गृह » ‘मायालु हुम्ला’ : नियात्रा साहित्यमा उल्लेखनीय प्राप्ति
साहित्य

‘मायालु हुम्ला’ : नियात्रा साहित्यमा उल्लेखनीय प्राप्ति

— पेशल आचार्य
espeshal2023@gmail.com

प्रस्तावना :
चरैवेति । चरैवेति ।
वेदले बौद्धिक र कलमका कालिगडी मनुवालाई यात्राका लागि ऊर्जा दिन यसो भनेको होला ? हुन पनि संसारै यायावरीय शैलीमा अर्पित भएको हो । यदि एसियाको मानिस अफ्रिका जाँदैनथ्यो भने उसले ‘कालो हीरा’ को प्रचार गर्दैनथ्यो । त्यसैगरी, युरोपको मानिस हिमालयका सिकन्जामा आँउदैनथे भने हाम्रोजस्तो हिमाली राज्यको यतिबिघ्न प्रचार हुने थिएनन् ।
आफूमा भएको अरले देख्ने रहेछन् । अरुमा भएको हामीले देख्ने रहेछौँ । आफूमा भएको राम्रो र सुधार गर्नुपर्ने कुरालाई आफ्ना मानिसले नदेख्ने सायद् प्रेम र ममत्वका कारणले नै त्यसो भएको हुनुपर्छ । वैपरित्य चाहनाले नै सभ्यताको सोपान लम्बिन्छ अनि दम्भको हुङ्कारमय सिङलाई मुठार्ने ऐलान गर्छ । खलाँती खाली भएकाहरु नै दिमाग रिङुन्जेल संसार घुमेका छन् । पुष्कर शाहलाई उनको यात्रा श्रीगणेश भएको केही दिनमै पत्रिकामा एउटा उपबुज्रुक पत्रकारले लेखिदियो –‘पैसा न कौडी विश्व विश्व दौडी ।’
कम्ती चिसो प¥यो होला उनलाई । बरा ! यो आलेखको लेखकलाई त कतिदिन पित्तको तीतो मुखमा आइरह्यो । संसार बतौराहरुको मात्र होइन रहेछ, यी संकथन सुसाङ्ख्यमा टाइप गरून्जेल पुष्कर संसार घुमेर सगरमाथाको सानसँग आरोहण सकी आफूले भोगेका भुक्तमानहरुलाई किताबका पानामा सजाएर सानको जिन्दगी बिताइरहेका होलान् कतै ।
सम्पर्क भए फोन गरेर बधाई दिन मन नलागेको कहाँ हो र ?
जब्बरे दिलका चिनियाँ हु एन साङ दोपाये यात्री नभएका हुँदा हुन त उनका तर्फबाट मेदिनी यात्राको पुराणवाचन गरिने थिएन होला । भास्को डिगामा र क्रिस्टोफर कोलम्बसले पनि जोखिम मोलेरै यात्राका तरेलीहरु पार गरेरै आफूलाई दिग्दिगन्तमय बनाएका छन् । पुष्करले आमाको सारीको सप्कोको जाबो एक सय रूपैयाँको दुमुबाट ‘संसारलाई साढे पाँच फन्को’ लगाई साइकल यात्रीको इतिहास जो रम्य बनाए । मिथक बनेका छन् अन्य ज्यास्ती निडर र पराक्रमी पथिकहरु– आआफ्ना