गृह » विकासका एजेण्डाभन्दा दलहरु गठबन्धनको औचित्य पुष्टि गर्नमै व्यस्त
प्रमुख समाचार राजनीति

विकासका एजेण्डाभन्दा दलहरु गठबन्धनको औचित्य पुष्टि गर्नमै व्यस्त

होमनाथ सापकोटा
रत्ननगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले जिल्ला तातेको छ । गाउँ, टोल, छिमेक र चौतारामा निर्वाचनकै चर्चा हुन थालेको छ । जनताहरु एक ठाउँमा भेला भएर उम्मेदवारको लेखाजोखा गर्न थालेका छन् । भोट माग्ने, जित्ने तरपछि गाउँ त के जिल्ला नै नर्फकने नेताहरुलाई भोट दिन हुन्न भन्दै मतदाताहरु सचेत भएका छन् । भोट माग्न जादा काम गर्छु भन्ने र चुनाव जितिसकेपछि जनतालाई वास्ता समेत नगर्ने भन्दै नेताहरुको आलोचना हुने गरेको छ । नेताले अहिले सम्म जनताको चाहना अनुसार काम नगरेको गुनासो आउने गरेको छ ।
दुई गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलका नेताहरु अहिले गठबन्धनको औचित्य पुष्टि गर्न तल्लीन छन् । एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका छन् । ती दुई पार्टी निर्वाचनपछि एकीकरण हुने विषयले चुनावी मुद्दाभन्दा पनि एकीकरणले प्राथमिकता पाएको छ ।
वाम गठबन्धनका उम्मेदवारहरुले चुनावी तालमेल र पार्टी एकीकरणको विषयलाई घरदैलोका क्रममा पनि विशेष जोड दिइरहेका छन् । जनताले पार्टी एकीकरणभन्दा पनि नेताहरुबाट विकासको प्रतिबद्धता खोजिरहेका छन् । तर, त्यस्ता प्रतिबद्धता नेताहरुबाट कमै मात्र आएका छन् । दुई पार्टी बीचको एकीकरणको विषयले विकासको मुद्दा यो निर्वाचनमा ओझेलमा परेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले जिल्लामा आयोजना गरिएका चुनावी कार्यक्रममा चुनावी तालमेल र पार्टी एकीकरणको विषयलाई जोडबलको साथ उठाइरहेका छन् ।
उनले सम्बोधनका क्रममा चितवनको समृद्धिको लागि काम गर्ने बताइरहँदा के के काम गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत गर्न सकेका छैनन् । प्रचण्डबाट चितवनबासीले विकासको प्रतिबद्धता खोजिरहेका छन् । तर, हरेक कार्यक्रममा प्रचण्डले भाषण गर्दा पार्टी एकीकरण र तालमेलकै विषयमा समय खर्चने गरेका छन । ‘हामीले नेताहरुबाट विकासको प्रतिबद्धता खोजेका हौं,’ रत्ननगरका नागरिक अगुवा धनपति चापागाईले भने,‘तालमेल भएको हामीले थाहा पाएका छौं अब हाम्रो ठाउँमा यो विकास गर्छु भनेर प्रतिबद्धता नेताहरुबाट आउनु पर्छ ।’
तालमेल र पार्टी एकीकरणको विषयले विकासको मुद्दालाई उम्मेदवारहरुले ओझेलमा पार्ने गरेको उनले बताए । ‘कांग्रेसका उम्मेदवारहरु वाम गठबन्धनलाई गाली गरिरहेका छन्,’ उनले भने, ‘अरुलाई गाली गरेर चुनाव जितिदँैन, चुनाव जित्न विकासको एजेण्डा लिएर आउनु पर्छ ।’
चितवन जिल्लाका ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडकलगायतका यावत विकासका योजना पूरा गर्नुपर्ने जिम्मेवारी नेताहरुको काँधमा छ ।
यस्ता विषयलाई बेवास्ता गरी वाम गठबन्धनका उम्मेदवारहरुले बामपन्थीको दुई तिहाइको सरकार बनाउन हामीलाई भोट दिनुहोस् भनेर भोट मागिरहेका छन् । जनताको घरदैलोमा पुगेका उम्मेदवारसँग रत्ननगरको नदी किनारमा बस्ने जनताले खोलामा बलियो तटबन्धन र निकुञ्ज नजिक बस्ने जनताहरुले मानव बस्ती र निकुञ्जको सिमानामा पर्खाल नगाइदिन लिखित आग्रह गरिरहेका छन् ।
‘भोट माग्न गाउँमा आएका उम्मेदवारसँग हामीले विकासका लागि लिखित माग गरेका छौं,’ रत्ननगर वडा नं.८ का वडा अध्यक्ष विनोद बस्नेतले भने, ‘बाढीबाट स्थानीयलाई जोगाउन खोलामा तटबन्धन गरिदिनुहोस् भनेका छौं ।’ उनले खोलामा तटबन्धनसहित शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका विकासका योजना समेटिएको ९ बुँदे मागपत्र वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बुझाएको बताए ।

 

Comments

About the author

चितवन पोष्ट