गृह » चितवनका कांग्रेस साथीहरुलाई खुल्ला–पत्र
विचार

चितवनका कांग्रेस साथीहरुलाई खुल्ला–पत्र

–नारायण पौडेल
प्रिय साथीहरु,
२००७ साल, २०३६ साल, २०४६ साल र २०६२÷०६३ साललगायतका नेपाली राजनीतिका निर्णायक आन्दोलनहरुको नेतृत्व गरेको नेपाली कांग्रेस यतिबेला आफ्नै अस्तित्व रक्षाको रागले चाउरिएको छ । लोकतन्त्र रक्षाको नेतृत्व गर्ने नेपाली कांग्रेसले इतिहासमा अलोकतान्त्रिक कदम चालेको अभियोग आज पनि मेटिएको छैन । श्रद्धेय नेता गिरिजा बाबुको अवसानपछि ओरालो लागेको कांग्रेस अहिले आफ्नै अस्तित्वको संकटमा छ । चितवनको कांग्रेस पार्टी पनि त्यसबाट अछुतो छैन । बरु, पछिल्ला राजनीतिक निर्णयहरुले चितवनमा कांग्रेसको पोजिसन के छ ? भन्नेसम्मका प्रश्नहरु उब्जिएका छन् ।
नेपाली राजनीतिको मियो कांग्रेसबाट हामीले निकै ठूलो अपेक्षा गरेका थियौँ । कांग्रेसले लोकतन्त्रको रक्षा गर्छ, निरङ्कुशताका विरुद्ध उभिन्छ । देशको आर्थिक समृद्धि र विकासका लागि कांग्रेसले नै नेतृत्व लिन्छ । रोजगारी सिर्जना र जनताको जीवन बदल्ने संकल्प पनि कांग्रेसले मात्रै गर्न सक्छ । महान् राजनेता बीपीले देखेको प्रजातान्त्रिक समाजवादको सपना कांग्रेसकै नेतृत्वमा पूरा हुन्छ । समय बित्दै जाँदा यी सबै सपना चुनावी नारामा सीमितमात्रै भएका छैनन् । बरु, बीपीको समाजवादी चिन्तनबाट भाग्ने सोचले कांग्रेस ग्रस्त भएको छ ।
चितवनको भूमि लोकतान्त्रिक आन्दोलनको उर्भरभूमि थियो । तानाशाही व्यवस्थाका विरुद्ध जनता कांग्रेसकै नेतृत्वमा गोलबन्द थिए । संगठनका दृष्टिले चितवनको कांग्रेस पार्टी देशकै लागि नमूना थियो । तर, कालक्रममा चितवनको पार्टीमाथि निर्मम आक्रमण गरियो । यो आक्रमण कुनै विपक्षी शक्ति र व्यक्तिबाट भएको थिएन । बरु, पार्टीकै शीर्ष नेताहरुले चालेको गलत कदम र आत्मसमर्पणकारी सोचको परिणाम थियो ।
प्रिय साथीहरु,
जतिबेला दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएर भरतपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने निर्णय भयो । हामीजस्ता युवाहरुले त्यतिबेलै कांग्रेसको अस्तित्व संकटमा पर्ने अनुमान गरेका थियौँ । हामीले ठान्यौँ, ‘नेतृत्वले गम्भीर गल्ती गर्दैछ, समयको दबाबसँगै सच्चाउने छ ।’ तर, प्रदेश र संघीय संसद्को निर्वाचनको संघारसम्म आइपुग्दा कांग्रेसले आफ्नो गल्ती सच्चाउने होइन । बरु, गल्तीको रफ्तार बढाउँदै लग्यो ।
जीवनभर लोकतन्त्रलाई मुठ्ठीमा लिने, लोकतन्त्रवादी शक्तिलाई अराष्ट्रिय तत्व देख्ने, बीपी, गणेशमान र गिरिजा बाबुलगायतका प्रजातान्त्रिक सेनानीहरुमाथि भीषण दमन र अत्याचार गर्ने, जेल हाल्ने राप्रपालाई पार्टी बुझाइयो । आफ्ना होनाहार र प्रतिबद्ध नेताहरु हुँदाहुँदै राप्रपाका उम्मेदवारलाई समर्थन गर्ने र हलोमा मतदान गर्ने निर्णय हाम्रा लागि मान्य थिएन । त्यसैले हामीजस्ता युवाहरुले कांग्रेसको राजनीतिबाट सन्यास लियौँ ।
