गृह » भरतपुरमा ‘पाठशाला’ उपन्यासमाथि विमर्श
साहित्य

भरतपुरमा ‘पाठशाला’ उपन्यासमाथि विमर्श

भरतपुर । शनिबार उपन्यासकार तीर्थ गुरूङको उपन्यास ‘पाठशाला’माथि भरतपुरमा विमर्श भएको छ । अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा पुस्तकमाथि विभिन्न व्यक्तिहरूले टिप्पणी समेत गरेका थिए । उपन्यास प्रकाशनपछि नेपालमै पहिलो पटक चितवनमा पुस्तक र लेखकमाथि चर्चा गरिएको हो ।
पुस्तकको बारेमा चर्चा गर्दै समीक्षक उदय अधिकारीले सरल खालको उपन्यास भएको बताए । हाइस्कुल पढ्ने विद्यार्थीको मनोविज्ञानमा आधारित भएर उपन्यास लेखेकोले पुस्तकले छोटो समयमै चर्चा बटुल्न सफल भएको बताए । ‘युवाहरूको मनोविज्ञानलाई नेपाली साहित्यमार्फत राम्रो उपस्थित गराउन सफल भएकोले पनि पाठकसामु ‘पाठशाला’ लोकप्रिय बन्न सफल भएको छ,’ उनले भने ।
आमदर्शकका लागि पनि सीमित चलचित्र मात्रै उत्कृष्ट हुने उदाहरण दिँदै अर्का समीक्षक लक्ष्मण श्रेष्ठले ‘पाठशाला’ पनि नेपाली साहित्य क्षेत्रमा पाठकले मन पराउने पुस्तकमध्ये सीमित पुस्तकभित्र पर्ने बताए । तर, नेपालमा राजनीतिक लेखनको प्रभावले गर्दा अन्य विषयवस्तुले त्यति राम्रो स्थान पाउन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनका अनुसार यो उपन्यासमार्फत लेखक गुरूङले नेपाली शैक्षिक जगतको असफलता र कमिकमजोरीलाई पुस्तक मार्फत छर्लङ्ग पार्ने प्रयास गरेका छन् ।
‘जतिबेला नेपालमा चर्को द्वन्द्व थियो, त्यतिबेला एसएलसी परीक्षा दिएको युवाको डायरी हो पाठशाला,’ उनले भने, ‘त्यसैले पनि यो राजनीतिक विषयवस्तुभन्दा अलि पर रहेर लेखिएको पुस्तक हो जस्तो मलाई लाग्छ । त्यसैले ती किशोरको पढाइमा पनि द्वन्द्वको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।’ कुनै पनि शिक्षक बालमनोविज्ञानबारे जान्न चाहन्छ भने उनको लागि ‘पाठशाला’ पुस्तक अझ बढी फलदायी हुने उनको विश्वास छ ।
उपन्यासमा एउटै पात्रलाई पनि फरक–फरक नामले चिनाउने प्रयास गरेर लेखकले आफ्नो क्षमता देखाउने प्रयास गरेको समीक्षक एवम् साहित्यकार निमेश निखिलले बताए । उमेरजन्य प्रेम भावलाई पनि सरल ढंगमा उपन्यासमा समेट्ने प्रयास गरिएको भन्दै उनले भने, ‘यो पुस्तक सबै खालको पाठकका लागि उपयुक्त छ ।’ उपन्यासमा लेखकले स्वेरकाल्पनिकताको प्रयोग गरिएको उनको भनाइ छ । तर, लेखक भाषामा भने कहीँकतै चुकेको उनले प्रतिक्रिया दिए ।
यस्तै पुस्तकका प्रकाशक भूपेन्द्र खड्काले नेपालका उच्च बौद्धिक चेतना भएका पाठकहरूको संख्यामा वृद्धि हुँदै गएकोले त्यस्तै खालको पाठकको लागि राम्रो खुराक बनेको दाबी गरे । समीक्षक उदय अधिकारीको भनाइलाई खण्डन गर्दै उनले भने, ‘त्यसैले पनि उदय जी ले भनेजस्तो सरल खालको उपन्यास होइन पाठशाला । किनकी लेखनमा पृथकता छ ।’ पुस्तकमा अहिलेको किशोरहरूले बोल्ने भाषाभन्दा पनि त्यतिबेला (२०६२÷२०६३) ताकाको किशोरहरूले बोल्ने भाषाको प्रयोग गरिएको उनले बताए । लेखकले कथाको तरलताबाट पात्रलाई स्थापित गराउन सक्नु नै लेखकको राम्रो कला भएको उनको भनाइ छ ।
अक्षर समूह चितवनका अध्यक्ष ईश्वर कँडेलले उपन्यासमा लेखकले आफ्ने कथावस्तुलाई पनि समेट्ने प्रयास गरेको बताए । ‘पाठशाला’ माथि सबैको प्रतिक्रिया सुनिसकेपछि लेखक गुरूङले उपन्यासमा अप्रत्यक्षरूपमा आदिवासी जनजाति र दलित समुदायका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरिएको बताए । कतिपय घटना र पात्रहरू आफ्नै घरभित्र वा छिमेकबाट पनि निस्किएको हुन सक्ने बताए । मञ्चमा बोल्दाबोल्दै भावुक भएका गुरूङले चितवनबाट धेरै माया पाएको भन्दै धेरै कुरा गर्न चाहेनन् ।

 

 

Comments

About the author

चितवन पोष्ट