गृह » चितवन वैकल्पिक राजधानी बन्ने सम्भावना  : प्रचण्ड
राजनीति समाचार समाज

चितवन वैकल्पिक राजधानी बन्ने सम्भावना  : प्रचण्ड

लालपुर्जा मागेका स्थानीयसँग प्रचण्ड ।

शिवनगर । चितवन क्षेत्र नं. ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन प्रचारका लागि आफ्नै क्षेत्रमा छन् । शिवनगरमा उनले हालै मात्र भाडाको घर लिएका छन् । सोही घरमा उनले सोमबार बिहान चितवनका सञ्चारकर्मीलाई भेटेर निर्वाचन अनुभव र आफूले भावी दिनमा गर्ने योजनाहरु सुनाए ।
चितवनलाई वैकल्पिक राजधानी बनाउने चर्चा पहिलेदेखि चल्दै आएको छ । माओवादी, एमाले, कांग्रेस सबैले यसलाई राजधानी बनाउने भन्थे । तर, अहिले यो चर्चा केही सुस्ताएको छ । माओवादीको योजना के छ त ? दाहाल भन्छन् ‘चितवन राजधानी बनाउन उपयुक्त ठाउँ हो भनेर धेरै पहिलेदेखि भुगर्भविद र भुगोलशास्त्रीले नै भनेका हुन् । हाम्रो पार्टीले यो कुरालाई अगाडि ल्याएको पनि हो । अहिले निर्वाचनको मुखमा मैले यो कुरालाई ठोसरुपमा भन्ने आधार भने भइसकेको छैन ।’
पूर्वाधारहरु बन्दै गए, ठूलठूलो विकास भए विकासको मोडल बने , रेल मार्ग र सुरुङ मार्ग बने त्यति बेला सबैले चितवनलाई राजधानी मान्ने अवस्था आउने दाहालले बताए । प्रदेशको राजधानीका बारेमा चर्चा चलेको हुँदा एउटा सहमति हुने उनले बताए ।
विप्लव र विक्रम पाण्डेमाथि खनिए दाहाल ःपत्रकार भेटघाटमा नेता दाहाल आफूबाट फुटेर गठन भएको नेकपाका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ र चितवन क्षेत्र नं. ३ मा आफ्ना प्रतिस्पर्धी उम्मेद्वार विक्रम पाण्डेमाथि खनिएका छन् । उनले विप्लपले रोल्पामा काँग्रेससँग गठबन्धन गरेर आफ्ना उम्मेद्वारमाथि आक्रमण गरेको बताए । विप्लवले रोल्पामा काँग्रेससँग साठगाठ गरेको उनको भनाइ छ । विक्रम पाण्डे ठेकेदार भएका कारण आफ्नो प्रतिस्पर्धी नै नभएको उनले बताए । ‘तिमीहरु आतंक मच्चाउ हामी चुनावको प्रचारमा जान्छौं भनेर स्थानीय कांग्रेसले तालमेल गरेछन् । विप्लव (नेत्रविक्रम चन्द) र कांग्रेसबीच तालमेल छ भन्ने हामीलाई पार्टीको तल्लो तहबाट रिपोर्ट पनि आइरहेको थियो । घटना क्रमले त्यही देखायो पनि’ दाहालले भने । ‘विप्लव’का केही मान्छेहरु हतियारसहित समातिँदा रोल्पाबाट मन्त्री भएका कांग्रेस नेता अमर पुनले वक्तव्य निकालेर उनीहरुलाई छाडिदेउ भनेका कारण तालमेल भएको प्रष्टै भएको दाहालले बताए ।
‘यो कांग्रेसको केन्द्रीय नीति हो भन्ने आरोप पनि मेरो हैन तर मन्त्रीले नै यसो भनेपछि देशभरीका जनताले हेरिरहेका छन् । हामीले वाम गठबन्धन गर्दा अधिनायकवाद आउँछ भन्ने तर आफू चाहीँ क्रिमिनल एक्टिभिटि (आतंककारी क्रियाकलाप) गर्नेलाई पनि साथ लिएर तालमेल गर्ने । यस्तो कामले कांग्रेस कसरी लोकतन्त्रवादी ? मेरो देउवाजीलाई अनुरोध छ यसलाई कन्ट्रोल गर्नुस्’ दाहालले भने । विप्लवका कार्यकर्ताले कांग्रेसलाई भोट दिँदा आफ्नो कुनै आपत्ति नभएको तर बम गोली हानेर आतंक मच्चाउन नपाउने उनले बताए ।
विकासका लागि प्रचण्ड भन्ने धारणा देखे
चितवन क्षेत्र नं. ३ मा प्रचार प्रसारका लागि दाहालको खटाइ बढ्दो छ । उम्मेद्वारी दर्ता गराउने अघिल्लो दिन कात्तिक १५ गते चितवन आएका दाहाल पाँच दिन बसेर फर्के । त्यसपछि उनी फेरि गएको बिहिबारदेखि आफ्नो क्षेत्रमा घरदौलो गर्दै मत माग्न व्यस्त छन् । उनी बुधबारसम्म यही रहने छन् । नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार रहेका राप्रपा प्रजातान्किकका विक्रम पाण्डेसँग उनको प्रतिस्पर्धा छ । पाण्डेले विकासको नाममा मत माग्दै छन् । विकासका लागि विक्रम पाण्डे भन्ने चर्चा चितवनमा चल्ने गर्छ ।तर, मत माग्न घर दौलोमा व्यस्त हुँदा आफूले ‘विकासका लागि प्रचण्ड’ भन्ने भावना मतदातामा पाएको उनले बताए । ‘यो जिल्लाबाट जितेर राष्ट्रको नेतृत्व गर्न सक्ने व्यक्ति चितवनले खोजेको छ । त्यसैले म प्रतिद्वन्द्वी हिनताको स्थितिमा छु  । किन भने कांग्रेसले राजनीतिक पृष्ठभूमि बाहिरको  एकजना ठेकेदारलाई समर्थन गरेका कारण म प्रतिद्वन्द्वीविहीन जस्तै भए’ दाहालले भने ।
