गृह » चुनावले छोएन गरिबलाई 
प्रमुख समाचार

चुनावले छोएन गरिबलाई 

–तुलमान गुरूङ
भरतपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । उम्मेदवार, दलका नेता तथा कार्यकर्ता यतिबेला तीव्र चुनावी प्रचारप्रसारमा जुटेका छन् । सबै उम्मेदवारहरूले चुनावी नतिजा आफ्नै पक्षमा भएको दाबी गर्दै मतदातालाई रिझाउँदै हिँडेका छन् । चुनावी माहोल र उनीहरूले गरेको प्रचारप्रसारलाई हेर्दा जो कोहीलाई लाग्छ कि दलका नेता तथा कार्यकर्ताको लागि चुनाव सबैभन्दा ठूलो पर्व हो ।
तर, सामान्यरूपमा ज्यालामजदुरी गरेर गुजारा चलाउनेको लागि यो चुनावको खासै मह¤व छैन । उनीहरू साँझबिहानको छाक टार्नमै व्यस्त छन् । ‘हामीजस्ता गरिबलाई यस्तो चुनाव–सुनावको मतलब छैन,’ राप्ती–३ पिप्लेका इन्द्रबाबु बयलकोटीले भने, ‘हामीलाई त बिहान–बेलुकाको छाक टार्नको चिन्ता मात्रै छ ।’ उनलाई कुनै पनि नेताप्रति विश्वास छैन । ‘२०२७ सालदेखि हामी ऐलेनी जग्गामा छौँ । चुनावका बेला जग्गाधनी पूर्जा बनाइदिन्छु भन्ने धेरै आए,’ लामो समयदेखि नारायणगढमा ठेला चलाउँदै आएका बयलकोटीले भने, ‘तर, हामीलाई लालपुर्जा दिलाइदिने कोही भेटिएन ।’ चुनावका बेला ठूला भाषण गरेर जितेकाहरू मतदाताकोमा फर्केर पनि नआएकोले आफ्नो समस्या र गुनासो सुनाउने मौकासमेत नपाएको उनले गुनासो गरे ।
गैंडाकोट नगरपालिका–२ नवलपुरका विनोद परियार विगत १९ वर्षदेखि नारायणगढमा ठेला चलाएर आफ्नो परिवार पाल्दै आएका छन् । सबैले चुनावको कुरा गरिरहे पनि आफूलाई भने चुनाव आए पनि नआए पनि केही फरक नपर्ने उनी बताउँछन् । ‘देशमा जतिसुकै चुनाव आए पनि के गर्नु ? जसरी पनि फलाम नबोकी खान पाइँदैन,’ उनले भने, ‘चुनावमा जिताएर पठाएपछि हामी जस्ता गरिबका लागि दिन फिर्ने भए पो चासो हुनु ? आखिर हाम्रो दुःख हेर्ने कोही छैन ।’
भरतपुर–६ गीतानगरका लक्ष्मण गुरूङलाई पनि यो चुनावले अहिलेसम्म छोएको छैन । किनकी उनलाई चुनावको भन्दा पनि रोजगारीको चिन्ता छ । यहीँ बसेर केही गरोैँ भने पनि सम्भावना नदेखेपछि उनी अहिले विदेश जाने सोच बनाएर बसेका छन् । ‘स्वदेशमै रोजगारको व्यवस्था सिर्जना गरिदिए म जस्ता लाखौँ युवा जनशक्तिले किन विदेशलाई कर्मथलो बनाउनुपथ्र्यो र ?’ उनले प्रश्न गर्दै भने, ‘त्यसैले नेताको भाषणको पछि लागेर फाइदा छैन ।’ मतदाताको हैसियतले मतदान गरे पनि व्यक्ति हेरेर मतदान गर्ने उनको योजना छ ।
कुनै पनि नेताले चुनाव जितिसकेपछि आफू निर्वाचित क्षेत्रलाई फर्केर पनि नहेरेको आममतदाताको भनाइ छ । ‘चुनावको बेला हात जोड्दै आए पनि जितेर गएपछि आफैँले गरेको नमस्कार पनि बिर्सन्छन्,’ भरतपुर २९ का विपना गुरूङले भनिन्, ‘जिताएर पठाएको नेतालाई आफ्नो समस्या राख्नको लागि पनि मौका पाएको छैन ।’ त्यसैले यो चुनावमा पार्टीभन्दा पनि जसले गरिबको समस्या बुझ्न सक्छ त्यसैलाई भोट दिने उनले योजना बनाएकी छिन् ।
हाल शारदानगर बस्दै आएका दाङ, तुलसीपुरका रामु चौधरीले भने पश्चिममा भएको मुक्त कमैया प्रथा हटाउनको लागि धेरथोर काम माओवादी केन्द्रले गरेको भन्दै आफ्नो समस्या बुझ्ने पार्टीलाई भोट दिने बताए । सामान्यरूपमा ज्याला मजदुरी गर्दै आएका उनी चुनावमा भोट हाल्न जाने तयारी गरिसकेको बताउँछन् ।
नारायणगढकी लीला सुनारले पनि पार्टीभन्दा व्यक्ति हेरेर मतदान गर्नुपर्ने बताइन् । नारायणगढ बजारमा ठेलामा पोलेको मकैको व्यापार गर्दै आएकी उनले भनिन्, ‘हामी जस्ता स्वतन्त्र मतदाताको लागि सबै पार्टी बराबर हो ।’ त्यसैले जसले गरिबलाई हेर्छ, जसले विकासको काम गर्छ उसैलाई भोट दिने हो ।’ ६२ वर्षीय सुनारलाई सोझासाझा जनतालाई गरिखाने वातावरण मिलाइदिए हुन्थ्यो भन्ने मात्रै चिन्ता छ । ‘भएको घरबारमा पनि खोला पहिरो लायो,’ उनले भनिन्, ‘तर, हामीलाई राज्यको तर्फबाट कहिल्यै पनि देशको नागरिकको दर्जामा राखेको महसुस गर्न पाएनौँ ।’
सर्लाही गोदत्ता नगरपालिकाका घर भई विगत लामो समयदेखि नारायणगढको सडकमा जुत्ता चप्पल सिलाउँदै आएका रामेश्वर महरा प्रायः महिनामा एकपटक घर पुग्छन् । यो महिनामा तिहारसहित छठ पर्व मनाएर बिहीबार मात्रै नारायणगढ आएका हुन् । उनको ध्यान पनि चुनावमा भन्दा आफ्नै परिवारको लागि दुईचार पैसा कसरी कमाउने भन्ने नै चिन्ता छ । स्थानीय तह निर्वाचनमा उम्मेदवारले नै फोन गरेर बोलाएकोले गएर चुनाव जिताइएको उनले सुनाए । यो निर्वाचनमा पनि पार्टीभन्दा पनि व्यक्ति हेरेर विकासको संभावना बोकेको नेतालाई जिताउनुपर्छ भन्ने उनको तर्क छ ।

Comments

About the author

चितवन पोष्ट