गृह » रत्ननगरमा पूर्वी चितवन महोत्सव सुरू आर्थिक विकासका लागि महोत्सव फलदायी हुने
अर्थ समाचार समाज

रत्ननगरमा पूर्वी चितवन महोत्सव सुरू आर्थिक विकासका लागि महोत्सव फलदायी हुने

होमनाथ सापकोटा
रत्ननगर । रत्ननगरमा शुक्रबारदेखि पूर्वी चितवन महोत्सव सुरू भएको छ ।
रत्ननगर जेसीजले आयोजना गरेको सो महोत्सवको नेपालका प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले जनतालाई उद्यामशील बनाउन महोत्सव सफल हुने बताए । जनताहरु उद्यमशील भए मात्र मुलुकमा आर्थिक विकास हुने भन्दै उनले उत्पादनशील कार्यमा लागि गर्न सबैलाई आग्रह गरे । ठाउँठाउँमा हुने मेला महोत्सवले जनतालाई उद्यमशील बनाउन पे्ररित गर्ने भन्दै कलाकर श्रेष्ठले पूर्वी चितवन महोत्सव पनि त्यसतर्फ अग्रसर हुनुपर्ने बताए ।
कृषिजन्य स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव कोसेढुंगा सावित हुने उनको भनाइ छ । ‘तपाइँहरुले १० दिनसम्म मेला गर्दा ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तुहरुको खरिद बिक्री हुन्छ’ उनले भने, ‘त्यसले स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा पनि सहयोग मिल्छ ।’ राजनीतिले मुलुकको विकास गर्न नसकेको भन्दै उनले अब आर्थिक गतिविधि गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए । कार्यक्रममा रत्ननगर नगरपालिकामा मेयर नारायण वनले महोत्सव मान्छे जम्मा गर्ने थलो मात्र नभई त्यसले खास अर्थ राख्नुपर्ने बताए । महोत्सवले कला, संस्कृति र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
‘मान्छे जम्मा गर्न मात्र गरिएको महोत्सवको खास अर्थ हुदैन’ उनले भने, ‘त्यसले निश्चित विषयमा केही न केही छाप छोड्ने हुनुपर्छ ।’ उनले पूर्वी चितवन महोत्सवले समग्र पूर्वी चितवनको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवका संयोजक निरज श्रेष्ठले समग्र पूर्वी चितवनको आर्थिक विकासका लागि महोत्सव आयोजना गरिएको बताए । ‘चारलेन सडक निर्माणको कामले विगत दुई वर्षदेखि टाँडी बजार सुस्ताएको छ’ उनले भने, ‘बजार नजिकै महोत्सव गरेर टाँडी बजारमा चहलपहल गराउन खोजिएको हो ।’ ‘दुई वर्ष यता यहाँका बासिन्दाले टाँडी बजारको विकल्प खोज्न थालेका छन्’ महोत्सव संयोजक श्रेष्ठले भने, ‘टाँडी बजारलाई पुरानै अवस्थामा फर्काउन पनि महोत्सव सफल हुनेछ ।’ उनले यस क्षेत्रको कृषि र पर्यटन विकासको लागि पनि महोत्सव कोसेढुंगा सावित हुने बताए ।
कृषिको विकासको लागि स्थानीय उत्पादनको खरिद बिक्री र प्रदर्शन तथा पर्यटन विकासको लागि सौराहामा पर्यटक लैजाने र कुमरोज वनमा जीप सफारीको व्यवस्था मिलाइएको संयोजक श्रेष्ठले बताए । कृषि, पयर्टन र संस्कृति संरक्षणको लागि महोत्सव उपलब्धिपूर्ण हुने उनको भनाइ छ । ‘हामीले महोत्सव गरेर पैसा कमाउन खोजेका होइनौं’ उनले भने, ‘सडककै कारण सुस्ताएको सौराहाको पर्यटन र टाँडी बजारको प्रवद्र्धन गर्न खोजेका हौं ।’ कार्यक्रममा पूर्वी चितवनको विकासका लागि महत्वपूर्ण भूमिका खेलेका ६ जना सामाजिक व्यक्तित्वहरुलाई मरणोपरान्त स्मृति सम्मान गरिएको छ ।
उद्घाटन कार्यक्रममा कला संस्कृतिको विकासमा योगदान गर्ने जगतकृष्ण प्रजापति, व्यवसायिक विकासको लागि योगदान गर्ने भवदत्त अधिकारी, वातावरण संरक्षणमा योगदान गर्ने पुष्पराज सुवेदी, शिक्षाको विकासमा योगदान दिने गुणराज पाठक, सामाजिक व्यक्तित्व नथुराम महतो र सामाजिक रुपान्तरणको क्षेत्रमा कामगर्ने किशोरचन्द्र ढुंगानालाई सम्मान गरिएको रत्ननगर जेसीजका महासचिव सुवास पोखरेलले जानकारी दिए ।
पूर्वी चितवनको आर्थिक विकास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा २२७ वटा स्टल रहेका छन् । नेपाल विद्युत् प्राधिकरण टाँडी नजिकैको खाली जग्गामा सुरू भएको महोत्सव विवाह विशेष भएकाले ५० वटा विवाह र जनचेतना तथा १७७ वटा व्यवसायिक स्टल छन् ।
महोत्सवमा बाल उद्यानसँगै राष्ट्रिय तथा स्थानीय औद्योगिक एवम् व्यापारिक प्रतिष्ठान र जनचेतना तथा विवाहका स्टलहरु रहेका छन् । कृषिको प्रवद्र्धनको लागि महोत्सव परिसरमै माछाको पोखरी निर्माण गरी जिउदो माछा बिक्री गर्ने व्यवस्था मिलाइएको छ । स्थानीयस्तरमा आर्थिक विकास गर्ने, स्थानीय उत्पादनको पहिचान गरी प्रवद्र्धन गर्ने, व्यवसायिक अवसरको पहिचान र विकास गर्ने, अस्तव्यस्त अवस्थामा रहेको टाँडी बजारको व्यवसायिक चहल पहलमा वृद्धि गर्ने विवाह संस्कृति र समारोहमा देखिएका विकृतिलाई निरुत्साहित गर्न महोत्सव आयोजना गरिएको रत्ननगर जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्यले बताए ।
महोत्सव विवाह विशेष भएकाले महोत्सव परिसरमा विवाहमण्डव निर्माण गरिएको छ । महोत्सव अवधिभर विवाहको ५० औं वर्षगाठ पूरा भएका पूर्वी चितवनका विशिष्ट जोडीलाई आदर्श जोडीका रुपमा सम्मान गर्ने कार्यक्रम रहेको छ । महोत्सवअन्तर्गत बाल विवाह र यसको रोकथामको विषयमा वक्तृत्वकला, व्युटीपार्लर, रत्यौली र खुल्ला मेहन्दी प्रतियोगिता गरिने छ ।
त्यसैगरी दुलही श्रृङ्गार, जिल्लास्तरीय तेक्वान्दो, डोरी तान्ने र विद्यालयस्तरीय नृत्य प्रतियोगितासमेत महोत्सव अवधिभर हुनेछ । पर्यटन प्रवद्र्धनको लागि बिसहजारी ताल अवलोकन, कुमरोज वनमा जिप सफारी र २०७४ सालमा विवाह गरेका नवविवाहित जोडीलाई सौराहाका निश्चित होटलमा खाना र आवासमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जेसीजका अध्यक्ष आचार्यले बताए । १० दिनसम्म चल्ने सो महोत्सवमा राष्ट्रिय कलाकारहरु इन्दिरा जोशी, मनोज गजुरेल, भूमिका गिरी, पशुपति शर्मा, शीतल शर्मा, रोमा न्यौपाने, शिव परियार, सुजता पाण्डे, ज्योति मगर, दिनेश काप्mले, दुर्गेश थापा, विनिता शाहीको प्रस्तुति रहनेछ । महोत्सव सुरू हुनु पूर्व बिहान रत्ननगरको निपनीचोकबाट शोभायात्रा निकालिएको थियो ।