गन्तव्यका क्षेत्रोपक्षेत्र एवम् संकथनहरुमा । बेधड्क कुद्नुमा जति मजा छ नि फुकीफुकी पाइला चाल्नुमा कुनै सानन्द मिल्दैन । भ्रमणका कुलदीपकहरु आज यो भवसागरका छेउकुनामा फेरो मारिरहेका हुन्छन् । हामी नेपालीहरु अरुबेला घरमा पसारो परेर मङ्सिर ताका दाइँमा घुम्नुबाहेक अरु बेला कसैले प्रायोजक बनेर हौस्याउँदा पनि साइतको दही–अक्षता बोकेर यात्रा गर्न सङ्कोच मान्छौँ ।
बसाहा संस्कृति ।
सरकारले हामीलाई काम मात्रै गर भन्छ । महिनाभरि काम गर । सके टेबलमुनिबाट, नसके टेबलमाथिबाटै तलबी भर्पाईमा सही गरेका दमडीले कहाँ भ्रमणको घृतछाँता हेर्न सकिन्छ र ? घरजग्गा, भार्याका गहना र आमाबाका तीर्थाटनलाई सफलतामा अनुवाद गर्दागर्दा एउटा कर्मचारी सिडियो अफिसको बूढो बैदारले लेख्ने कुच्चिएको कार्बन बनेर बुढिँदो छ । अविकसित देशमा जन्मेर संसार घुम्नुभन्दा सुत्दा घुर्न सजिलो जो भएको छ ।
आँटले घुम्ने मानिसहरु ठाँटले घुम्नेभन्दा धेरै घुमक्कड रै’छन् । फिरन्ता भएर राहुल सांस्कृत्यानले तीन–तीनवटा घरबार जोडे । तर, हिम्मत हारेनन् । मनले घुमाउने रहेछ यो निर्भीक मानसलाई । सामल खाजा र बाटा खर्च भनेकै धृष्टता हुन्, जो सबैसँग उत्तिकै हुन सक्दैनन् ।
अरेबाबा, चराहरु त हनिमुन मनाउन साइबेरियाबाट नेपालका कोसीटप्पु र बिसहजारी ताल आउँछन् अनि बच्चा कोरलेर उतै लैजान्छन् भने मानिसका गोरखधन्दाले किन छेक्छ हँ ! एउटा जिज्ञासु पाइतालालाई घुम्नबाट ?
सानामा आमाहरु भन्नुहुन्थ्यो– यसका पैँतालामा कोठी छन् बाबै । यो संसार घुम्छ । मख्ख पथ्र्यौं हामीहरु । घुटुक्क थुक निल्थ्यौं । घुम्नु भनेको चानचुने रोडम्याप हो र ! यात्राका व्याकरणहरु विनासित्ति घोक्न नपाइँदो रहेछ जीवन नामको बीजगणितमा । कसैकसैलाई भावीले जन्मिँदै धरणीको फन्का मार्ने भाग्य लेखिदिँदो रहेछ, छैँटीमा ।
घुमन्ते नियात्राकार दामोदर पुडासैनीको ‘यात्रा सिभि’ लाई हेर्दा जोकोही नेपालीलाई आरिस पनि हुन्छ । अझ निजामती कर्मचारीले त उनका पछाडि कुरा नै काट्छन् होलान् ! लाग्छ, उनी रगरगी हिँड्न नै जन्मेका हुन् । या, घुम्दाघुम्दै जन्मिएका पो हुन् कि ?
