गृह » सबै दल चुनावी घरदैलोमा जुटे
राजनीति

सबै दल चुनावी घरदैलोमा जुटे

नवलपुर । निर्वाचनको मिति नजिकिएसँगै नवलपुर र नवलपरासीमा राजनीतिक दलहरु रौनकताका साथ चुनावी प्रचारप्रसार, मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।
नेपाली कांग्रेसले नवलपरासीले सरावल गाउँपालिकाको वाड नम्बर ५ दुबौलिया, वाड नम्बर ६ मधवलिया र वाड नम्बर ७ भुजहवामा चुनाव प्रचारप्रसार कार्यालय खोलिएको छ । आसन्न प्रतिनिधि एवम् प्रदेशसभाको प्रचारप्रसारका लागि उक्त वाडहरुमा प्रचारप्रसार समिति गठन गरि कार्यालय खोलेको हो ।
जिल्लाको सुस्ता पश्चिमअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा पर्ने सरावल गाउँपालिका वाड नम्बर ५, ६ र ७ मा नेपाली कांग्रेसको बृहत् प्रचारप्रसार र चुनाव आफनो पक्षमा पर्ने उद्देश्यले प्रचारप्रसार कार्यालय खोली एक कार्यक्रम बिच कार्यालयको कार्यक्रम प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल गौडद्वारा उद्घाटन गराइएको हो ।
उक्त निर्वाचन क्षेत्रको प्रतिनिधिसभामा कांग्रेसबाट वर्तमान सांसद देवकरण कलवार (सन्तु), प्रदेशसभामा निवर्तमान सांसद बिक्रम खनालको उम्मेदवारी रहेको छ । यस प्रदेशसभामा नेपाली कांग्रेस र वाम गठबन्धनको दुई पक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ तर यस क्षेत्रमा कांग्रेसलाई बलियो मानिएको छ ।
त्यस्तै आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसँगै दलहरु प्रचारप्रसारमा व्यस्त भएका छन् । नेपाली कांग्रेस कावासोती नगर समितिले पनि निर्वाचन प्रचारप्रसारको लागि नगरभित्र रहेका १७ वटै वडामा वडाकार्यालय स्थापना कार्य सुरू गरेको छ ।
जसअन्तर्गत आइतबार कावासोती नगरपालिका वडा नम्बर १५ मा वडा कार्यालय स्थापना कार्य सम्पन्न गरेको छ । नेपाली कांग्रेस वडा अध्यक्ष मानबहादुर महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा उम्मेदवार एवम् जिल्ला सभापति विष्णु लामिछाने प्रमुख अतिथि रहेका थिए ।
यसैगरी कार्यक्रममा प्रतिनिधि उम्मेदवार विष्णु कार्की, महासमिति सदस्य कमल गुरौ, नगर सभापति मुकुन्द भट्टराईलगायत नेपाली कांग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेशसभा उम्मेदवार एवम् जिल्ला सभापति लामिछानेले आसन्न प्रदेशसभा र प्रतिनिधि सभामा नेपाली कांग्रेसको जित सुनिश्चित भएको दाबी गर्दै सम्पूर्ण कार्यकर्तालाई चुनावी अभियानमा लाग्न आव्हान गरे । त्यस्तै आइतबार कावासोतीको वडा नम्बर ४ मा पनि वडा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुकुमार कार्कीले सुकुमबासी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने बताए । त्यस्तै जग्गा नभएकालाई जग्गा दिने र पुर्जा नभएकालाई पुर्जा दिलाउने उनको प्रतिबद्धता छ ।
त्यतै वाम गठबन्धनले पनि नवलपरासीको मध्यबिन्दु नगरपालिकामा प्रचारप्रसार तथा निर्वाचन परिचालनका लागि वडा कार्यालयहरु स्थापना गरेको छ ।
आइतबार मध्यबिन्दु नगरपालिकाको वडा नं. २ र ३ मा छुट्टाछुट्टै कार्यालय स्थापना गरिएको हो । वडा कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य नवलपुर क्षेत्र नं. २ का उम्मेदवार तिलक महत र नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रदेश सभा नवलपुर २ (१) का उम्मेदवार किशान शर्मा गैरेले वाम गठबन्धनको नेतृत्वमा सरकार गठन हुने गरी वाम गठबन्धन विजयी भई देशलाई विकास र समृद्धिको बाटोमा लैजानेमा जोड दिए ।
त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले आयतबार मंसिर २१ गते हुने निर्वाचनलाई लक्षित गरी मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकास्तरीय निर्वाचन परिचालन तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् समानुपातिकतर्फका प्रतिनिधिसभाका उम्मेदवार अशोक लम्साल अनुकुलको आतिथ्यतामा भएको भेलाले मध्यबिन्दु नगरपालिकामा खड्कबहादुर बाह्रघरेको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार उपसमिति गठन गरेको हो ।
जसको सहसंयोजकमा प्रदेशसभाका समानुपातिकतर्फका उम्मेदवार कल्पना बिन्दु गौतम, सदस्यहरुमा सागर कुमाल, होमबहादुर कुमाल, रमेश अर्याललगायत रहेका छन् । त्यस्तै हुप्सेकोट गाउँपालिकामा टिकाराम काफ्ले संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरिएको जनाएको छ ।
जसको सहसंयोजक यमबहादुर सोमै, सदस्यहरुमा ऋषिराम विक, मिना फालमगर, चन्द्री थापा, बादल लगायत रहेका छन् ।
त्यसैगरी नयाँशक्ति नेपाल नवलपुरले निर्वाचन क्षेत्र प्रदेशसभा २ १ को निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।
मंगललामाको अध्यक्षतामा भएको बैठकले १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन भएको मोती रिजालले बताए । कार्यक्रममा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पिताम्बर महतो, पशुपति लामिछाने, ओम महतो, समानुपातिक तिलीसरा सोती मगरलगायतको सहभागिता रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट