गृह » उम्मेदवार चिन्नुस्, छान्नुस् र नतिजा कुर्नुस्
विचार

उम्मेदवार चिन्नुस्, छान्नुस् र नतिजा कुर्नुस्

— रमेशकुमार पौडेल
k6ramesh@gmail.com

चुनावमा उम्मेदवारहरुको मनोनयन होस्÷नहोस्, हामी जित–हारको अड्कल लगाउन सुरू गर्छौं । मनोनयन दर्ता गरेर उम्मेदवारहरु प्रचारमा जुट्न पाएका हुँदैनन्, हामी यसले र उसले जित्ने ठोकुवा गर्छौं । चुनावका बेलामा यसो हुनु राम्रो होइन । चुनाव भनेको नतिजाको अन्दाज लगाउने होइन कि उम्मेदवार छनोट गर्ने अवसर पो हो त । मतदानअगावै जित–हारका विषयमा धेरै चिन्ता लिनुभन्दा चुनावी मैदानमा रहेका उम्मेदवार अथवा पार्टीहरुका बारेमा लेखाजोखा र चिन्तन–मनन गर्दै त्यसका आधारमा उम्मेदवार चुन्नु लोकतन्त्रका लागि लाभदायक हुने छ ।
स्थानीय तह निर्वाचनको रौनक सकिएको कतै छ महिना र कतै एक महिना पनि नहुँदै देशमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको माहोल छाएको छ । यो वर्ष २० वर्षपछि स्थानीय निर्वाचन भयो र चार वर्षपछि विधायकीय हैसियत राख्ने जनप्रतिनिधिहरु चुन्ने चुनाव हुँदैछ । त्यसैले ७४ साललाई चुनावी वर्ष भनिँदै छ । अब देशमा पाँच वर्षयता यस्तो चुनावी माहोल आउने छैन । हामीले अधिकारसम्पन्न स्थानीय तहका प्रतिनिधिहरु छानिसकेका छौँ । प्रतिनिधिसभा सदस्य अर्थात् सांसद्हरु अब छान्दै छौँ । प्रदेशसभा सदस्य पनि एकैचोटि छान्न जाँदै छौँ । प्रदेशसभा सदस्य निर्वाचन हाम्रो लागि नयाँ अनुभव हो ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसँगै हुँदै छ । देश संघीयतामा गएको छ । संघीय संरचनालाई मजबुत बनाउने आधार प्रदेशसभा सदस्य निर्वाचन हो । हामीले विसं २०१५ सालदेखि सांसद् चुन्दै आएका हौँ । पञ्चायती शासनमा पनि निर्दलीय हैसियतका सांसद्हरु छान्यौँ । तर, प्रदेशसभा सदस्य पहिलोपटक छान्दै छौँ । २०७२ साल असोजमा संविधानसभाले जारी गरेको नेपालको संविधानले तय गरेको संघीय खाका प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै मूर्त रुपमा आउने छ । तर, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकैचोटि हुँदा प्रदेशसभाको चर्चा र भूमिका ओझेलमा परेको छ ।
हामी प्रतिनिधिसभाका उम्मेदवारलाई उपल्लो हैसियत र प्रदेशसभा सदस्यका उम्मेदवारलाई त्योभन्दा कम हैसियतका रुपमा बुझ्न थालेका छौँ । नेपालको संविधानले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई मान्यता दिएको छ । संघीय सरकार बनाउने प्रतिनिधिसभाका सदस्यदेखि प्रदेशसभा र स्थानीय तहका प्रतिनिधि सबैलाई संविधानले समान हैसियत दिएको छ । ती तहमा हामीले सक्षम व्यक्तिहरु चुन्नुपर्छ । सानो–ठूलो हैन, योग्यतावान्हरुलाई मौका दिनुपर्छ । चुनाव हुँदै गर्दा यो पक्षमा हाम्रो ध्यान जान सकेको छैन ।
हाम्रो सोच परम्परागत नै छ । हामीलाई कुन उम्मेदवार वा पार्टीले जित्ला भन्ने खुबै चासो छ । देशमा अहिले गठबन्धनको लहर छ । कम्युनिस्ट पार्टीहरुले वाम गठबन्धन बनाएका छन् । कांग्रेस, राप्रपा, मधेसवादीहरुको लोकतान्त्रिक गठबन्धन छ । चुनावमा फलानो गठबन्धनले जिते देश टाट पल्टन्छ भन्ने एकथरी छन् । त्यस्तै, अर्को गठबन्धनले जिते त लोकतन्त्र नै मासिन्छ भन्ने आरोप–प्रत्यारोप पनि खुबै चलेको छ ।