उनीभित्रको लेखकचाहिँ पक्कै घुम्दाघुम्दै उम्दो भएको हुनुपर्छ । मेरो ठनाइ हो ।
विषय प्रवेश :
मलाई सशरीर पहिलो भेट हुँदै ‘किशोर’ ले प्रभाव पारेका थिए । यहाँनेर विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा किशोर भनेका दामोदर पुडासैनी किशोर (विसं २०१९) हुन् । उनी उमेरले करिब आधा शताब्दी नाघिसकेका व्यक्ति हुन् । एक मनले त म रनभुल्ल भएको थिएँ । किन यिनले किशोर ‘निकनेम’ रोजेका होलान् । के मानिस सधैँ किशोर रहन सक्छ ? वय सन्धिका हिसाबले त यिनी अब प्रौढोन्मुख जँच्न थालेका लेखक लेखन र चिन्तनका हिसाबले झन्झन् झर्भmराउँदा किशोरमय लाग्न थालेका भने पक्कै हुन् । यतिखेर यिनीसँग आरिस ? गर्नैपर्ने विषयातिरेक भनेकै यही हो ।
किशोर प्रत्येक वर्ष एक–दुई मौलिक साहित्यिक कृतिहरु भटाभट लेखिरहेका छन् र प्रकाशित पनि गरिरहेका छन् । क्रियाशील लेखकको चिनारी भनेकै पत्रपत्रिकामा फुटकर र पुस्तकाकार रुपमा कृति निकालेर पाठक र समालोचकका समाजमा आफ्नो उपस्थिति राख्नु हो । दामोदरले यो उपस्थिति यतिबेला ‘मायालु हुम्ला’ नामक नियात्राबाट पनि गरेका छन् । यो मेरा लागि मात्र नभएर नेपाली नियात्रा साहित्य पठनमा लागेका मुमुक्षुहरुका लागि पनि खुसीको सन्दर्भ हो ।
तीसको दशकदेखि साहित्यमा वेगमयी पाइला चालेका किशोर यतिखेर भने वाङ्मयको राजमार्गमा राम्रैसँग दौडेका रहेछन्, जुन कुरा प्रस्तुत गर्न पाउनु हाम्रा लागि खुसीको कुरा हो । मूलतः नियात्राकारको परिचय बनाएका किशोर शैलीगत र विषयगत नवीनताका साथ सिर्जनकर्ममा साधनारत छन् । वाणिज्यशास्त्र र जनप्रशासन गरी दुई–दुई विषयमा स्नातकोत्तर उपाधि हासिल गर्ने पुडासैनीका रचनाहरुले जीवन–जगत्लाई केही मिहिन र थप बेग्लै प्रकारले अन्वेषण गर्ने तथा नवोन्मेष जीवनका नवीन मार्गहरु प्रतिस्थापित गर्ने काम अनवरत रुपमा गर्दै आएका छन् । योचाहिँ पक्कै हो ।
महालेखा परीक्षकको कार्यालयमा निर्देशकका रुपमा कार्यरत दामोदर पुडासैनी किशोरले नेपालका बहत्तर जिल्लाहरु र विदेशमा एसिया, युरोप, अमेरिका र अफ्रिकाका प्रायः मुलुकहरुको नियात्राजन्य सार्थक भ्रमण गरेका छन् ।
सरकारी आदेश तामेलीकै खातिर गरिएका यिनका परिभ्रमणहरु नियात्रामा उत्फुल्ल रुपले सजिएर मगमगाउनु चानचुने व्यसन होइन ।
दामोदरका ‘आफन्तका अनुहारहरु’, ‘आँखाको खोजीमा’, ‘आलोकित आयाम’, ‘आकारको खोजीमा’ र ‘समयको सहीछाप’ जस्ता पाँच थान कवितासङ्ग्रह र ‘यात्राका प्रेमिल तरङ्गहरु’ र ‘नमेटिएका चित्रहरु’ जस्ता नियात्रा कृतिहरु पाठकले निकै रूचाइएका पुस्तकहरु हुन् । यी पुस्तकहरुका अलावा उनी सामयिक रुपमा पनि सक्रिय भएर शततः लेख तथा रचनाहरु अनि कविता समसामयिक नेपाली पत्रपत्रिकाहरुमा लेखिरहन्छन् । यो यिनको सक्रियताको प्रमाण हो ।
