गृह » अबको वैकल्पिक राजनैतिक शक्ति
विचार

अबको वैकल्पिक राजनैतिक शक्ति


मेरो मातृभूमि नेपालमा हिजो प्रजातन्त्रका पिता भनेर सम्मान गरिने लौहपुरूष गणेशमान सिंहको थुप्रै प्रसंग र परिवेशहरुमा सम्झना गरियो । उनले देखेका सपना, गरेका प्रतिज्ञा, त्याग र उनले खनेका आर्थिक क्रान्तिका बाटाहरु पछ्याउने थप अनि नियमित कर्मकाण्डी प्रणहरु गरियो ।
२०३६ सालदेखि आजको दिनसम्म आइपुग्दा पनि हामी ‘लिने’ र ‘पाउने’ आन्दोलनमै केन्द्रित छौँ । जहाँ संगठन र राजनीतिमार्फत् ‘विरासत’को एकछत्र रजाईं गर्दै ब्याजको प्रत्याभूति गर्न सकिन्छ । बीपीको सपनालाई जोडेर राज्य सत्तामा कमाइ र रजाईं गर्ने कोइराला परिवारवाद होस् अथवा त्यसैलाई भ¥याङ्ग बनाएर पाँचौँपटक प्रधानमन्त्री बन्ने सपना देख्ने शेरबहादुर देउवा हुन् या कांग्रेसी संस्थापन, या लोकतन्त्रका पिता लौहपुरुष गणेशमान सिंहको अद्वितीय त्याग र समर्पणलाई भजाएर जनतालाई रैती र आफ्नो दशगजा क्षेत्रलाई पुर्खौली बिर्ता या बपौती ठान्ने प्रकाशमान सिंहहरु नै किन नहुन् ।
अथवा जनताको बहुदलीय जनवाद र मदन भण्डारीको विरासतको साँवा ब्याज असुलेर नयाँ श्री ५ बनेका राष्ट्रपति विद्यादेवी भण्डारीहरु र पार्टीमा सदासर्वदा एकत्र अनि एकछत्र राज गर्ने केपी शर्मा ओलीहरु नै किन नहुन् । अझ प्रचण्डपथको अस्त्रले नेपाली राजनीतिमा परिवारवादको वामपन्थी एकाधिकारवादी अभ्यास गर्ने र निरन्तर गरिरहेका पुष्पकमल दाहालहरु नै किन नहुन्, सार, अभिष्ट र अन्तर्यमा उनीहरु उस्तै उस्तै हुन् ।
खोई कहाँ भएको छ साँचो अर्थमा सम्झना सम्मान या अनुशरण बी.पी. कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र मदन भण्डारीहरुको ? महान समाजबादी बीपी कोइराला राजाबादी देख्ने कांग्रेसी संस्थापनले लौहपुरुष गणेशमान सिंहलाई रुवाएको घटना र परिदृश्य हाम्रो पुस्ताले देखेकै हौँ ।
देशी–विदेशी योजनामा तात्कालिक सर्वाधिक शक्तिशाली नेकपा (एमाले) फुटाएर मनमोहन अधिकारीहरुलाई रुवाउने वामदेव गौतम अहिले जसरी अनि जे गरेर भए पनि एकपल्ट नेपालको प्रधानमन्त्री बन्ने जिद्धी सपनामा नयाँ–नयाँ गठबन्धन र सौदावाजी गर्दैछन् । दोस्रो आन्दोलन दबाउने मूल अभियुक्त कमल थापालाई अंगालो हाल्नासाथ उनै बीपी कोइरालाले परिकल्पना गरेको लोकतान्त्रिक गठबन्धन पूर्ण भएको छ ।
यिनै दण्डहीनता, राजनैतिक अस्तव्यस्तता, अपत्यारिलो सत्ता स्वार्थमुखी गठबन्धन, लामो जर्जर यथास्थितिवादकै कारण आज संसारभर छरिएर रहेका नेपालीहरुबीच वैकल्पिक राजनैतिक शक्तिको आवश्यकताका बारेमा घनिभूत अन्तक्र्रियात्मक बहस हुने गरेको छ । त्यस्तो सम्भावना र आवश्यकतालाई वर्तमान यथास्थितिवाद र भ्रष्ट संस्थापनले मलजल गरिरहेको छ । तात्कालिक साझा पार्टी तथा वर्तमान विवेकशील साझा पार्टीको ग्रासरुट अभियान, नेतृत्वको चाहना र छोटै समयमा उनीहरुले स्थापना गरेको परिचयले अब त्यो सम्भावनालाई नकार्न नसकिने स्थिति बनाइदिएको छ ।
