकसमा खसालेपछि मतदाताले तेस्रो मतपत्र पाउँछन् । तेस्रो मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई मतदान गर्नुपर्छ ।
समानुपातिकको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका समानुपातिक र तल्लो भागमा प्रदेशसभाका समानुपातिकका लागि मत संकेत गर्नुपर्छ । प्रदेश र प्रतिनिधिसभाको मतपत्रमा एक÷एक स्वस्तिक छाप लगाइन्छ भने समानुपातिको मतपत्रमा पहिलो खण्डमा एक र दोस्रो खण्डमा एक गरी दुई वटा स्वस्तिक छाप लगाइन्छ ।
मतपत्र तीन रंगको हुन्छ । मतदाताले अन्तिम पटक पाउने समानुपातिकको मतपत्र रातो रंगको हुन्छ । प्रदेशसभाको मतपत्र कालो र प्रतिनिधिसभाको मतपत्र निलो हुन्छ ।

क्याप्सन ः भोट हाल्न सिकाउने जनशक्ति तयार पार्दै ।

Comments

About the author

चितवन पोष्ट