गृह » क्यान्सरभित्रको क्यान्सर
सम्पादकीय

क्यान्सरभित्रको क्यान्सर

चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालभित्रको बेथितिका खबरहरु बेलाबेलामा सञ्चारमाध्यममार्फत बाहिर आउँछन् । केही वर्षअघि दक्षिण एसियाकै क्यान्सर रोगको उपचार गर्ने उत्कृष्ट अस्पतालका रुपमा परिचित यस अस्पताल पछिल्लो एक दशक, बेथिति, विसंगति र लापरबाहीका कारण आफैँ क्यान्सरग्रस्त बन्न पुगेको छ । अस्पताल प्रशासनभित्रको चरम राजनीति र कर्मचारीको मनोमानी प्रवृत्तिका कारण चीन सरकारले निर्माण गरिदिएको सो अस्पतालप्रति नै सेवाग्राहीको जनविश्वास घट्दै जान थालेको छ । क्यान्सर अस्पतालका कर्मचारीहरु अत्यावश्यक उपकरण बिगारेर निजी अस्पतालमा काम गरिरहेको गुनासो सर्वत्र सुनिँदै आए पनि क्यान्सर अस्पतालभित्रको क्यान्सरको पहिचान गरी शल्यक्रिया गर्न ढिलाइ भएको छ । क्यान्सर रोगको उपचारमा प्रयोग गरिने दर्जनौँ आधुनिक उपकरणहरु त्यसै थन्किएर बस्नुले क्यान्सर अस्पतालभित्र कतिसम्म बेथिति रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ । कतिपय अस्पतालले नै खरिद गरेर ल्याइएका र कतिपय दातृ संस्थाले अनुदानमा दिएका अत्यावश्यक उपकरणहरु प्रयोगविहीन हुनुले विभिन्न आशंका उत्पन्न गरेका छन् ।
अस्पतालकै चिकित्सकहरुका अनुसार अस्पतालको एक्सरे मेसिन, एमआरआई, रेडियोथेरापी, प्लेटलेट थेरोसिस, इमोनहिमो क्यामेस्टी, फ्लोजन बायोसी, पीसीआरलगायतका उपकरणहरु स्टोरमा थन्किएको र प्रयोगविहीन भएको खबर बाहिर आएको छ । अस्पतालमा उपलब्ध उपकरणहरु किन प्रयोगमा आइरहेका छैनन् ? बिग्रिएका भनिएका उपकरणहरुको समयमै मर्मत किन हुन सक्दैन ? भएका उपकरणहरु किन प्रयोगमा ल्याइँदैनन् ? खरिद गरिनुपर्ने अत्यावश्यक उपकरण किन समयमै खरिद गरिँदैनन् ? क्यान्सर अस्पतालमा भाइरसका रुपमा रहेका बिचौलियाहरु किन सक्रिय भइरहन्छन् ? कर्मचारीहरु नै उपकरण बिगारेर निजीबाट लाभ लिन किन उद्यत छन् ? यी र यस्ता तमाम सवालहरुको खोजी गरी आवश्यक कारबाही गर्न क्यान्सर अस्पताल प्रशासन किन मौन छ ? क्यान्सर अस्पतालभित्रै गर्न सकिने सर्वसुलभ उपचार र परीक्षणका लागि गरिब र दुःखी जनता किन भौँतारिन बाध्य छन् निजी अस्पतालहरुमा ? यसको विस्तृत जवाफ खोजी गर्न ढिलाइ भइसकेको छ ।
क्यान्सर अस्पतालभित्र क्यान्सरका रुपमा फैलिएका यस्ता विकृतिहरुको रोकथामका लागि अस्पताल व्यवस्थापनले सक्रियता देखाउनैपर्छ । नेपाल र भारतबाट दैनिक सयौँको संख्यामा उपचारका लागि आउने क्यान्सर अस्पतालमा राजनीतिले प्रश्रय पाउनु, बिग्रिएका मेसिन तथा उपकरणको मर्मतसुधारमा ध्यान नदिइनु, अस्पतालको सेवालाई प्रभावकारी नबनाइनुजस्ता समस्या ज्यूँका त्यूँ छ । अस्पताल व्यवस्थापनले यस्ता समस्या सुधार गरी प्रभावकारी सेवा सुचारू गर्न चासो देखाउनुपर्छ । मित्रराष्ट्रले अनुदानमा दिएका उपकरणहरुको संरक्षण र सुरक्षा गरी भरपर्दो सेवा प्रवाह गर्ने दायित्व अस्पताल प्रशासनको हो । अस्पतालभित्र राजनीति होइन, सेवालाई प्रभावकारी बनाउन सक्ने हो भने अस्पताल आफैँ क्यान्सरग्रस्त बन्नुपर्दैन । क्यान्सर अस्पतालभित्र गुनासो सुन्ने र सुधारका लागि पहल गर्ने व्यवस्थापन मौनजस्तै छ । क्यान्सर अस्पतालको सेवासुविधा सर्वसाधारणले सहज रुपमा प्रयोग गर्न पाउनुपर्छ । कमिसनको लोभले निजी अस्पतालमा महँगोमा परीक्षण र उपचार गर्न पठाइने प्रवृत्ति हट्नैपर्छ । क्यान्सर अस्पतालमा क्यान्सररुपी विकृतिको अन्त्य गर्न अस्पताल प्रशासनले सक्रियता देखाउनु जरूरी छ ।

Comments

About the author

चितवन पोष्ट