लोकतन्त्रले हार्नु हुदैन : मदनकृष्ण 
रत्ननगर । प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले निर्वाचन जनसुकै पार्टीेले जिते पनि लोकतन्त्रले हार्न नहुने तर्क गरेका छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई इंकित गर्दै कलाकार श्रेष्ठले जुनजुकै राजनीतिक दलले चुनाव जिते पनि लोकतन्त्रले हार्न नहुने उनले बताए । पूर्वी चितवन महोत्सव उद्घाटन कार्यक्रममा उनले भने, ‘लोकतन्त्रले हा¥यो भने जनताले हार्छन्’, देशले हार्छ । ‘निर्वाचन आउदैछ, राजनीतिक दल जुन कसैले जितोस् तर लोकतन्त्र हार्नु हँुदैन’ उनले भने, ‘लोकतन्त्र जनताको शक्ति हो, यसले हा¥यो भने देशले हार्छ । ‘बन्द, हडताल, चक्काजाम, नाकाबन्दी जस्ता नकारात्मक कुराहरु हामीले हे¥यौं’ कलाकार श्रेष्ठले भने, ‘अब नेपाल समृद्ध र आर्थिक उन्नति भएको हेर्ने दिन आएको छ । उनले यसतर्फ सचेत हुन दलहरुलाई आग्रह गरे ।’

Comments

About the author

चितवन पोष्ट