सक्रियता लेखकको मेखाला हो ।
‘मायालु हुम्ला’ को अन्तर्य :
नेपालीमा यात्रासाहित्यको लहरो तान्दै जाने हो भने निकै लामो हुन्छ । ‘राजा गगनीराजको यात्रा’ अहिलेसम्मकै यात्रा साहित्यको जनक हो । त्यसपछि आउँछ, अमूक लेखकद्वारा लेखिएको ‘जङ्गबहादुरको बेलायत यात्रा’ । आधुनिक साहित्यको कालखण्डमा भने डा. तारानाथ शर्माद्वारा लेखिएको ‘बेलायततिर बरालिँदा’ (२०२६) नामक पुस्तकको भूमिकामा नेपाली साहित्यकै अर्का स्वनामधन्य लेखक तथा भाषाशास्त्री बालकृष्ण पोखरेलले ‘नियात्रा’ शब्दको प्रयोग गरेको प्रसङ्ग । यात्रासंस्मरणका लागि मदन पुरस्कारसमेतले सम्मानित ‘बेलायततिर बरालिँदा’ पुस्तकले नेपाली साहित्यमा नियात्रा लेख्ने नूतन लेखकहरुका लागि सगर्व बाटो खोलिदिएको भने पक्कै हो ।
दामोदरद्वारा लेखिएका ‘यात्राका प्रेमिल तरङ्गहरु’ र ‘नमेटिएका चित्रहरु’ जस्ता पुस्तकले नेपाली नियात्रा साहित्यको इतिहासमा एउटा गर्विलो मानक नै कायम नगरेका होइनन् ।
‘मायालु हुम्ला’ नेपाली नियात्रा साहित्यको बेग्लै मानक बोकेको कृति हो । यसमा हिमाली भूगोल र त्यसले जीवनमा उभ्याएका समय र सन्दर्भहरुलाई अत्यन्त रूचिकर ढङ्गले अभिव्यक्ति दिएको छ । हिमाली वैभवभित्र पनि कठोर सङ्घर्षपूर्ण जीवन र स्वर्णिम दुरूहता घोलेरै एक बारको जुनीमा पनि हाँसिरहेका मान्छेहरु भेटिन्छन्, उनको यस कृतिभित्र । मान्छेको आदिम अनुहार र वर्तमानमा उसले भोगिरहेको पीडाको चङ्गुल ‘मायालु हुम्ला’ नामक कृतिले ओकलेको छ । सुललित शब्दविन्यास, मधुर ध्वनिपूर्ण कवितामय शैली र निख्खर ‘पुटिङ’ नगरेका शिल्पका कारण ‘मायालु हुम्ला’ नामक नियात्राको कृति पाठकहरुले पढ्न आरम्भ गरेपछि पढी नसिध्याई छाड्न मान्दैनन् । यो यस कृतिको वैशिष्ट्यता हो ।
घुम्न सबैले सक्छन्, तर घुमेका स्थानलाई रम्य रुपले चित्रण गर्नु जोकसैको वशको कुरो होइन । किताब पढ्दा सोही अनुभूत हुन्छ ।
संसारको सार यात्रा हो । यात्राले मस्तिष्कलाई परिष्कृत गर्छ ।
निजामती संसारमा कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट एक हिसाबले परिहासात्मक प्रतीकमा काम गर्ने बिम्बात्मक सुदूर एवम् विकट भूगोलहरुका प्रतिछाया हुन् । उपल्लो तहको कर्मचारीले तल्लो तहको कर्मचारीलाई मानसिक रुपमा डर देखाउने मिथ उपरोक्त लिखित जिल्लाहरुमा मध्ये पनि हुम्ला, जुम्लाको नाम निकै शेरगुलका साथ खिलेका हुन्छन् । मन्त्रालयले