गृह » कांग्रेसको रत्ननगरका विभिन्न वडामा घरदैलो
राजनीति

कांग्रेसको रत्ननगरका विभिन्न वडामा घरदैलो

रत्ननगर । लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.१ को प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र बुर्लाकाटीले चुनावी प्रचारप्रसारको क्रममा सोमबार रत्ननगर नगरपालिकाको वडा नं. १५ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् ।
रत्ननगर नगरपालिकाको विभिन्न वडामा घरदैलो अभियान गर्ने क्रममा सोमबार वडा नं.१५ को पिठुवा क्षेत्रमा घरदैलो गरेर मतदातासमक्ष पुगेका हुन् ।
आममतदाताहरूले आफूलाई नै विश्वास गरेर जिताउनेमा आफू ढुक्क रहेको उनले बताए । यो क्षेत्रलाई आधुनिक कृषि प्रणालीको विकास गरेर अगाडि बढ्ने मुख्य एजेण्डा लिएर उनी घरदैलोमा निस्केका हुन् । सम्बन्धित वडा वा स्थानको आवश्यकता के हो भन्ने विषयमा अध्ययन गरेर चुनावी घरदैलोमा सक्रिय भएको उनले बताए ।
नेपाली कांग्रेसभित्रकै मत सुरक्षित गर्न सके जीत आफ्नै पक्षमा रहेको उनको दाबी छ । ‘अरू नेताले जस्तो चुनावको बेला विभिन्न आश्वासन दिएर पैसाको आडमा मत माग्ने व्यक्ति म होइन,’ उनले भने, ‘काम गरेरै मतदाताको मन जित्ने हो ।’ आज मंगलबार रत्ननगरकै वडा नं.७ मा घरदैलो अभियान गरिने उनले बताए । उनले यसअघि नै वडा नं. १, २, ३, ४, ८, ९ र १४ मा घरदैलो गरिसकेका छन् । उनको प्रतिद्वन्द्वीको रूपमा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन् ।

 

Comments

About the author

चितवन पोष्ट