राप्रपा प्रजातान्त्रिक उम्मेद्वार पाण्डे गत संविधानसभामा चितवनको तत्कालीन क्षेत्र नं. ५ बाट विजयी भएका थिए । तर, दाहालले पाण्डेलाई राजनीतिक पृष्ठभूमि नभएको बताएका छन् । पाण्डे प्रख्यात निर्माण व्यवसायीसमेत हुन् । उनको कालिका कन्स्ट्रक्स प्रालि नामको निर्माण कम्पनी छ । ‘कन्ट्रयाक्टरको हैसियतमा ठेक्दारको रुपमा उहाँले राम्रो विकास गर्नु भएको छ । मेरो सmुभाव छ, उहाँले आफ्नै जिम्मेवारी लिनुस् । जे अनुभव गर्नु, भयो जे सिक्नु भयो त्यही गर्नुस् । राजनीति राजनीतिज्ञलाई नै गर्न दिनुस्’ दाहालले भने ।
अबको १० वर्ष समाजवादको आधार तयार गर्न व्यस्त पत्रकारहरुसँग बोल्दै दाहालले अबको १० वर्ष विकास निर्माणमा समर्पित हुने बताएका छन् । ‘राजनीतिमा लागेपछिको पहिलो १० वर्ष मैले विचार र राजनीति निर्माणमा नै लगाएँ । अर्को १० वर्ष मैले गणतन्त्र र संघीयताको निम्ति समावेशी समानतको निम्ति युद्धमा लागेर बिताएँ । अर्को १० वर्ष शान्ति प्रक्रिया र संविधान निर्माणमा योगदान गर्ने ठाउँमा बिताएँ । अबको १० वर्ष विकास निर्माणबाट समाजवादको आधार तयार गर्न बिताउँने छु’ दाहालले विगत र भविश्यको लेखाजोखा सुनाए ।राष्ट्रिय पूँजीको निर्माण गर्ने कुरामा नै आउँदो दशक बिताउने उनले बताए । पार्टी एकीकरण पनि यही आधारमा रहेर गर्ने उनले बताए । ‘देशको स्थिरता र विकासको निम्ति सबै कांग्रेस पनि एक ठाउँमा हुनु आवश्यक छ । त्यस्तै सबै कम्युनिष्ट पनि एक ठाउँमा आउनु जरुरी छ । अनि मात्रै स्वस्थ्य र सुन्दर प्रतिस्पर्धा हुन्छ । राम्रो काम गर्नेलाई जनताले सत्तामा १०÷२० वर्ष पनि राख्दिन सक्छन् । नराम्रो काम गरे पाँचै वर्षपछि हटाइ दिने छन् । यसो हुँदा देश र जनताले सुख पाउँछन्’ दाहालले भने ।
एमालेसँग पार्टी एकता गर्ने विषयमा माओवादी बाधक नबन्ने उनले बताए । ‘अब हामी मिल्दै छौं र हामी बीच के के कुरा समान छ त्यो हेरेका छौं । माक्र्सवाद लेलिनवाद हामी दुबैले मानेका छौं । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई हामी दुवैले विश्व दृष्टिकोण मान्छौं । समाजवाद हामी दुवैको उद्देश्य हो । हाम्रो रणनीति पनि त्यही हो । शान्तीपूर्ण प्रतिस्पर्धा मार्फत नै समाजवाद आउँछ भन्ने कुरा पनि मान्छौं । अहिले आर्थिक समृद्धिमा नै केन्द्रित हुनु पर्छ भन्ने कुरा पनि मान्ने भएपछि अरु चीज मिलाइन्छ’ दाहालले भने ।
मिल्ने कुरालाई आधार बनाएर एकता गर्दै जाने र नमिलेका कुरा छलफल गर्दै टुङ्ग्याउने बताएका दाहालले माओवाद, बहुदलीय जनवादका विषयमा साझा भाषा खोज्न सकिन्छ भने । ‘यो नै बढी राष्ट्रका हितमा छ । अब हामी सिद्धान्तका पछाडि लागेर राष्ट्र र जनतालाई दुःख दिने कि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर सिद्धान्त मिलाउँदै लैजाने भन्ने दुई विकल्पमध्ये एउटा रोज्नु प¥यो क्या’ दाहालले भने ।
पार्टी एकता चुनाबपछि
एमालेसँग माओवादीको पार्टी एकता चुनावपछि नै हुने दाहालले बताए । ‘हिजो मंसिर ९ मा दुई पार्टीबीच एकता भन्ने समाचार एकाएक आएछ । त्यो साँचो हैन । कसरी आएछ बुझ्न पाएको छैन ।  गलत समाचार कहिले काँही भाइरल हुन्छ त्यस्तै हो त्यो समाचार । हामीले निर्वाचनपछि नै पार्टी एकता बारे ठोस निर्णय गर्नै भनेर उहिल्यै भनेका हौं । चुनावअघि हैन’ दाहालले भने ।

Comments

About the author

चितवन पोष्ट