गृह » लालपुर्जा नहुँदा मतदानबाट बञ्चित 
प्रमुख समाचार

लालपुर्जा नहुँदा मतदानबाट बञ्चित 

बेलमायाको परिवार ।

मंगलपुर । टोल छिमेकका सबै मतदान गर्न भन्दै जाँदा बेलमाया परियार पनि मतदानस्थल पुग्छिन् । लाइनमा बसेपछि जब छाप लगाउने मतपत्र समाउने पालो आउँछ उनलाई ‘तपाइँको त मतदाता नामावलीमा नामै छैन हो’ भन्दै फकाइन्छ ।
उनका श्रीमान शेरबहादुरले पनि पटकपटक यस्तै भोगेका छन् । बेलमायाको परिवार भरतपुर महानगरपालिका वडा नं. १६ को मंगलपुर भँगेरीथानमा बस्छ । उनीहरु विसं २०५० सालदेखि सो ठाउँमा बस्दै आए पनि आफूले घर बनाएको जग्गाको लालपुर्जा छैन ।
लालपुर्जा दिने काम भूमिसुधार मन्त्रालयको हो । बेलमाया बसेको भरतपुर महानगरपालिकाको वडा नं. १६ चितवन क्षेत्र नं. ३ मा पर्छ । जहाँ भूमिहीन सुकुमबासी सबैको हित गर्ने व्यवस्था ल्याउने भनेर १० वर्ष सशस्त्र युद्ध लडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै उम्मेद्वार छन् ।
यति मात्रै होइन त्यो क्षेत्रमा चुनाव लड्ने अन्य दुई उम्मेदवारहरु यस्ता छन् जसले भूमिसुधार मन्त्रालयकै जिम्मेवारी सम्हाली सकेका छन् । राप्रपा प्रजातान्त्रिकबाट चितवन क्षेत्र नं. ३ मा उम्मेदवार रहेका विक्रम पाण्डे अहिले वनमन्त्री छन् । यसअघिको सरकारमा उनी भूमिसुधार मन्त्री थिए ।
त्यस्तै क्षेत्र नं. ३ का अर्का उम्मेदवार पनि भूमिसुधार मन्त्री भएका व्यक्ति छन् । नेकपा (माले) का उम्मेदवार डम्बर श्रेष्ठ पूर्वभूमिसुधार मन्त्री हुन् । यस्ता व्यक्ति उम्मेदवार भएको क्षेत्रमा एउटा भूमिहीन परिवार लालपुर्जा नभएकै कारण मतदाता हुन सकेको छैन ।
बेलमायाको परिवार भँगेरीथानमा बस्नुअघि पूर्वी चितवनको कुमरोजमा थियो । ‘विसं २०५० सालमा सो ठाउँमा ठूलो बाढी आएर घर सबै डुबायो । बस्न सक्ने अवस्था थिएन । त्यसैले यहाँ आएर बसेका हौं’ बेलमायाले भनिन् । ५० साल यता ५१ साल, ५४ साल, ५६ साल, ६४ साल र ७० सालमा निर्वाचन भयो । गत वैशाखमा स्थानीय चुनाव पनि भयो । तर, बेलमायाको परिवारले मत दिन पाएन ।
उनी र श्रीमान शेरबहादुरसहित छोरी सन्ध्या, छोरा गोपी, बुहारी मनमाया कसैको पनि नाम छैन । ‘हाम्रो मात्रै हो र यहाँ अरु छ सात घर पनि छन् । जहाँ बस्ने १२÷१५ जनाले नाम नभएका कारण भोट नै दिन पाएका छैनन्’ बेलमायाले भनिन् ।
नाम लेखाउनका लागि चाहिने कागजपत्रहरु पनि बुझाएको हो भन्छिन् बेलमाया । ‘बसाइसराइको कागज चाहिन्छ भनेका कारण ल्याएर बुझाएको पनि उहिल्यै हो । तर, नाम भने खै किन हो लेख्दै लेखेनन्’ बेलमायाले भनिन् । आफूहरुसँग भोट माग्न कहिले नेता त कहिले नेताका मान्छेहरु आउने गरेको उनले बताइन् ।
‘भोट माग्न भने आउने भोट दिनका लागि चाहिने ठाउँमा नाम चाही नलेखिदिने नेताहरु पनि किन यस्तो गरेका हुन् कुन्नी’ बेलमायाले भनिन् । बाढीले लखेटेर नयाँ ठाउँमा बस्न आए पनि बाढीको जोखिम भने कम भएको छैन । उनी बसेको घरको आडमा नारायणी बग्छ । वर्षायाममा नारायणी उर्लेर घर नै छुन खोज्छ । यस्तो दुःखको ठाउँमा बसेकी बेलमाया रहर गर्दा पनि मत दिन पाउँदिनन् ।

Comments

About the author

चितवन पोष्ट