जनता यिनै कुराका पछाडि छन् । विगतका घटनाक्रमहरुलाई नियाल्दा देशमा केसम्म भएको देखिन्छ भने नेपालमा कांग्रेस, कम्युनिस्ट पटकपटक मिलेका छन् । चिराचिरामा रहेका कम्युनिस्ट पनि कुनै बिन्दुमा मिलेका छन् । कांग्रेससँग कम्युनिस्टको कहिले कुनै एक घटक मिल्छ त कहिले कुनै अर्को घटक । सबै खालका समीकरणहरु हामीले देखे भोगेकै हो । ती गठबन्धन र समीकरणले देशमा केकस्तो प्रभाव पारेको थियो, जान्न र जाँच्न नसक्ने अवस्थामा हामीहरु छैनौँ । तर, हामी नेताकै अतिरञ्जित कुरामा धेरै अलमलिँदै छौँ ।
विगत १०/१२ वर्षयताका उथलपुथलहरु हाम्रो मन–मस्तिष्कमा झट्टै ओझल पर्ने खालका छैनन् । त्यो बेलाको १० वर्षे जनयुद्ध, राजाको प्रत्यक्ष शासन, राजाको कदमविरूद्ध माओवादी र संसद्वादी दलको संयुक्त आन्दोलन, दिल्लीमा भएको १२ बुँदे सहमति, देशमा चलेको आन्दोलनले पाएको सफलता, संसद् पुनःस्थापना, माओवादीसँग शान्ति सम्झौता, अन्तरिम संविधानको प्रबन्ध, धर्मनिरपेक्ष मुलुक । के यी विषय हाम्रा दिमागबाट ओझेल परेका छन् ?
अन्तरिम संविधान जारी भएसँगै सुरू भएको मधेस आन्दोलन, त्यसपछि संविधानमा आएको संघीयताको प्रावधान, पहिलो संविधानसभा सदस्य निर्वाचन, देशमा गणतन्त्रको घोषणा, संविधान नलेखेरै पहिलो संविधानसभाको अवसान । दोस्रो संविधानसभा सदस्य निर्वाचन गराउने सरकार, संविधानसभा गठन भएपछि त्यहाँभित्र देखा परेका रस्साकस्सी, भूकम्पको पीडा र त्यसको व्यवस्थापन, अनि संविधान ल्याउन एकमत भएका मुख्य दल, त्यो सहमतिमा देशमा देखा परेको छिमेकीको असन्तोष, संविधान जारी भएसँगै देशमा उठेको मधेस आन्दोलन, भारतको नाकाबन्दी, चीनतर्फ बढेको हाम्रो कदम र स्थानीय तह निर्वाचनका बेलाका घटना तथा परिघटनाहरुसम्मलाई याद गर्न सबै नेपालीले सक्छ । हो, यस्ता घटना तथा परिघटनाले देशलाई के दिए ? यसमा कसको भूमिका कस्तो रह्यो ? हामीले हेर्ने भनेको यही हो । यसैका आधारमा पार्टी र व्यक्ति छनोट गरेर छाप लगाउने निधो गरे राम्रो हुन्छ ।
तर, अहिले नेताले भनेका भाषणमा भर परेका छौँ, जसका कारण हामी पूरै अलमलमा छौँ । उनीहरुको कुराले लाग्दछ, नेपालका दल एकअर्कामा कहिल्यै मिलेका थिएनन् । उनीहरुका कुराले लाग्छ, देश हिजो समस्यामा कुनै एक पक्षका कारण मात्रै थियो । उनीहरुका कुराले लाग्छ, देशले कुनै एक पक्षको सक्रियताले मात्रै निकास पाएको थियो । यी सब कुरा फट्याइँ हो भन्ने थाहा पाउन माथि उल्लेख भएका १०÷१५ वर्षयताका घटनाक्रममा घोत्लिने हो भने पनि प्रस्ट हुन्छ । इतिहाससम्म पुग्न पनि पर्दैन ।
हो, अब हामी यिनै घटनाक्रमहरुमा घोत्लिएर पार्टी र उम्मेदवारहरुको विवेचना गरौँ । हाम्रा माझमा उठेका धेरै उम्मेदवारहरुले पूर्वविधायकको हैसियतसमेत बनाएका छन् । उनीहरुले के गर्छु भनेका थिए, के–के गरे ? यसतर्फ ध्यान दिऊँ । हिजो कसको केकति मत थियो भनेर जित–हारको आँकलन गर्दै समय बिताउनेतर्फ नलागौँ । व्यक्ति र पार्टीलाई उसको भूमिकाका आधारमा चुन्ने काम गरौँ । अब चुन्ने अवसर पाँच वर्षपछि मात्रै आउने छ ।
अहिले कुन पार्टी र कुन उम्मेदवार बलियो भन्नेतर्फ नलागौँ । मैदानमा आएका सबैको हैसियत एकै हो । बलिया त मतदाता हुन्, तर उनीहरु विवेकी नभए त्यो बलको कुनै अर्थ रहँदैन । मतदाता विवेकी नभए लोकतन्त्र पनि फस्टाउँदैन । मतदाताको भूमिका विश्लेषणसहित व्यक्ति चुन्ने र परिणामका लागि धैर्यता राख्ने हो, मतदानअघि नै विजेता घोषणा गर्ने होइन ।

Comments

About the author

चितवन पोष्ट