गृह » देशी–विदेशी शक्तिहरु बाम एकता भत्काउन लागे : प्रचण्ड
प्रमुख समाचार राजनीति

देशी–विदेशी शक्तिहरु बाम एकता भत्काउन लागे : प्रचण्ड

किशोर खनाल
भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशीविदेशी शक्तिहरु वाम एकता भत्काउन लागेको बताए ।
वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले वाम गठबन्धन भत्काउन ठूलै शक्ति लागेको भन्दै कार्यकर्ता तथा मतदातालाई सचेत बन्न आग्रह गरेका थिए । काठमाडौंमा वाम गठबन्धनको घोषणापत्र सार्वजनिक गरेर बिहीबार दिउँसो भरतपुर ओर्लेर उनी वाम गठबन्धनको संयुक्त महिला भेलामा पुगेका थिए ।
चितवन–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका प्रचण्डले वाम एकता कसैले चाहँदैमा अब झिसमिस नहुने बताए । उनले भने, ‘१० दिनमात्र निर्वाचन पछि सरेको भए एमालेसँग पार्टी एकता भइसक्ने थियो । कसैले चियाउनै पाउने थिएनन् ।’ उनले पार्टी एकता गर्न अब ढिलो गर्न नहुने बताएका थिए ।
‘देशी विदेशी शक्तिहरु पार्टी एकता हुन दिन खोजिरहेका छैनन्, त्यसैले पार्टी एकता हुन नदिने विरुद्ध पार्टी नेतृत्व, आम कार्यकर्ता र सम्पूर्ण मतदाता चनाखो हुने बेला आएको छ’ उनले भने, ‘जसरी वाम गठबन्धनसँग तालमेल गरेर सबैलाई सरप्राइज दियौँ, त्यसरी नै पार्टी एकता गरेर सरप्राइज
दिन्छौँ ।’ उनले चुनावलगत्तै एमालेसँग पार्टी एकता हुने जिकिर गरेका थिए । उनले भने, ‘ओलीजीसँग कुरा गरेर पार्टी एकतालाई छिट्टै टुङ्गो लगाइन्छ ।’
अध्यक्ष प्रचण्डले पार्टी एकतालाई कुनै शंका नगर्न अनुरोध गरे । उनले भने, ‘यो गठबन्धन कसैलाई चुनावसम्म मात्र हो भन्ने शंका छ, त्यो हटाइदिनुस् । यो गठबन्धन बनेको पार्टी एकताकै लागि हो । कम्युनिस्टहरुको हातमा डाडुपन्यू ल्याउनलाई नै गरिएको हो ।’ उनले एमालेसँगको पार्टी एकतालाई अब कसैले रोक्न नसक्ने चुनौती पनि दिएका थिए ।
‘कार्यगत असन्तुष्टि, विचारधारा र टिकट वितरणको असन्तुष्टिलाई ‘क्यास’ गरेर केही देशी–विदेशी शक्तिहरुले वाम गठबन्धन र पार्टी एकतालाई भत्काउन लागे पनि उनीहरुको केही नचल्ने उनको भनाइ थियो । नेपालबाट समाजवादको नयाँ मोडल संसारभर फैलाउने उद्देश्यले पार्टी एक भएको उनले बताए ।
प्रचण्डले युद्धकालमा नै एमालेका नेताहरुसँग पटकटपक र घनिभूतरुपमा छलफल र सम्झौता र सहमति गरिएकाले पार्टी एकताको विषय कुनै नयाँ नरहेको बताए । उनले भने, ‘युद्धकालमा रोल्पामा एमाले र माओवादीबीचमा नै संविधानसभा, शान्ति प्रक्रियालगायतका विषयमा लिखित सहमति नै भएको थियो । आजको यात्रा उतिबेला नै तय भएको हो । यो कुरा सबैले बुझ्न जरुरी छ ।’ उनले महिलालाई उम्मेदवार बनाउन नसकिएमा गल्ती भएको बताउँदै भने, ‘यो गल्ती फेरिफेरि दोहोरिन्न, गल्ती सच्याएर अघि बढ्नुपर्छ ।’
आफ्नो क्षेत्र फर्के प्रचण्ड
चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले घरदैलो अभियान सुरु गरेका छन् । उनको घरदैलो अभियान बिहीबार शिवनगरलगायतका क्षेत्रमा भएको छ । उम्मेदवार मनोनयन गरेर घोषणापत्र सार्वजनिक गर्न काठमाडौँ पुगेका प्रचण्ड बिहीबार आफ्नो क्षेत्र फर्केर घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

Comments

About the author

चितवन पोष्ट