गृह » जनतालाई ढाँट्न प्रचण्ड चतुर भएको पाण्डेको आरोप
राजनीति समाचार समाज

जनतालाई ढाँट्न प्रचण्ड चतुर भएको पाण्डेको आरोप

भरतपुर ।  वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले आफूले गरेको कामको अरुले जस लिने गरेको आरोप लगाएका छन् । चितवन क्षेत्र नम्बर ३ का उमेदवारसमेत रहेका मन्त्री पाण्डेले माडी क्षेत्रको विकासमा आफूले  गरेको कामको फेसबुकमा अरुले जस लिएको भन्दै असन्तुष्टि पोखे । ‘मैले निकुञ्जहुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ती सबै काम मैले गरेको भनेर फेसबुकमा राखेका छन्’, उनले पटिहानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘आफू उडुवा गफ गर्दै हिड्ने अनि अरुले गरेका सबै काम आफूले गरेको भन्ने ?’जनतालाई ढाट्न आफ्ना प्रतिस्पर्धी प्रचण्ड ज्यादै चतुर भएको भन्दै उनले एक्काइसौ शताब्दीका जनताले कसले सत्य बोलेका छन्, कसले उडुवा गफ गरेका छन् भन्ने कुरा आफै छुट्याउन सक्ने बताए । उनले  द्वन्द्वकालमा तत्कालीन माओवादीले आफूहरुसँग  चन्दा असुली गरी दिएको घटना मतदान गर्ने बेला नबिर्सन कार्यकर्तालाई अनुरोध पनि गरे । उनले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोलि सत्ताकेन्द्रीत राजनीतिमा रमाउन थालेको आरोप लगाए ।
‘ऋण लगाएर बसेका बेला भए पनि बैंकबाट ऋण लिएर चन्दा दिएको भुल्नुभएको छ ?’, नेता पाण्डेले भने, ‘कांग्रेस, एमालेसँग मिलेर सत्तामा जानु थियो भने किन हजारौँ नेपालीहरु मारिनुप¥यो ? सुरुमै सत्ताको राजनीतिमा रमाएको भए हुन्थ्यो ।’
सोमबार मन्त्री पाण्डेले भरतपुर–८ गौरीगञ्ज, भरतपुर–१७ मा चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गरे । उनले विपक्षी गठबन्धनले फैलाएका भ्रम चिर्न सम्पर्क कार्यालयले सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए ।चितवन क्षेत्र नम्बर  ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले विपक्षीले फेसबुकमार्फत अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् । भरतपुर–२२ पटिहानीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसारप्रसार सम्पर्क कार्यालयको सामाजिक सञ्जालमा आफूले साविक निर्वाचन क्षेत्रमा गरेका विकासका कामलाई समेत आँफैले गरेको भन्दै अनावश्यक प्रचार गरेर जनता झुक्याउन उद्धत भएको बताए ।
‘नारायणी, राप्ती नदी किनारलाई मैले पर्यटन मार्ग बनाउँछु भनेर प्रतिवद्धता जनाउँदै हिँडे’, उनले भने, ‘मैले यो काम गर्छु भनेर प्रतिबद्धता गरेको थाहा पाउनासाथ हामीले गर्छौ, त्यो हाम्रो योजना हो भन्दै हिँड्न थालेका छन् ।’ उनले लोकतान्त्रिक गठबन्धनले चितवन–३ को विकासका लागि ल्याएका नयाँ योजनालाई समेटेर विपक्षी उम्मेदवारले मेरो प्रतिबद्धता हो भन्दै फेसबुकमा सार्वजनिक गरेको देखेँ, मलाई साह्रै अप्ठ्यारो प¥यो ।’ उनले साविक निर्वाचन क्षेत्रमा आफ्नै पहलमा सम्पन्न भइसकेका कतिपय योजनालाई विपक्षी गठबन्धनले हामीले गर्नेछौँ भन्दै प्रतिबद्धतापत्र तयार गरेको पाएको बताए । ‘फेसबुकमा सबै हाम्रा काम र योजनालाई मेरै हो भन्दै बोल्दै हिँड्न थालेका छन्’, उनले भने, ‘हामी राजनीति गर्न जान्दैनौँ, विकास गर्छौँ, जनता अब झुक्किने छैनन् ।’
‘ज्ञवाली अपहरणमा परेजस्तै देखिए’
वन तथा भूसंरक्षणमन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले एमाले नेता देवी ज्ञवाली अपरहणमा परेजस्तो अनुभूति भएको बताएका छन्  । ‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जेजे बोल भन्यो, त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छ’, उनले भने, ‘ठ्याक्कै अपहरणमा परेको व्यक्ति जस्तो बन्नुभएको छ ।’ उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । ‘सारै दुःख प¥यो, जसरी पनि पैसा खोजेर दिउँ भन्न लगाउनु हुन्थ्यो’, उनले भने, ‘अहिले उनीहरुकै पक्षमा भाषण गर्दै हिँडेको देखेको छु ।’ ज्ञवाली भरतपुर महानगरको मेयरमा झिनो मतान्नतरले तत्कालीन कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट माओवादी नेतृ रेणु दाहालबाट पराजित भएका व्यक्ति हुन् । तत्कालीन अवस्थामा भरतपुर–१९ मा मतपत्र च्यातिएर पुनःमतदान हुने बेलासम्म माओवादीकेन्द्र र एमालेबीच पानी बाराबारको जस्तै थियो ।

Comments

About the author

चितवन पोष्ट