जनआन्दोलनका क्रममा जनतामाथि निर्मम दमन गर्ने एउटा राजावादी पार्टीलाई समर्थन गर्न हाम्रो नैतिकताले दिएन, हाम्रो स्वाभिमानले मानेन् । हामीले सोच्यौँ, ‘लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै हो, निरङ्कुशता होइन ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन आएपछि हामीमा केही आत्मविश्वास जाग्यो । चितवनको समृद्धि र लोकतन्त्रको विकल्पका रुपमा हामीले प्रचण्ड छान्यौँ । लोकतान्त्रिक प्रणालीको नेता पार्टी कांग्रेस नै राप्रपासामु नतमस्तक भएपछि हामीले विकल्प रोज्यौँ, हाम्रो लोकतन्त्र र समृद्धिप्रतिको आस्था रक्षाकै निम्ति वाम गठबन्धनलाई जिताउने संकल्प ग¥यौँ ।
प्रिय साथीहरु,
यतिबेला हामी इतिहासको कठघरामा उभिएर लोकतन्त्र र समृद्धिको सपनामाथि मन्थन गर्नुछ, नेपाली माटोले मागेको समृद्धि र जनताको लोकतन्त्रप्रतिको अगाध आस्थाको सम्मान गर्नुछ । हाम्रा सन्ततिहरुको जीवन र भविष्य बदल्ने संकल्प गर्नुछ । त्यो संकल्प हाम्रै लोकतन्त्रलाई मुठ्ठीको माखो ठान्ने राप्रपाबाट सम्भव होला ? राजनीतिलाई ठेक्कापट्टाको साधनका रुपमा उपयोग गर्ने पात्रहरुबाट सम्भव होला ? हामीले त्यो सम्भव देखेनौँ । जसले लोकतन्त्रका विरुद्ध, जनताको विकास र समृद्धिको आकांक्षाविरुद्ध निरन्तर षड्यन्त्र गरे, उनीहरुलाई नै भोट माग्न हाम्रो कुन नैतिकताले दिन्छ ?
एमाले र माओवादी एकतापछि नेपाली कांग्रेस महन्त ठाकुरहरुसँग मिल्नुपथ्र्यो । तर, विडम्बना जसका विरुद्ध जीवनभर लडियो, त्यही राजावादी शक्तिसँग मिल्यो । हाम्रा लागि योभन्दा ठूलो लज्जाको विषय अरु थिएन । चितवनकै सन्दर्भमा कांग्रेसका होनाहार नेताहरुको अवमूल्यन गरियो । कांग्रेस चितवनको इतिहासमा यो सामान्य घटना हुनेछैन । राप्रपालाई बोक्नु नै चितवनमा कांग्रेस पतनको मार्गमा लम्कनु हो । हामी आफ्नै कारण पतनको दिशामा हिँडिरहेको कांग्रेससँग सति जान सकेनौँ ।
कम्युनिष्टहरुको एकताले नेपालमा अधिनायकवाद आउँछ, लोकतन्त्रमाथि गम्भीर खतरा छजस्ता अभिव्यक्तिहरु कांग्रेसका नेताहरुले व्यक्त गरिरहेका छन् । तर, हाम्रो ब्रह्मले त्यस्तो ठानेन । २०४६ सालको जनआन्दोलनपछि नै एमालेले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो समातेको थियो । २०५२ को हिंसात्मक विद्रोहबाट आएको माओवादी पनि शान्ति सम्झौतापछि प्रतिस्पर्धात्मक राजनीतिकै बाटोमा छ । एमाले र माओवादी दुवै पार्टीले लोकतान्त्रिक प्रतिस्पर्धा, विधिको शासन, कानूनी राज्य, मानवअधिकार, स्वतन्त्र प्रेसजस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आफ्नो आदर्श ठानेका छन् । यस्तो परिस्थितिमा वाम एकतालाई अधिनायकवाद वा निरंकुशतातिरको यात्रा ठान्नु वा प्रचार गर्नुमा कुनै तुक देखिँदैन ।