देशीय सरहदभित्रै रहेर पनि एक प्रकारले छोइछिटो मान्ने जो ऐजन ऐजन मानसिकता बनाएको छ, तिनीहरुलाई जोजो हुम्ला या जुम्ला जान्छन् ती र तिनीहरु एकप्रकारले तत्कालीन रुसले आफ्ना जारकालीन विरोधीहरुलाई साइबेरिया पठाएजस्तै ठान्छन् । आफूलाई पराया र सौताका छोराछोरीझैँ मान्छन्, निजामती वृत्तमा । जसले हुम्ला, जुम्लाको प्राकृतिक छटामा पन्पेर नैरन्तर अधरमा अकण्टक रसपान गरेको छ, जसलाई त्यहाँको संस्कृतिले फिदामय लठ्ठ पारेको छ अनि त्यहाँ भए गरेका जडीबुटी वृत्तिले मुहुनी लगाएको छ त्यो व्यक्ति एकफेर हुम्ला, जुम्ला गयो भने खोलेमा पल्केको कुकुरको छाउरो झैँ फेरिफेरि गम्न चाहन्छ । निरीह भूगोललाई शासकले बलात अगम्य बनाइदिए ।
तर, नेपालको निजामती संस्कृतिले आफूलाई स्थायी सरकार त ठानेको छ नै, साथै आफूलाई देश विकासको मसिहा पनि मानेको छ । पकड भएकाहरु कागजमा कर्मचारी बनेर हुम्ला, जुम्ला जान्छन् अनि टिएडिए पड्काएर नेपालगन्जै नदेखी काजगमै फर्कन्छन् । यस्तो छ नेपालको कर्मचारी सरूवाको ‘लिगेसी’ । सिन्डिकेटमा चलेको छ, मेरो देश । ठेक्कामा गरिएको छ राजनीति । यो देश प्रकृतिले दिएको तर नेताले बिगारेको मुलुक हो । यत्ति भन्न अब कुनै आइतबार कुरिरहनु पर्दैन । यो वृत्ति अब नेपालमा धेरै समय टिक्नेवाला पनि छैन, किनकि भर्जिन हुम्ला–जुम्लाका भर्जिनिटी यातायात र सञ्चारले विगतका केही वर्षहरुमा तोडिसकेका छन् । तैपनि, अगम्य छ सबै नेपालीका लागि हुम्ला, जुम्ला ।
‘डोल्पाकी छोटी’ पढिएको थियो निकै वर्षअघि । सायद् त्यो कविवर भरतराज शर्मा मन्थलीयको खण्डकाव्य थियो । ‘घाम पानीको छापबिँदो’ र ‘हुम्ला बोल्छ मानसरोबरमा’ जस्ता नियात्रा साहित्यका पुस्तकका लेखक देवीचन्द्र श्रेष्ठले बैङ्कको जागिरे भएर पनि धेरैपटक हुम्ला, जुम्लाको परिभ्रमण गरी नियात्रा पस्केका हुन् । हुम्ला बोल्छ मानसरोबरमा नियात्रा त अझै स्नातक तहको पाठ्यक्रममा पनि समावेश छ ।
विद्यार्थीहरु पढ्छन् अझै ।
किशोर निजामती साहित्यकार हुन् । उनको सकारात्मक सोचको प्रवृत्ति सरकारी भ्रमणमा पनि नेपाली साहित्यले थोरबहुत केही पाओस् भन्ने खालको छ । त्यसैले, यिनले जहाँ जाँदा पनि केही न केही साहित्यिक कोसेली आफ्ना साहित्यिक स्वजनहरुका लागि लेराएका छन् । आमाले हाटबाट सौदा ल्याउँदाखेरि आफ्ना सन्तानका लागि मायाको आँचलमा पोको पारेर मिठाई, नरिवल र मिश्री ल्याएझैँ ।
यायावरीय शैलीमा लेखिएका यिनको यो पुस्तकभित्रका सबैजसो नियात्राले हुम्लेली दुःखका कहिरन हालेका छन्, अनि ती सकसपूर्ण कहरहरुलाई आफ्नो लेखकीय अनुभवको चास्नीमा चोबलेर सुधारका लागि सुझाव दिने यत्न पनि गरेका छन् ।
