गृह » ‘तिलाञ्जलि’ कवितासंग्रहप्रति एक दृष्टि
साहित्य

‘तिलाञ्जलि’ कवितासंग्रहप्रति एक दृष्टि

– तुलमान गुरूङ
tulmangurung1@gmail.com
चितवन शिखरवास (हरिबहादुर ढुङ्गाना) नेपाली साहित्य विशेषगरी कविता विधामा परिचित नाम हो । उनले आध्यात्मिक कविता साधनामा लामो समय खर्चेका छन् । विसं १९९८ वैशाख २४ गते शक्तिखोरमा जन्मिएका उनले २०२७ सालमा आएर कविता लेखेको कुरा उनी आफैँले व्यक्त गरेका छन् । तर, उनले २०३१ सालमा पहिलोपटक कवितासंग्रह ‘तिलाञ्जलि’ प्रकाशनमा ल्याए । सोही संग्रहलाई उनले २०७४ सालमा आएर पुनः प्रकाशनमा ल्याएका छन् । पहिलोपटक प्रकाशन भएको यति लामो समयपछि दोस्रो संस्करण ल्याएपछि केही न केही फरकपन पाइन्छ कि भन्ने सबैलाई लाग्छ । तर, ‘तिलाञ्जलि’मा नयाँ कविता समावेश गरिएको छैन ।
संग्रहको पहिलो कविता नयाँ भनिए पनि २०४४ सालमा लेखेको कविता भएकोले यसलाई पनि नयाँ रचना मान्न सकिने अवस्था छैन । मात्र, उनको यो संग्रहको पहिलो संस्करणमा समावेश नभएको कविता हो । यसले के जनाउँछ भने कविले संग्रहलाई नयाँ संस्करणको रुप दिए पनि परिमार्जन भएजस्तो लाग्दैन । सामान्य एवम् सरल भाषामा लेखिएका कवितामा प्रायः गरी भगवान्को प्रार्थना गरिएको पाइन्छ ।
कवितासंग्रहको आवरण पृष्ठमा नै भगवान् विष्णुको तस्बिर राखेर कवितालाई भगवान्प्रति समर्पण गरेका छन् । कृतिको आवरण हेर्दा यसभित्र सबै भगवान्सँग मात्रै सम्बन्धित कविताहरु होलान् भन्ने लाग्छ । तर, भित्र गइसकेपछि मायाप्रेम, पीडा, क्रोध, डर सबै खालको भाव समेटिएको पाइन्छ ।
तर, धेरै कविताहरु पृष्ठ भर्नका लागिमात्रै समावेश गरिएजस्तो लाग्छ । एउटै विषयवस्तुलाई तोडमोड गरेर कविता लेखेजस्तो लाग्छ । किनकि, ती कविताहरुको भाव करिब एउटै हुन आएको छ । र, ती कविताका थालनीमा प्रायः एउटै शब्दबाट उठान गर्ने प्रयास गरेका छन् । तर, कविले २०१९ सालयताका कविता संग्रहित भएको जनाए पनि हालसालै लेखिएका कविता भने पाइँदैन । ९० वटा कविता समावेश भए पनि कविले आफ्नो संग्रहको संख्या थप गर्नका लागिमात्रै यसको दोस्रो संस्करण निकालिएको हो भन्ने कुरा यसैले प्रस्ट पारेको छ ।
कविताको सुरूदेखि अन्त्यसम्म नै सामान्य लाग्छन् । उनले त्यतिबेला आफू युवावस्था हुँदा लेखिएको कविता भए पनि उनले बुढेसकालको कल्पना गरेर लेखेका थिए । अहिले त्यो अवस्थामा आफैँ आइपुगेकाले त्यतिबेला कल्पना गरिएका कुराहरु अहिले आफैँले भोग्दै आएको कविले उल्लेख गरेका छन् । कविले कविताको माध्यमबाट धेरैपटक आफैँलाई कमजोर बनाएका छन् । आफूले चाहेर पनि केही गर्न नसकेको उल्लेख गरिएको छ । तर, यसको सम्पूर्ण दोष भने भगवान् र भाग्यलाई देखाइएको छ ।
चाहेर पनि केही गर्न नसकेकाले बर्बराउँदै हिँड्दा समाजले आफूलाई पागल भनेकाले म पागल होइन भन्दै स्पष्टीकरण दिनुपरेका घटनालाई पनि कवितामा उठाइएको छ । पूर्वजन्ममा गरेको पापले गर्दा यी सब समस्या भोग्नुपरेको उनको गुनासो छ, जुन वर्तमान समयका लेखक या पाठकका लागि त्यति उपयुक्त प्रसंग नहुन सक्छ । कतैकतै देशभक्ति गान पनि गाएका छन् । मातृभूमिप्रतिको चिन्ता उनको कवितामा व्यक्त भएका छन् । तर, आफूले जतिसुकै चिन्ता लिए पनि केही गर्न नसकेकाले बाँच्नुभन्दा मर्नु नै सफलता हो भन्ने उनले ठानेका छन् ।
कविताहरु त्यति लामा नभएकाले पाठकलाई कविता पढ्न पट्यार नलाग्न सक्छ । तर, कविताकृतिको साजसज्जामा भने खासै ध्यान दिएको देखिँदैन । कवि आफैँले उत्कृष्ट कवितासंग्रह भएको दावी गरिरहँदा कविताकृति हेर्दा सामान्य लाग्छ । एउटै पृष्ठमा धेरै कविता अटाउनु र एउटै कविता दुईवटा पृष्ठमा बाँडिनुले त्यति आकर्षक देखिएको छैन । त्यसैले, यहाँ कविको परिपक्वता देखिँदैन । कवि आफैँले यो संग्रहमा भएका कविता पढेर धेरैले आँसु झारे, धेरैले अति राम्रो भनेर प्रतिक्रिया दिएकाले दोस्रो संस्करण प्रकाशनमा ल्याएको भने पनि उनको यो भनाइ भने कत्ति पनि सुहाएको छैन :
‘यसरी मेरा पाठकहरुको मन जित्न सफल तिलाञ्जलि पुस्तकले अवश्य पनि नोबेल पुरस्कार समितिलाई पनि झट्का दिन सक्छ भन्ने दृढ अठोट लिएर मैले यस तिलाञ्जलि पुस्तकलाई अंग्रेजीमा अनुवाद गरी नोबेल पुरस्कार समितिमा पठाउने निर्णय लिएको छु र यस पुस्तकलाई अंग्रेजीमा अनुवाद गर्ने अनुवादकको खोजीमा लागेको छु ।’
त्यसो त, २०२५ सालमा तत्कालीन राजाको जन्मोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा उनी प्रथम भएका कवि हुन् । तर, आफैँले नोबेल पुरस्कार समितिलाई झट्का दिन सक्छ भनेर दावी गर्दै कविले अस्वाभाविक क्षमता देखाएका छन् । कविता आफ्नो ठाउँमा राम्रो र उत्कृष्ट भए पनि लेखक आफैँले यस्तो कुरा गर्न सुहाएजस्तो लाग्दैन ।

Comments

About the author

चितवन पोष्ट