गृह » मेरो घोषणापत्र
साहित्य

मेरो घोषणापत्र

– धर्मराज अर्याल
सबै दलहरुले
तालमेलसहित
जब आकर्षक घोषणापत्रहरु जारी गरे
त्यतिबेला
मलाई पनि लाग्यो
अब मैले पनि घोषणापत्र लेख्नुपर्छ ।

मेरो यो गरिब देशमा
गरिबी हटाउनु पहिलो एजेन्डा हुनेछ
सर्वे भवन्तु सुखिनः
यो हुनेछ मेरो मुख्य नारा
यसैमा अटाउनुछ मैले
नेपाली सबैको अनुहार सारा ।

समाजवादी भन्दिनँ म
साम्यवादी पनि भन्दिनँ
मानवतावादी पार्टी हो मेरो
त्यसैले अरुलाई गन्दिनँ ।

घोषणापत्र लेख्दैछु म रगतको मसीले
झूटो नारा हुन्न मेरो विश्वास गर्नुस् सबैले ।

सबै नेपाली नागरिकले
निःशुल्क पढ्न पाउनुपर्छ
महँगा कलेज र स्कुलहरुमा
ठूला ताला लगाउनुपर्छ ।

बिरामी हुँदा सबैले
निःशुल्क उपचार पाउनुपर्छ
सरकारीले निजी अस्पतालहरुलाई
छायामा पार्न सक्नुपर्छ
दिउँसै क्लिनिक धाउने डाक्टरहरु
मेरो कारबाहीमा पर्नेछन्
भनेको नमान्ने अटेरीहरु
हुम्ला, जुम्ला सर्नेछन् ।

कामको पूजा गर्नेछ मेरो सरकारले
चन्दा माग्दैन कोहीसित
मेरो सरकारले
खान, लाउन मात्र होइन
सबैले शिक्षा पनि पाउनुपर्छ
युवालाई आफ्नै देशमा
रोजगारीको अवसर दिलाउनुपर्छ ।

कृषिप्रधान देश मेरो
चामल विदेशबाट ल्याउनुपर्छ
सुनदेखि नुनसम्म
सबै कुरा आयात गर्नुपर्छ
यसका विरूद्ध क्रान्ति गर्नेछ
मेरो सरकारले ।

भीख मागेर बाँच्ने छैनौँ
सगरमाथा देखाएर ढाँट्ने छैनौँ
बुद्धको कसम खाएर
ब्रह्मलुटकोे नाच नाच्ने छैनौँ ।

आफ्नै खेतबारी खनेर
अन्न र फलफूल उमार्ने छौँ
सिर्जना गर्ने हातहरुलाई
उत्पादनमुखी बनाउने छौँ
यो मेरो घोषणापत्रमा छैन अर्बका कुरा
जति सक्छौँ त्यति गर्छौं
यही नै हो हाम्रो कुरा
अल्पायुका हुन्नन् कोही दीर्घजीवी हुनेछन्
दूध, दही, साग खाई सय वर्ष जिउने छन् ।

Comments

About the author

चितवन पोष्ट