गृह » भरतपुर–९ ले प्रचण्डसामु फुकाए समस्याको पोको
राजनीति समाचार समाज

भरतपुर–९ ले प्रचण्डसामु फुकाए समस्याको पोको

किशोर खनाल
भरतपुर । चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भरतपुर–९ का स्थानीयले आफ्नो वडाको समस्याको बेलिविस्तार लगाएका छन् ।
वाम गठबन्धनले शुक्रबार भरतपुर–९ शरदपुरका विभिन्न टोलमा प्रचण्डसहितको घरदैलो अभियान चलाएको थियो । घरदैलो अभियानमा प्रचण्डलाई स्थानीयले भएभरको गुनासो सुनाएका थिए । भरतपुर–९ कोे सिर्जना टोलबाट प्रचण्डले घरदैलो अभियान सुरू गरेका थिए । ¥यालीसहित घरदैलोमा पुगेका प्रचण्डलाई त्यहाँको मतदाताहरुले समस्याको पोका नै फुकाउन भ्याए ।
कतिपय मतदाताको घरमै पुगेर प्रचण्डले गुनासो सुनेका थिए । कति ठाउँमा गाडीबाट हात हल्लाएर उनले वडाबासीको आशीर्वाद लिएका थिए । घरदैलोमा पुगेका मतदाताहरुले उनलाई सडक कालोपत्रे नभएको र भएका कालोपत्रे सडकहरु पनि भत्केर बिजोग भएको गुनासो गरेका थिए ।
भरतपुर–९ सिर्जना टोलकी मोतीमाया गुर्सेनीले प्रचण्डसामु आफ्नो समस्या राख्न भ्याइन् । प्रचण्डले उनको फोन नम्बर लिएर समस्या हल गर्ने वचन दिएका थिए । सोही वडामा रहेका दराई टोलका मतदाताहरुले प्रचण्डलाई सुकुमबासी समस्या हल नभएको गुनासो गरेका थिए । मतदाताहरुको जवाफमा उनले अब बन्ने वाम गठबन्धनको बलियो सरकारले यो समस्या हल गर्ने बताए ।
घरदैलोमा कतिपय ठाउँमा धेरै वृद्धवृद्धा आमा तथा महिला दिदीबहिनीहरुको भीडमा प्रचण्ड हराएका थिए । धेरै महिला दिदीबहिनीहरुले उनीसँगै बसेर सेल्फी पनि लिएका थिए । गोद्राङ, मित्रचोक र धारेचोकका बासिन्दाले उनलाई कालोपत्रे भत्केको गुनासो गरेका थिए । जवाफमा प्रचण्डले कालोपत्रेको काम सम्पन्न गर्न कुनै आइतबार पर्खन नपर्ने बताएका थिए ।
मतदाताहरुले भरतपुरको केन्द्रीय बसपार्कलाई व्यवस्थित गर्न प्रचण्डलाई अनुरोध गरेका थिए । वाम गठबन्धनको सरकार बनेपछि यी समस्यालाई तत्काल समाधान गर्छु भनेर मतदाताहरुको चित्त बुझाए । ‘मतदाताहरुले मलाई महानगरपालिकाबाट गर्न सक्ने समस्या बढी देखाए, यी समस्या तत्काल समाधान गर्न मैले निर्देशन दिन्छु’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।
धेरै मतदाता समक्ष प्रचण्डले एउटै कुरा बोलेका थिए । ‘मैले जित्ने धेरै ठाउँहरु थिए, चितवनको विकासको लागि यहाँ आएको हुँ’ उनले भने । उनले चितवनको सचेत मतले चितवनलाई नै समृद्ध बनाउने बताए ।
गोन्द्राङकी ८५ वर्षकी वृद्धा आमाले प्रधानमन्त्री भएर विकास गर्नु है भन्दा प्रचण्डले भनेका थिए, ‘दुई पटक भएँ आमा, अब तेस्रो पटक पनि हुन्छु । तपाइँको आशिर्वाद मलाई लाग्छ ।’
धेरै वृद्ध आमाबुबाहरुले उनलाई घरदैलोमा विकास गर्नु भन्ने सन्देश दिएका थिए । जवाफमा उनले भनेका थिए, ‘विकास गर्नै आएको हो, मलाई यहाँसम्म तपाइँहरुले नै पु¥याउनुभएको हो ।’ घरदैलोपछि भएको सभामा प्रचण्डले चितवनलाई विकसित जिल्लाको रुपमा उभ्याउने बताए । उनले भने, ‘७० वर्षदेखिको अस्थिर सरकारलाई हटाएर स्थिर सरकार बनाउन गठबन्धन भएको र यसले मात्र देशलाई कायापलट पार्न सक्छ ।’

Comments

About the author

चितवन पोष्ट