गृह » सबैभन्दा सस्तो मनोरञ्जन
विचार

सबैभन्दा सस्तो मनोरञ्जन

— आचार्य लक्ष्मण भण्डारी
acharyalb@gmail.com

‘मस्तिष्कलाई अध्ययनको त्यति नै आवश्यकता पर्दछ, जति शरीरलाई व्यायामको’— जोसेफ एडिसन
‘अध्ययनले हामीलाई आनन्द दिन्छ, अलङ्कृत पार्दछ र योग्यता प्रदान गर्दछ’— फ्रान्सिस बेकन
‘अध्ययन आकाशमा चम्कने सूर्यजस्तै हो’— विलियम शेक्सपियर
‘अध्ययनभन्दा सस्तो कुनै मनोरञ्जन छैन, न त यसले दिनेजस्तो स्थायी अर्को कुनै खुसी हुन्छ’— मन्टेग्यु
‘तीन वर्षसम्म लगातार अध्ययन गरेर पनि आफ्नो आचरणमा सुधार नगर्ने व्यक्ति पाउन गाह्रो छ’— कन्फ्युसियस
‘जसरी सधैँ खाइरहनाले मानिस शारीरिक दृष्टिले हृष्टपुष्ट हुन्छ, त्यसरी नै निरन्तर अध्ययन गर्नाले मानिस ज्ञानी हुन्छ’— जेरेमी कोलियर
‘अध्ययनप्रतिको प्रेमले जीवनमा आउने विषाद र क्लान्तिका क्षणहरुलाई आनन्द र प्रसन्नताका क्षणहरुमा परिवर्तित गर्ने क्षमता राख्दछ’— मन्टेस्की
‘मानिस जहिले पनि अध्ययनको काममा लागिरहनुपर्दछ’— मनुस्मृति
‘ती मानिस जो अध्ययन गर्दैनन्, केवल मानिसले लगाउने कपडा लगाएका पशु हुन्’— चिनियाँ उखान
‘अध्ययनसम्बन्धी यी तीन नियमहरु पालन गर्नु उपयुक्त हुन्छ : पहिलो एक वर्ष पनि पुरानो नभएको पुस्तक पढ्नु, प्रसिद्ध नभएको पुस्तक नपढ्नु र आफ्नो रूचिको विषयभन्दा बाहिर रहेको पुस्तकको अध्ययन नगर्नु’— इमर्सन
मानिस जीवित प्राणी हो । उसको जीवन शरीर र आत्मा मिलेर बनेको हुन्छ । स्वस्थ जीवनका लागि स्वस्थ मन र स्वस्थ शरीर दुवैको आवश्यकता पर्दछ । शरीरलाई शारीरिक व्यायाममार्पmत स्वस्थ बनाउन सकिन्छ भने मन र मस्तिष्कलाई स्वस्थ बनाउने विधि भनेको चिन्तन हो, अध्ययन र मनन हो । मानिस भनेको नै चेतनाको दोस्रो नाम हो । मनप्रधान हुने भएकाले उसलाई मानिस भनिएको हो । अध्ययनले हाम्रो मस्तिष्कको व्यायाम हुन्छ भनेर जोसेफ एडिसनले पनि भनेका छन् । अध्ययन गरेको व्यक्ति नै अनावश्यक तनाव, चिन्ता र अप्ठ्याराहरुबाट मुक्त हुन सक्दछ ।
अस्वस्थ मस्तिष्कमा विचारहरु पनि स्वस्थ हुन पाउँदैनन् । स्वस्थ विचारभित्र प्रेम, त्याग, सहिष्णुता, सहयोग र सहकारिताजस्ता गुणहरु पर्दछन् । पुस्तकहरुको अध्ययनले हामीभित्र यी गुणहरुको विकास गर्न ठूलो सहयोग पुग्दछ ।
