गृह » ‘क्यान्सर अस्पतालका कर्मचारीहरु अत्यावश्यक उपकरण बिगारेर निजीमा काम गर्दै’
प्रमुख समाचार स्वास्थ्य

‘क्यान्सर अस्पतालका कर्मचारीहरु अत्यावश्यक उपकरण बिगारेर निजीमा काम गर्दै’

बसन्त पराजुली
भरतपुर । माल पाएर चाल नपाएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा क्यान्सर रोग उपचारमा प्रयोगमा ल्याइने दर्जनौ अत्याधुनिक उपकरणहरु त्यसै थन्किएका छन् । कतिपय अस्पताल आफैले खरिद गरेका त कतिपय दातृ संस्थाहरुले अनुदान सहयोगमा दिएका अत्यावश्यक उपकरणहरु उपयोगमा नआइ प्रयोगविहीन बनेका हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कतिपय नयाँ उपकरण सञ्चालनमा ल्याइएको छैन भने कतिपय बिग्रिएपछि समयमा मर्मत नहुँदा सञ्चालनमा ल्याउन नसकिएको हो ।
‘क्यान्सर उपचारका लागि आवश्यक अत्याधुनिक उपकरणहरु त्यसै थन्किरहेका छन्’, अस्पतालका पूर्व उपकार्यकारी निर्देशकसमेत रहेका नाक, कान, घाँटी क्यान्सर रोग विशेषज्ञ डा देज गौतमले भने, ‘क्यान्सरका लागि परीक्षण गर्ने देखि शल्यकृयामा प्रयोगमा ल्याइने उपकरणसमेत प्रयोगविहीन भइरहेका छन् ।’
चिकित्सकहरुका अनुसार अस्पतालको एक्सरे मेसिन बिक्रिएको महिनाभन्दा बढी भयो । तर, अहिले सम्म बनाउन सकिएको छैन । एमआरआई, रेडियो थेरापी जस्ता अत्यावश्यक उपकरणहरु बिग्रने बन्ने भइरहेका छन् । बिग्रिएकै समयमा पनि हप्तौसम्म मर्मत हुन नसकेका उदाहरणहरु पनि प्रशस्त भेटिन्छन् । रेडियो थेरापी मेसिन मात्रै यसअघि डेढ करोड रूपैयाँ लागतमा मर्मत गरिएको हो । यो मेसिन बिरामीको क्यान्सर लागेको अङ्ग काटेर फालेपछि त्यसलाई सेकाएर घाउ निको पार्ने उपकरण हो । यो सेवा नेपालमै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, काठमाडांै क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पतालमा मात्रै पाइन्छ ।
यस्तै मानिसको रगतलाई सेतो र रातो रगत छुट्याइ बिरामीको आवश्यकता अनुसारको रगत दिन मिल्ने उपकरण ‘प्लेटलेस थेरोसिस’ पनि अस्पतालमा सञ्चालनमा ल्याइएको छैन । क्यान्सरका बिरामीको क्यान्सर पहिचान गर्ने विधी ‘बायस्पी’ गरि सकेपछि क्यान्सर पहिचान हुने र कुन प्रकारको क्यान्सर हो भनेर परीक्षण गर्ने उपकरण ‘इमोनहिमो क्यामेस्टी’ पनि अस्पतालले सञ्चालनमा ल्याएको छैन । यो दुवै मेसिन चीन सरकारले अनुदानमा अस्पतालाई उपलब्ध गराएको हो ।
यस्तै कुनै शल्यकृया गर्नुपर्ने बिरामीको अंगमा क्यान्सर कतिसम्म फैलिएको छ भनेर देखाउने उपकरण ‘फ्लोजन बायोसी’ पनि अस्पतालमा छ तर प्रयोगमा ल्याइएको छैन । संयुक्त राज्य अमेरिकाको ‘अमेरिकन युनिभर्सिटी अफ उताहवाट अनुदान सहयोगमा आएको यो उपकरण विशेष त क्यान्सरको शल्यक्रिया गर्दा गर्दै प्रयोगमा ल्याइने मेसिन हो ।
‘बिरामीको क्यान्सर भएको सेल काटियो तर तत्काल त्यो सेल कति सम्म फैलिएको छ भनेर हेर्नका लागि ‘फ्लोजन बायोसी’ उपकरण आवश्यक पर्छ । जसले बिरामीको थप अङ्ग काट्न पर्ने नपर्ने थाहा होस्’ डा गौतमले भने, ‘यो उपकरण नहुदा अहिले चिकित्सकहरुले कति सेल काट्ने भन्ने अनुमानकै भरमा गर्ने हो ।’ यस्तै अमेरिकन यूनिभर्सिटीले नै उपलब्ध गराएको ‘पीसीआर’ उपकरण पनि अहिले सम्म सञ्चालनमा छैन । यो उपकरण क्यान्सरको डीएनए परीक्षण गर्ने तथा वंशाणुगत भए नभएको पत्ता लगाउने उपकरण हो । यस्ता दर्जनौ अत्याधुनिक उपकरणहरु अहिले अस्पतालको स्टोरमा थन्किएका छन् । यसलाई सञ्चालनका लागि अस्पताल ब्यवस्थापन पक्षको ध्यान पुग्न सकेको छैन ।
केही चिकित्सकहरु अस्पताल व्यवस्थापन पक्ष आफै अत्याधुनिक उपकरणहरु सञ्चालन गर्ने पक्षमा नभएको आरोप लगाउछन् । कतिपय कर्मचारीहरु आफै निजी अस्पतालहरुमा काम गर्ने भएकाले पनि भित्रका उपकरणहरु आफै बिगार्छन भन्ने पनि अस्पतालमा भेटिए । जुन जुन कारणले भए पनि यी अत्यावश्यक उपकरणहरु सञ्चालनमा नआउँदा बिरामी भने उपचार पाउनवाट बञ्चित भइरहेका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा विजय आचार्य भएका उपकरणहरुलाई प्रक्रिया मिलाएर सञ्चालन गर्ने तयारी भइरहेको प्रतिक्रिया दिए । ‘उपकरण हुन् कति बिग्रन्छ त्यसको मर्मत सुधार पनि गर्नुपर्ने होला । यसो बिग्रदैमा कोलाहल मच्चाउन जरुरी छैन’, उनको थप भनाइ थियो, ‘कतिपय उपकरणहरु वर्षौअघि आएर पनि जडान नगरिएका हुन् । त्यसको अपजस अहिलेको ब्यवस्थापनलाइ आएको छ ।’
उनले कतिपय उपकरणहरु सञ्चालनका लागि एक किसिमको केमिलक ‘रिएजेन्ट’ आवश्यक पर्ने र ती केमिकल खरिद प्रक्रियामा रहेकाले पनि ढिलाइ भइरहेको स्पष्ट पारे । ‘इमोनहिमो क्यामेस्टी’ का लागि ‘रिएजेन्ट’ आवश्यक पर्छ । यो केमिकलको अहिले खरिद प्रक्रिया सुरू भइरहेको पनि कार्यकारी निर्देशक डा आचार्यले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट