गृह » आचारसंहिता तोड्दै दलहरु, विद्यालयको खेलमैदानमा वाम गठबन्धनको सभा 
प्रमुख समाचार राजनीति

आचारसंहिता तोड्दै दलहरु, विद्यालयको खेलमैदानमा वाम गठबन्धनको सभा 

विद्यालय खेल मैदानमा सहभागी हुँदै प्रचण्ड ।

 

दिपेन्द्र अधिकारी
भरतपुर । निर्वाचन आचारसंहिता विपरित चितवनमा दलहरु चुनावी प्रचारमा जुटेका छन् । प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरु मत माग्न व्यस्त रहँदा आचारसंहिताको भने बेवास्ता गरेका छन् ।
शुक्रबार भरतपुर– ९ स्थित सिर्जना इग्लिस बोर्डिङ स्कुलको खेलमैदान प्रयोग गरी वाम गठबन्धनले चुनावी प्रचारसभा गरेको छ । जुन आचारसंहिता विपरित हो । ‘विद्यालय क्षेत्र प्रयोग गर्न पाइँदैन’, चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले भने, ‘के गर्दा आचारसंहिता उलंघन हुने र नहुने भन्ने स्पष्ट व्यवस्था भएकाले दलहरुलाई चुनावी कार्यक्रममा आचारसंहिता ख्याल गरेर अघि बढ्न आग्रह गर्छु ।’
विद्यालयका प्रिन्सिपल नारायण गौतमले बिहीबार मौखिक जानकारी गराएर शुक्रबार सभा गरिएको बताए । सभाका कारण सामान्यरुपमा पढाइ प्रभावित भए पनि विद्यालय क्षेत्र प्रयोग गर्न नहुने विधि विपरित दलहरुले प्रयोग गरेकोमा दुःख व्यक्त गरे । ‘विद्यालयको आडमै रहेको त्यस स्थानमा हाम्रा विद्यार्थीहरु खेल्ने गर्छन्’, उनले भने ।
आचारसंहिता उलंघनका घटना भए नभएको बारे कार्यालयमा मौखिक, लिखित कुनै पनि माध्यमबाट हालसम्म कुनै उजुरी नपरेको निर्वाचन अधिकृत शर्माले बताए । साथै उनले आचारसंहिता विपरित कोही कसैले केही गतिविधि गरेमा आफ्नो नाम गोप्य राखेर पनि उजुरी दिन सक्ने व्यवस्था रहेको बताए ।
उलङ्घन धेरै
दलहरुले चुनाव प्रचारप्रसारको क्रममा स्पिकर प्रयोग गरेका छन् । आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको परिच्छेद २ (क) १२ नम्बर बँुदामा आमसभा गरेकोे स्थल र समय बाहेक अन्य स्थल र समयमा माइक तथा लाउड स्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने भन्ने उल्लेख छ ।
यसको विपरित उनीहरुले ठूला ध्वनी उत्पादक उपकरण प्रयोग गरेका छन् । त्यस्तै प्रचारप्रसारमा निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा चार चारपाङ्ग्रे हलुका सवारी साधन र बढीमा चार मोटरसाइकल प्रयोग गर्न पाउनेमा आचारसंहिता विपरित उम्मेदवारले प्रचारका लागि गाडीको अनुमति नै लिएका छैनन् । त्यस्तै प्रचारमा आचारसंहितामा तोकिएको भन्दा धेरै नै गाडी प्रयोग हुने गरेका छन् ।

Comments

About the author

चितवन पोष्ट