‘कस्ती होलिन् हँ हुम्ला ?’ नामक लेखबाट श्रीगणेश गरिएको ‘मायालु हुम्ला’ को विषयवस्तु २०६५ भाद्र १३ मा ताज होटल, नेपालगन्जमा बसेर लेखिएको छ । त्यसैगरी, १८ वटा रचनाहरुको बिट मार्ने क्रममा ‘सोचेजस्तो होइन जीवन’ २०६५ असोज ११ मा राँझा, नेपालगन्जमै बसेर लेखिएको छ । नियात्रा साहित्यमै विद्यावारिधि गरेका प्रौढमय अभिव्यक्तिका धनी डा. निर्मोही व्यासको ११ पृष्ठमा लेखिएको लामो भूमिका, लेखकीय इमानदारिताका साथ सपाट शैलीमा पस्किएको प्राक्कथन र कृतिका भाषासम्पादक अनुपमा रेग्मीको लिखित भनाइबाहेक २२८ पृष्ठमा बाँधिएको प्रस्तुत कृतिले प्रत्येकजसो नियात्रामा हिमाली सुन्दरताको कोमलकान्त पदावलीमा वर्णन गर्दै बीचबीचमा उपयुक्त दृश्य चित्रहरु पनि समावेश गरिएको छ । यो प्रयोग उनका अगाडिका पुस्तकमा पनि गरिएका हुन् ।
आठौँ नियात्राका रुपमा राखिएको ‘झिङ्गिनको झकझक’ नामक ११ पेजकै आलेखले हुम्लाका कामचोर कर्मचारीहरुको फस्को धोती खोलिदिएको छ । खोयाबिर्के नखाई उभिनै नसक्ने अनि विदा लिन पनि कहिले आमा मरेको नाटक गर्नुपर्ने स्वाङ औँलामा गन्न सकिने कर्मचारीहरुको बाहेक सबैजसोको बाध्यता रहेको देखाइदिएर आफ्नो लेखकीय खरोपनाको उदाहरण किशोरले दिएका छन् । आफू भने अनेक बहाना देखाएर मोही र दूधबाहेक केही नखाने भेजिटेरियन लेखापरीक्षकको परिचय पनि देखाएका छन् ।
लेखामा काम गर्ने मानिस यस्तो देवानी (?) स्वभावको हुनु त्यो आफैँमा आश्चर्य हो । देशले यस्तायस्ता देवानी लेखापरीक्षकहरु खोजेको छ, तर पाएको छैन । दामोदरहरु देशका सेवक हुन् । जनताका नोकर हुन् । नेपालमा कर्मचारी वृत्तमा दामोदरहरु अपवाद हुन् । त्यसैले, यिनीहरु ‘वाद’ बन्न सकेका छैनन् । जति छन्, ती उपयोगितावादमै विश्वास राख्ने भएका छन् ।
नत्र, नेपालका धेरैजसो लेखापरीक्षणमा भात अडिट, मासु अडिट र सोमरसमय अडिट भएका छन् भनेर बेलाबेलामा अखबारमा पढिएका विषय नै हुन् । त्यसो त, यिनी लेखापरीक्षकमा पनि अपवादका लेखापरीक्षक हुन् । यत्तिको सादगी भएर हरियो मसी चोब्ने यिनी कुनै ‘एलियन बस्ती’ बाट आएका परीक्षक त होइनन् ? प्रश्नका पिरामिडबाट एउटा प्रश्न फुत्त झिकेर यिनैलाई प्रश्न गर्न मन लागेको छ ।