अध्ययनले हामी स्वस्थ हुने कुरामा कुनै सन्देह रहेन नै । यसका माध्यमले हामीभित्रको सौन्दर्य पनि अझ निखारिएर बाहिर आउँछ । अध्ययनकै माध्यमले हामी मनभित्रका निराशा, पीडा, दुःख र सन्देहहरु हटाएर आनन्दित हुन्छौँ । अध्ययनले हामीलाई आनन्द दिन्छ, अलङ्कृत पार्दछ र योग्यता प्रदान गर्दछ भनेर फ्रान्सिस बेकनले पनि भनेका छन् । बाहिरी गरगहना क्षणिक हुन् । यी सबै बाहिरी शृङ्गारका साधन हुन्, तर अध्ययन हाम्रो कहिल्यै ननासिने गहना हो । अध्ययनशील मानिसले थप सिँगारपटारका लागि समय र सम्पत्ति खर्च गर्नुपर्दैन ।
अध्ययन नै उज्यालोको प्रतीक हो । यो के हो, त्यो के हो ? भनेर थाहा पाउनका लागि आकाशमा सूर्योदय हुनुपर्दछ । जब आकाशमा सूर्य उदाउँछन्, तब धर्ती उज्यालिन्छ । हामीभित्रको सूर्य भनेकै हाम्रो ज्ञान हो, अध्ययन हो । आकाशको सूर्य त बरू अस्ताउने र उदाउने भइरहन्छ, तर हामीभित्रको ज्ञानको सूर्य भने एकपटक उदाएपछि उदायो उदायो । यही ज्ञानका माध्यमले मानिसहरु शरीरको समाप्तिपछि पनि अमर भएर बाँचिरहन्छन् । विलियम शेक्सपियरले भनेका छन्— ‘अध्ययन आकाशमा चम्कने सूर्यजस्तै हो ।’ एउटा सूर्यको उदयमा सारा संसार आनन्दविभोर भएर ब्यँुझन्छ । त्यसरी नै एक जना विद्वान्को विद्वताका कारण हजारौँ, लाखौँ मानिसले ज्ञानको दिव्यानुभूति गर्ने सुनौलो अवसर प्राप्त गर्दछन् ।
अध्ययन यति मह¤वपूर्ण भएर पनि हामीमा यसको संस्कार विकास हुन सकेन । जीवनमा भौतिक समृद्धि मात्रै ठूलो कुरो होइन । आन्तरिक विवेकले सम्पन्न हुनु सबैभन्दा मह¤वको विषय हो । समाज, राष्ट्र र अन्तर्राष्ट्रका लागि धेरै कुरा गरेर पनि हामीले अध्ययनको काम गर्न सकेनौँ । पढाइ हाम्रालागि मोजभन्दा धेरै बोझ बनेको देखिन्छ तर अध्ययनको गहिराइमा जति हामी गहिरिँदै जान्छौँ, त्यति नै आनन्दको वर्षा हुन सुरू गर्दछ भन्ने सत्यबाट मानिसको ठूलो हिस्सा बेखबर देखिन्छ ।
यसका लागि कुनै चर्को मूल्य चुकाउनुपर्दैन । हामी कतै होटलमा गएर सामान्य खाजानास्ता खायौँ भने पनि सयौँ रूपैयाँ खर्च हुन्छ । त्यसरी खाएको खानाले सधैँ तृप्तिको अनुभूति पनि हुँदैन, तर एकपटक किनेको एउटा पठनीय पुस्तकले जीवनभर आनन्द प्रदान गर्दछ । पुस्तकको मनोरञ्जनभन्दा सस्तो संसारमा सायदै अर्को मनोरञ्जन होला । ‘अध्ययनभन्दा सस्तो कुनै मनोरञ्जन छैन, न त यसले दिनेजस्तो स्थायी अर्को कुनै खुसी हुन्छ’— यो मन्टेग्यु भन्ने विद्वान्ले व्यक्त गरेको विचार हो । अध्ययनले दिने खुसी भनेको माछामासु र जेरीपुरी खान पाउँदा हुने सुख होइन । न त यो यौन सम्पर्क गर्न पाएको अवसरले व्यक्तिभित्र पैदा हुने खुसीजस्तो अस्थायी हुन्छ । अध्ययनको खुसी पूर्णतः शाश्वत् र स्थायी हुन्छ, जुन हामी अत्यन्त थोरै पैसामा प्राप्त गर्न सक्दछौँ ।