त्यो वैकल्पिक धार र विचारको नेतृत्व गर्न कस्सिएर लागेको रवीन्द्र मिश्रहरुको लोकप्रियता र आम अनुमोदनले अब त्यस्तो सम्भावनालाई अझ नजिक ल्याइदिएको छ । आफ्नै जीवनकालमा विकास गर्ने र हेर्ने यी तन्नेरी पुस्ताको चाहनाचाहिँ यथार्थमा गणेशमान सिंहले त्यसबेला देख्नु भएको ‘आर्थिक क्रान्ति’को चाहना र सपनासँग छ ।
तर, मैले प्रवासबाट मनको आदेशमा रवीन्द्र मिश्र, परिवर्तन, सम्भावना र वैकल्पिक राजनैतिक धार अनि शक्तिका बारेमा पक्षपोषण गरेर लेखिरहँदा चौबिसैघण्टा परिवर्तनको चाहना राख्ने र वर्तमान भ्रष्ट ठूला नेता र संस्थापनको विरोध गर्ने मेरै पुस्ताका र अझ अग्रजहरुचाहिँ नजानिँदो किसिमले मनको डाहा, इष्र्या अनि कुण्ठा लेखिरहेका, बोलिरहेका छन् ।
विरोधको अन्तर्य र अर्थ गहिरिएर बुझ्दै जाँदा रवीन्द्र मिश्रहरुलाई निकम्बा र राजनैतिकरुपमा नालायक साबित गर्नेहरुको सानो भीडमा अहिले सबभन्दा बढी शब्द र सञ्चारको खेती गर्नेहरु धेरै अग्रज अनि केही प्रतिष्पर्धी अनुजहरु रहेछन् । उनीहरुसँग पुराना दल र भ्रष्ट नेताहरुप्रतिको कुनै मोह तथा आंशिक आशक्ति त छैन तर उनीहरुको डाहा, इष्र्यामिश्रित खुच्चिङ्ग चेतनालाई रवीन्द्रहरु सम्भावनाको त्यान्द्रो र झिनो आशाको दियो अथवा एक्काइसौँ शताब्दीको विकल्प बन्न लागेको भने पटक्कै मन परेको छैन ।
केही मेरा प्रवासमा रहेका उदार विचार, चेतना र ब्रह्म भएका मित्रहरु अहिले राजनीतिक सिन्डिकेसनले जर्जर बनेको नेपालमा ‘नेल्सन मन्डेला’हरु पो खोज्दैछन् । देश र प्रवासमा पीडा र कुण्ठामा बाँचेको त्यो सानो जमातलाई रवीन्द्र मिश्रले बीबीसीमा जागिर खाँदा पनि डाहा, इष्र्या र जलन थियो, अन्तर्वार्ता लिँदा पनि र अहिले दिँदा पनि !
वर्षको ११ महिना देश र विदेशबाट परिवर्तन चाहियो, नयाँ पुस्ताले राजनीतिमा आउनु प¥यो भनेर भन्नेहरु अहिले रवीन्द्र मिश्रहरुलाई नालायक भन्न नयाँ बहाना र अन्तर चाहनाका बनिबनाउ बर्बराहट लिएर सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । वर्तमान ठूला दलभित्र थुप्रै असल तन्नेरी पुस्ताका नेताहरु हुँदा हुँदै पनि उनीहरूलाई उचित स्थान र जिम्मेवारी दिइएको छैन । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता धनराज गुरुङ एक निरीह पात्रमात्र हुन् ।
यिनै र यावत यथार्थ भूराजनैतिक धरातलमा उभिएर अब मातृभूमि नेपालमा हुने संघ र प्रदेशहरुको निर्वाचनमा विवकशील साझा पार्टीमा रवीन्द्र मिश्रजस्तै सबल, शिक्षित र संसारको राजनीति र कूटनीति बुझेका तन्नेरी पुस्ताका ‘हाम्रा पाटी’का होइन ‘राम्रा उम्मेदवार’लाई जिताउन आ–आफ्नो ठाउँबाट आफ्नो गच्छे र औकातअनुहार लाग्नु हामी हरेक सचेत, चेतनशील र स्वाधीन नेपाली मतदाता नागरिकहरुको जिम्मेवारी हो । सबै पार्टीको असल र इमान्दारहरूलाई खोजी खोजी जिताऔँ अनि ‘डनवाद’ र ‘धनवाद’को सहारामा जीवनकालभरि अथवा बाचुञ्जेल सत्तामा टाँसिने वामपन्थी तथा लोकतान्त्रिक तानाशाहहरूलाई रोजीरोजी हराऔं । जय नेपाल । –हालः न्यूयोर्क, अमेरिका

 

Comments

About the author

चितवन पोष्ट