भूमिकामा निर्माेही व्यासले नियात्राको सैद्धान्तिक मजलिसलाई आफ्नो विद्वताका साथ निडर र खरो शैलीमा राखिदिएर सबै हाँचका पाठकहरुलाई पुस्तक पढ्न सजिलो पारिदिएका छन् । नियात्रा साहित्यमै विद्यावारिधि गरेका व्यासजीले त्यति धेरै भ्रमणहरु गरेका पक्कै होओइनन् । उपाधि लिन घुम्नु जरूरी पनि छैन । जसले घुमेको छ, त्यसले विद्यावारिधि पनि लिएको छैन । पुस्तकको पेरीफेरीमा पनि । त्यसैगरी, रेग्मीजीले पनि आफ्नो खुबीले कृतिलाई मन लगाएर कुँद्ने र शब्दाहारबाट चँुद्ने काम गरेकी छिन् । यसले पनि पुस्तकको अलङ्कारको काम गरेको छ । पुस्तकको भौतिकी पक्षमा पनि खोट लगाउनै पर्ने कुनै कसर बाँकी राखिएको छैन । आकर्षक कभर र कागज पनि लोभलाग्दा छन् । पुस्तकको दाम भने अलिक दाँतमा ढुङ्गो लाग्ने खालको छ । जसजसले उपहारमा पाएका होलान् तिनीहरुलाई त मोलको महँगीले छुँदैन होला, तर आम र सामान्य पाठकका लागि भने पुस्तक चर्को मोलको छ भन्दा पनि हुन्छ । यतिचाहिँ मैले भनेँ भनेँ ।
हजार शब्दले गर्ने वर्णन एउटा चित्रले गर्छ भन्ने मान्यतामा पनि यिनी अडिग रहेका हुन सक्छन् । अघिल्लो यिनको पुस्तक ‘यात्राका प्रेमिल तरङ्गहरु’ मा पनि विदेश सयरका गम्भीर तस्बिरलाई स्थान दिएका थिए, जो उपयुक्त र इतिहासलाई नमन गर्ने खालका थिए ।
प्रत्येक नियात्राको सुरूआत गर्दा यिनले आफूलाई लागेको मह¤वपूर्ण लिड वाक्यबाट लेखनीको डोरीका पोया बाट्न सुरू गरेका छन् अनि खिरिलो पार्दै उत्कर्षमा पु¥याएर गाँठो पारेका छन्, जसले पाठकलाई अधिक सन्तुष्टि दिन्छ । पुडासैनीका नियात्रामा शब्दहरु दृश्यचित्र बोकेर मात्र ठिङ्ग भई उभिएका छैनन् । जीवन, संस्कृति, भूगोल र तिनबाट उठेका नौला रङ, आकार र आवाजलाई नवीन चेत बनाएर उभिने सामथ्र्यसमेत राख्छन् । यात्राको वर्णनमात्र नगरी आफूले पाइन लगाएका शब्दहरुलाई सुरूचिपूर्ण, अर्थसापेक्ष र अनुभूतिका प्रौढ बान्कीमय परिपाकमा थुपुथुपु पस्कने क्षमता उनमा रहेको छ भनेर ठोकुवा गर्नै सकिन्छ ।
समापन :
आख्यानहीन रचनाको पाटोमा राखिएको नियात्रामा पनि केही कथात¤व भएका घटना र पात्रहरुको गुम्फन गर्दै दामोदरले लेखेका रचनाहरु अलि समास शैलीमा भविष्यमा आए भने त्यो परिघटनालाई सुखद आश्चर्य नै मान्नुपर्ने हुन्छ । त्यो नहोला भन्न पनि सकिँदैन । उनी अहिले पनि लेखिरहेका छन् । सार्थक लेख्ने कोसिस गरिरहेका छन् । एउटा लेखकलाई एकान्तको उपहार दिन सकियो भने उसले पहिले आफूलाई र त्यसपछि समाजलाई सामयिक र अजरामर कृति दिन सक्छ भन्ने मेरो यतिखेरको मान्यता रहेको छ । त्यसैले पनि दामोदरले लेखनलाई अझ न्याय गर्दै लेख्नुपर्छ र लेखिरहनुपर्छ । त्यो लेखनको केन्द्रविन्दुमा आफू र आफ्ना रहर मात्र होइन देश र जनता अनि समसामयिक स्वर हुनुपर्छ, जसरी यो समालोचकीय कृति ‘मायालु हुम्ला’ मा भएको छ ।
अहिलेलाई यत्ति नै ।

Comments

About the author

चितवन पोष्ट