हामी देशदर्शन गर्न भनी हजारौँ लाखौँ खर्च गरेर बाहिरतिर जान्छौँ । वास्तवमा एउटा पुस्तकमा ती सबै ठाउँहरु हुन्छन् । एउटा पुस्तकमा सारा विश्वदर्शन गर्ने अवसर प्राप्त हुन्छ । पुस्तक भनेको कागज मात्र होइन । किताबका प्रत्येक शब्द आपैmँमा चित्र हुन् । अत्यन्त थोरै पैसामा हामीले खोजेको कुरा पुस्तकमा लेखकले उपलब्ध गराइदिएका हुन्छन् । त्यसैले, अध्ययन मोन्टेग्युले भनेभैmँ सस्तो पैसामा पाइने शाश्वत् मनोरञ्जन हो ।
‘तीन वर्षसम्म लगातार अध्ययन गरेर पनि आफ्नो आचरणमा सुधार नगर्ने व्यक्ति पाउन गाह्रो छ’— कन्फ्युसियसको यो भनाइले अध्ययनले कुनै पनि हालतमा व्यक्तिको आचरणमा परिवर्तन गरेरै छाड्ने सत्य व्यक्त गरेको छ । एउटा पुस्तक पढ्दा तत्कालै केही भइहाल्छ भन्न न सकिएला, तर पुस्तकको बारम्बारको अध्ययनले व्यक्तिको चरित्रमा अवश्यमेव परिवर्तन भएरै छाड्दछ । कन्फ्युसियसले जतिसुकै बदमास भए पनि कम्तीमा तीन वर्षभित्र लगातार असल पुस्तकको अध्ययन गर्ने हो भने उसको आचरणमा सुधार आउने कुरा बताएका छन् ।
‘अध्ययनप्रतिको प्रेमले जीवनमा आउने विषाद र क्लान्तिका क्षणहरुलाई आनन्द र प्रसन्नताका क्षणहरुमा परिवर्तित गर्ने क्षमता राख्दछ’ भन्ने विचार व्यक्त गर्ने मन्टेस्की हुन् । मानिसहरुलाई गरिएको प्रेमबाट धोका हुने सम्भावना पनि त्यत्तिकै हुन्छ । यदि हामीले अकारण र निरपेक्ष प्रेम गर्ने हो भने त्यो राम्रै होला, तर अपेक्षासहितको प्रेममा केही नपाउँदा वा आपूmले सोचेको जस्तो नहुँदा दुःख पनि लाग्दछ । तर, पुस्तकलाई गरिएको प्रेम कहिल्यै निरर्थक हुँदैन । पुस्तकले हामीलाई कहिल्यै पनि धोका दिँदैन । जीवनमा आउने विषाद र क्लान्तिका क्षणहरु पनि अध्ययनका माध्यमले आनन्दमा बदलिन सक्छन् ।
एउटा चिनियाँ उखान छ, ‘ती मानिस, जो अध्ययन गर्दैनन्, केवल मानिसले लगाउने कपडा लगाएका पशु हुन् ।’ यसको अर्थ के हो भने मनुष्यको चेतना र विवेकलाई अद्यावधिक गर्नका लागि पनि अध्ययन आवश्यक छ । अध्ययनविना हामी मनुष्यताबारे जानकार हुन पनि सक्दैनौँ । जबसम्म मनुष्यता के हो भन्ने हामी जान्दैनौँ, तबसम्म जीवनको अर्थ नै के हुन्छ र ? मानिसको कपडा लगाउँदैमा हामी मानिस हुन सक्दैनौँ, न त मानिसको शरीर पाउँदैमा हामी मानिस नै हुन सक्दछौँ । मानवीय मूल्यप्रति जहिलेसम्म हामीभित्र गहिरो आस्था पलाउँदैन र हामी त्यसका अभ्यासी हुन सक्दैनौँ, तबसम्म हाम्रो जीवनको सार्थकता सिद्ध हुँदैन । अध्ययनले हामीलाई जीवन सार्थकताको बाटोतिर डो¥याउँछ ।
