गृह » माडी विकासका लागि प्रचण्डको प्याकेज सार्वजनिक
समाचार समाज

माडी विकासका लागि प्रचण्डको प्याकेज सार्वजनिक

दिपेन्द्र अधिकारी
भरतपुर । चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीका लागि ४८ बुँदे विशेष विकास प्याकेज घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रको मुख्य भाग मानिएको माडी नगरपालिका केन्द्रित गरी प्याकेज सार्वजनिक भएको हो ।
माडीमा चक्रपथ निर्माण, भित्री सडक स्तरोन्नति, निकुञ्जमा आकाशे पुल निर्माण पहल, माडीका सम्पूर्ण ठाडा खोलाहरुमा तटबन्धन, विभिन्न खोलाहरुमा पक्की सडक पुल निर्माणका योजनाहरु सार्वजनिक भएको छ । यस सम्बन्धमा प्रचण्डको सचिवालयले जानकारी दिएको हो । वर्षदिन भित्रमा माडीका हरेक घरमा बिजुली पु¥याइने, बिजुली नपुगेका बस्तीमा वैकल्पिक उर्जाको व्यवस्था गरी उज्यालो माडीको घोषणा गरिने प्याकेजमा उल्लेख छ । त्यस्तै ठोरी केरुङ अन्तरदेशीय लोकमार्गलाई माडीबाट लैजाने व्यवस्था गरिने प्याकेजमा उल्लेख छ ।
प्याकेजअन्तर्गत माडी उपत्यकामा भित्री र बाहिरी गरी दुई चक्रपथ निर्माण गरिने छ । जसमा माडी सेरुवाबाट गोद्धक, बसन्तपुरबाट सोमेश्वर, कीर्तनपुरबाट हरिनगर, गोपालनगर र गौरीनगर (माछापोखरी) र खरकट्टाबाट वैकुण्ठ तालसम्मको करिब २५ किलोमिटर बाटो तत्काल पिच गरिने उल्लेख छ । मौजुदा दुईवटै कृषि सडकहरु दुवै कृषि सडकहरु ‘क’ (सेरुवा–शिखारीपुर–अम्वाबास–सिम्रहनी–शितलपुर–खैरहनी–बेलुवा लक्ष्मीबास हुँदै देवेन्द्रपुर–कान्तिपुर–गणेशकुञ्ज हुँदै बगहीँ) र ‘ख’ (गर्दी–भैरवपुर–बैराठ–इनारबरुवा–हरिनगर–गोपालनगर–घाँघर–शिवद्वार–कृष्णनगर हुँदै बगहीँ) को स्तरोन्नति गरी कालोपत्रे गरिने उल्लेख छ । राष्ट्रिय मह¤वको विषय बनाई चितवन राष्ट्रिय निकुञ्जमा हवाई ब्रिज (आकाशे पुल)को निर्माण पहल गरिने उल्लेख छ ।
चितवन राष्ट्रिय निकुञ्ज भित्रको राप्ती पुलदेखि रेवा पुलसम्म बाटो चौडा गरी स्तरीय ग्राभेलिङ (पिच) गरिने योजनामा उल्लेख छ । हुलाकी सडकको स्तरोन्नति गरी मगुई, बाँदरमुडे, रिमाल खोला, चन्द्रे खोला, जीवनपुर खोला, खरकट्टा खोला, वैकुण्ठ खोला, टम्टा खोला, घाँघर खोला, बगई खोलालगायतका खोलाहरुमा पक्की पुल निर्माणको प्रक्रिया सुरुवात गरिने योजनामा उल्लेख छ ।
बहुउद्देश्यीय रीउ परियोजना निर्माण गरी बगहीँदेखि पाँचपाण्डवसम्म नदी एवम् वन्यजन्तुको बस्तीप्रवेश नियन्त्रणका लागि ड्याम निर्माण गरी चार लेनको बाइपास रोड बनाइने छ ।
२ वर्षभित्र नहर बनाई सञ्चालनमा ल्याइनेछ र रीउ एवम् परुई सिंचाइ परियोजना सुरुवात गरिने, वाल्मीकि आश्रम, पाँचपाण्डव (गोद्धक), सोमेश्वर गढी र बैकुण्ठे क्षेत्रलाई देशकै मुख्य धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने प्याकेजमा उल्लेख छ । आगामी दुई वर्षभित्र डिप बोरिङ गरी हरेक घरमा स्वस्थ सफा र शुद्घ पिउने पानी पु¥याइने छ ।
तत्काल माडी क्याम्पसको स्तरोन्नति गरी डिग्री तहका साथै विज्ञान र प्राविधिक शिक्षा सञ्चालन गरिने, दराई, बोट, चेपाङ, तामाङ, दलित र परिचयपत्रका आधारमा विपन्न र सुकुमबासी समुदायका बालबालिकाहरुलाई उच्च शिक्षा निःशुल्क व्यवस्था गरिनुका साथै समग्र विकासको प्याकेज कार्यक्रम सञ्चालन गरिने प्याकेजमा उल्लेख छ ।
स्वास्थ्य सेवातर्फ २४सै घण्टा डक्टरको उपस्थितिमा माइनर अप्रेसन समेत गर्न मिल्नेगरी बसन्तपुरमा ५१ सैयाको हस्पिटल निर्माण गरी नौवटै वडाहरुमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गरिनुका साथै दाँत, आखा र प्रसुति सेवाका निम्ति छुट्टै उपचार केन्द्रहरु निर्माण गरिने प्याकेजमा उल्लेख छ ।
त्यस्तै परिचयपत्रका आधारमा विपन्न वर्गका जनताको सबै खाले उपचार निःशुल्क गरिने उल्लेख छ । बाँदरझुला, कुसुमखोला, पौहारी, छरछरे, कान्तिपुर, मजुवा, ढिकुरबारी, बनकट्टालगायतका ठाउँका जनताको वास्तविकता अध्ययन गरी सुकुमबासी र बाढीपीडितहरुलाई उचित बसोबासको व्यवस्था मिलाई लालपुर्जा वितरण गरिने छ ।
आदिवासी (थारु) जातिको सङ्ग्रहालय निर्माण गरिने छ, बसन्तपुरमा अन्तराष्ट्रियस्तरको खेलकुद स्टेडियम निर्माण गर्ने , नौ वटै वार्डमा कवर्ड हलको निर्माण गरिने, माडीको छरछरेमा अत्याधुनिक एवम् सुविधासम्पन्न वृद्धाश्रम बनाइने, ठोरी नाकालाई स्तरोन्ति गर्न स्थानीय तहबीच समन्वय गरी अन्र्तदेशीय आर्थिक कारोबारको ट्रान्जिट पोइन्टको रुपमा स्थापना गरिने प्याकेजमा उल्लेख छ ।
राष्ट्रिय निकुञ्जबाट हुने जंगली जनावरको बस्ती प्रवेश रोकथामका लागि विद्युतीय तारवार गरी भए गरेका क्षतिप्रति दुई हप्ताभित्र सतप्रतिशत क्षतिपूर्तीको व्यवस्था गरिने, वन्यजन्तु आक्रमणबाट जीउज्यान क्षती हुँदा न्यूनतम् दश लाख क्षतीपूर्तीको व्यवस्था गरिने र मत्स्य, फलफूल, पशुपालन, तरकारी खेतीलाई पकेट क्षेत्रका रुपमा विकास गरी अनुदानको व्यवस्था गरी किसानहरुलाई व्यवसायप्रति उत्साहित गरिने जस्ता विकासका मुद्दाहरु समेटिएका छन् ।

 

Comments

About the author

चितवन पोष्ट