गृह » वामपन्थी सरकारको पहिलोे एजेण्डा सुकुमबासी समस्याको समाधानः प्रचण्ड
राजनीति

वामपन्थी सरकारको पहिलोे एजेण्डा सुकुमबासी समस्याको समाधानः प्रचण्ड

विद्यालय खेल मैदानमा सहभागी हुँदै प्रचण्ड ।

रामशरण गैरे
भरतपुर । निर्वाचनपछि बन्ने वामपन्थीहरुको सरकारको पहिलो मन्त्रीपरिषद् बैठकको पहिलो एजेण्डा सुकुमबासी समस्या समाधानको निर्णय हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
भरतपुर महानगरपालिका–१४ मा लालपुजाविहीन नागरिकसँग साक्षात्कार कार्यक्रममा प्रचण्डले चुनावपछि बन्ने वामपन्थीहरुको सरकारले सुकुमबासीलाई लालपुर्जा मात्रै होइन रोजगारी, शिक्षा, स्वास्थ्यलगायतको व्यवस्थापन गर्ने बताए । सुकुमबासीलाई पुर्जा वितरणको प्रक्रिया आफू प्रधानमन्त्री हुँदादेखि नै सुरू भइसकेको बताउँदै लालपुर्जा मात्रै नभई, वामपन्थीको सरकारले घर निर्माण गर्न पनि सहयोग गर्ने दाबी गरे ।
२०३६ सालमा चितवनको भीमसेननगरको गौचरनमा सुकुमबासीलाई बसोबास गराउनुपर्छ भनेर रातारात खामो गाड्दै झुप्रो बनाउने कामको सुरूवात आफैले गरेको स्मरण गराउँदै प्रचण्डले यसको सुरूवात आफैले गरेकाले समाधान पनि आफैले गरेरै छाड्ने बताए । चितवनका मात्रै नभई देशभरका सुकुमबासीको समस्या समाधान गर्ने बताउँदै उनले आफू प्रधानमन्त्री हुँदा कतिपय ठाउँमा सुकुमबासी उठाउन लागेको थाहा पाएर आफुले रोकेको बताए ।
लालपुर्र्जािवहीन नागरिकसँग प्रचण्डको साक्षात्कारमा सहभागी भरतपुर महानगरपालिका–१४ की रमा गुरुङले प्रचण्डलाई प्रश्न गर्दै ‘सधैँ पुर्जा दिन्छौं, भोट देउ मात्र भन्ने, पुर्जा लाऊ भोट देऊ कसैले भनेन । उनले भनिन्, ‘भोट दिएर पुर्जाको आश गर्ने कहिलेसम्म ? २०३६ सालदेखि हामीलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरियो अब कहिलेसम्म प्रयोग गर्ने हो ? ’
अर्का सहभागी भरतपुर महानगरपालिका–१४ का राम रिजालले ‘आरक्षण जातको आधारमा होइन गरिबलाई हुनु प¥थ्यो, किन हुन सकेन ?’धनी गरीब बिचको खाडल किन बढ्दै छ’ रिजालले प्रश्न गरेका थिए । यस्तै भरतपुर महानगरपालिका–१४ कै दलबहादुर विकले ‘भोको पेटको पीडा हाम्रा बालबालिकाले भोगेका छन्, हाम्रो पीडा कसले सुन्ने?’ बताए ।

 

Comments

About the author

चितवन पोष्ट