के नेपाली कांग्रेसले जित्नुमात्र लोकतन्त्र हो ? प्रतिस्पर्धामा कुनै शक्तिले विजय हासिल गर्दा लोकतन्त्र धरापमा पर्छ भन्नु लोकतन्त्रप्रतिको आफ्नै प्रतिबद्धताबाट विचलित हुनु हो । २०१५ सालमा कांग्रेसले बहुमत ल्याउँदा लोकतन्त्र धरापमा नपर्ने तर अहिले वामपन्थीले ल्याए धरापमा पर्ने कसरी हुनसक्छ ? कांग्रेस, एमाले र माओवादीमध्ये अहिले कांग्रेस नै सबैभन्दा बढी अलोकतान्त्रिक देखिएको छ । कांग्रेसको आन्तरिक जीवनलाई हेर्ने हो भने त्यहाँ निरंकुशता, परिवारवाद र एकमना निर्णय नै मुख्य छ । आफैँलाई रुपान्तरण गर्न नसक्ने कांग्रेसले अरुलाई लोकतन्त्रको उपदेश दिने हैसियत राख्न सक्छ ? कांग्रेसका साथीहरु कतिञ्जेल यो भ्रम पालेर बस्नुहुन्छ ?
देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो । तर, देशको दुर्दशा फेरिएन । राजनीतिक अस्थिरता कायमै रह्यो, विकास निर्माणका काम अलपत्र परिरहे, बर्सेनि सरकार फेरिने रोगले युवाहरुमा राजनीतिक वितृष्णा बढ्दै गयो । नागरिकमा एक प्रकारको बेचैनी र असन्तुष्टि बढ्दै गयो । यसको एकमात्रै कारण राजनीतिक अस्थिरता हो । तसर्थ, हामी देशमा राजनीतिक स्थिरता चाहन्छौँ, आर्थिक विकास चाहन्छौँ, जनताको जीवनमा परिवर्तनसहितको समृद्धि चाहन्छौँ, रोजगारी चाहन्छौँ, देशमा सिर्जनाका फूलहरुको सुगन्ध चाहन्छौँ । त्यसका लागि बहुमतको स्थिर सरकार आवश्यक छ । बहुमतको सरकार भएमात्रै हाम्रा समस्याहरु समाधानको दिशातिर जानेछन् । के कांग्रेस अस्थिर राजनीतिमा बसेर विकास रोक्न चाहन्छ ? विदेशी हस्तक्षेप स्वीकार्न चाहन्छ ? देशमा समृद्धिको यात्रा रोक्न चाहन्छ ? होइन भने निर्वाचनबाटै बन्ने बहुमतीय सरकारको विरोध किन ?
चितवनको क्षेत्र नं ३ मा प्रचण्ड र विक्रम पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ । प्रचण्ड यो देशको नेता हो, शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता पनि । प्रचण्ड नभएको भए नेपालमा लोकतन्त्र र गणतन्त्रको स्थापना सम्भव थिएन । शान्ति प्रक्रिया सम्भव थिएन । जतिबेला प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुनुभयो, उहाँले क्रान्ति र शान्तिमा मात्र नभएर समृद्धिमा पनि चमत्कार गरेर देखाउनु भयो । देशमा लोडसेडिङ यति छिटै हट्ला भन्ने हाम्रो कल्पनामा थिएन । तर, लोडसेडिङ हट्यो । विकासका कामले गति लिए, आर्थिक वृद्धिदर बढ्यो, मूल्य वृद्धि रोकियो । प्रचण्ड पाँच वर्ष लगातार प्रधानमन्त्री भएको भए यो दर कति माथि पुग्थ्यो होला ? हामीले सजिलै अनुमान गर्न सक्छौँ । स्थिर सरकारको पाँच वर्ष प्रधानमन्त्री हुन पाउने हो भने प्रचण्डले विकास र समृद्धिमा चमत्कार गर्न सक्छन् भन्ने यो एउटा प्रमाण हो ।
हामी चितवनको विकास चाहन्छौँ । त्यसका लागि प्रचण्ड चितवनका लागि आवश्यक छ । हामीले दलको घेरा र पूर्वाग्रहबाट सोच्यौँ र प्रचण्डका विरुद्ध लाग्यौँ भने प्रचण्डमात्रै हार्ने छैनन्, चितवनले हार्नेछ, यहाँको विकासले हार्नेछ । जनताको आशा र विश्वासले हार्नेछ । अथाह सम्भावना बोकेको हाम्रो जिल्लालाई हामी दलको मतियारमात्र बनेर हराउन सक्दैनौँ । दलका नाममा हामी दशैँका खसी बोका बन्न सक्दैनौँ । हामीसँग चेतना छ, सकारात्मक सोच छ, चितवनको ढुकढुकी छ, नेपालीपन छ ।

Comments

About the author

चितवन पोष्ट