अध्ययन भन्नु नै सभ्यताको अर्को नाम हो । हामी जन्मजात विशेष योग्यता लिएर जन्मिएका हुन्छौँ । अध्ययनले हामीभित्रको त्यो योग्यतालाई अझ पुष्पित र फलित तुल्याउन सहयोग पु¥याउँदछ । विचारमा अनेकन फोहोरहरु पैदा भएका हुन सक्दछन् । पुस्तकबाट प्राप्त गर्न सकिने अध्ययनले हामीलाई ती फोहोर सफा गर्ने शक्ति प्राप्त हुन्छ । मानसिक स्वास्थ्यको सबैभन्दा सुन्दर स्रोत भन्नु नै पुस्तकहरु हुन् । तिनको अध्ययनबाट हामीले सोचेको भन्दा धेरै आनन्द, शान्ति र सुख हामीलाई प्राप्त हुन्छ भन्ने अनुभवीहरुको मत रहेको छ ।
चाहे जे गरे पनि र जहाँ गए पनि दैनिक पुस्तकको अध्ययन गर्ने बानी बसालौँ । पुस्तकको अध्ययनले हाम्रो धेरै पैसा खर्च पनि हुँदैन । थोरै समय खर्च होला तर प्राप्ति अतुलनीय हुन्छ । तपाईंभित्र सभ्यताको विकास हुन्छ । जीवनका अनेकन आयाम र अवस्थाहरुबारे जान्न पाउँदा आनन्दको अनुभूति हुन्छ । यसले आत्मबलको विकास भएर जान्छ, जसका कारण हामी जटिल क्षणहरुमा पनि आशावादी हुन सक्दछौँ ।
कस्ता पुस्तक पढ्ने भन्ने कुरा भने निकै मह¤वपूर्ण हुन्छ । सकेसम्म आफ्नो रूचिका पुस्तक पढ्नुपर्दछ, तर रूचि समाज र जीवनसापेक्ष हुनुपर्दछ भन्ने विद्वान्हरुको मत छ । कम्तीमा पनि जहाँ जाँदा होस्, हाम्रो हातमा वा हाम्रो साथमा पुस्तक होस् । हामी जति अध्ययनशील बन्न सक्दछौँ, त्यति नै हाम्रो जीवन धन्य त हुन्छ नै, साथै परिवार, समाज र राष्ट्रले समेत हाम्रो अध्ययनको सुखद परिणाम अनुभव गर्न सक्दछन् । जतिजति अध्ययनको संस्कार हामीले विकास गर्दछौँ, त्यतिनै व्यर्थ समयमा हुन सक्ने व्यर्थका चर्चापरिचर्चा, टीकाटिप्पणी र गफगाफबाट पनि हामी मुक्त हुन पुग्दछौँ । खाली समयको सदुपयोग हुन्छ भने त्यो समयमा हुन सक्ने अनावश्यक खर्चबाट पनि हामी बच्न सक्दछौँ ।
पुस्तकहरुको अध्ययनविना मानिसले खोजेको शान्ति, आनन्द, प्रेम र करूणा पनि प्राप्त गर्न सक्दैन, किनकि शान्ति कसरी पाइन्छ ? प्रेम के हो ? आनन्दका स्रोतहरु केके हुन् भन्ने प्रश्नका रहस्यहरु पुस्तकहरु पढेरै थाहा पाउने हो । जीवन बाँच्ने कला हामीले त्यस्तै खालका पुस्तकहरुको अध्ययनविना सिक्न सक्दैनौँ । हामीभित्रको जङ्गली वृत्ति, हिंसा, अशिक्षाजस्ता अँध्यारा अवस्थाहरुको निराकरण पुस्तकहरुको अध्ययनबाट प्राप्त ज्ञानको उज्यालोले मात्रै गर्न सक्छ । त्यसर्थ, पढ्नु भनेको केवल पढ्नु मात्रै होइन, यो त जीवनको वास्तविक बुझाइ हो । अध्ययनमा प्राप्त गर्ने आनन्दको कुनै तुलना हुन सक्दैन । यो त अतुलनीय आनन्द हो । यसैले, अध्ययनको संस्कार विकास गरौँ र यसको अपरिमित आनन्दलाई महसुस गरौँ ।

 

 

 

 

 

Comments

About the author

चितवन पोष्ट