गृह » द्वन्द्वपीडितका लागि भरतपुर अस्पतालको सुविधा सहज बनाइँदै
समाचार समाज स्वास्थ्य

द्वन्द्वपीडितका लागि भरतपुर अस्पतालको सुविधा सहज बनाइँदै

भरतपुर । द्वन्द्व तथा हिंसापीडितका लागि भरतपुर अस्पतालमा दिइने सेवा सुविधालाई सहज बनाइने भएको छ ।
शान्ति तथा पूनण्र्निर्माण मन्त्रालयअन्तर्गतको शान्तिकोष सचिवालयको सहयोगमा सेवा सुविधासहितको प्याकेज ल्याउन लागिएको भरतपुर अस्पतालले जनाएको छ । यो विषयमा शान्तिकोष सचिवालयसँग भरतपुर अस्पतालले सम्झौता गरिसकेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रूद्रप्रसाद मरासिनी र कोषकातर्फबाट कार्यकारी निर्देशक हरिप्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । द्वन्द्व र हिंसा प्रभावितहरूको लागि उपचारसँगै अति विशिष्ट सेवालाई थप विस्तार गरिने अस्पतालका मेसु डा मरासिनीले बताए । यसले गर्दा द्वन्द्व प्रभावितसँगै आमनागरिकलाई पनि थप सुविधा हुने उनले बताए ।
भरतपुर अस्पतालका अनुसार द्वन्द्व र हिंसा प्रभावित तथा घाइते र अपाङ्गता भएकाहरूलाई अति विशिष्ट सेवा प्रदान गरिने छ । न्युरो सर्जरी, हार्डजोर्नी, स्पाइनल इन्जुरीलगायतका सेवासुविधाका लागि उपकरण ल्याउन शान्तिकोष सचिवालयले आर्थिक सहयोग गर्न लागेको हो ।
त्यस्तै अस्पतालमा स्तन क्यान्सर परीक्षणका लागि प्रयोग हुने मेमोग्राफी मेसिन पनि ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ । यसले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने भरतपुर अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए ।

 

Comments

About the author

चितवन पोष्ट