गृह » वामको कार्यालय उद्घाटन लोकतान्त्रिकको चुनावी भेला
राजनीति

वामको कार्यालय उद्घाटन लोकतान्त्रिकको चुनावी भेला

होमनाथ सापकोटा
रत्ननगर । दुई गठबन्धन बनाएर चुवानी मैदानमा होमिएका वाम र लोकतान्त्रिक गठबन्धनले बिहीबार पनि रत्ननगर र यस आसपासका क्षेत्रमा निर्वाचन गतिविधि गरेका छन् ।
वाम गठबन्धनले रत्ननगरमा विभिन्न वडामा कार्यालय उद्घाटन गरेको छ भने नेपाली कांग्रेसले निर्वाचनलाई केन्द्रित गरेर महिला संघको क्षेत्रीय भेला गरेको छ । निर्वाचनमा पार्टी निकटका महिलाहरुलाई संगठित गर्न कांग्रेसले प्रदेशस्तरीय भेला आयोजना गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरेर वाम गठबन्धनले रत्ननगरका विभिन्न वडाहरुमा निर्वाचन कार्यालय स्थापना गरी बिहीबार उद्घाटन गरेका छन् । रत्ननगर नगरपालिका वडा नं.४, ७, ८ र १० मा निर्वाचन कार्यालय उद्घाटन गरिएको छ । चितवन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेशसभा सदस्य ‘ख’ का उम्मेदवार कृष्ण खनालले संयुक्तरुपमा चार निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् । उनीहरुले समग्र पूर्वीचितवनको विकासको लागि आफूहरुलाई मतदान गर्न आव्हान गरेका थिए ।
कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका एमालेका स्थायी कमिटी सदस्य पाण्डेले नयाँ नेपाल निर्माण गर्न सक्ने वामपन्थीको सरकार निर्माण गर्न वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा प्रदेश ‘ख’ का उम्मेदवार एमालेका केन्द्रीय सदस्य कृष्ण खनालले मुलुकले बहुमतको सरकार चाहिरहेको भन्दै वाम गठबन्धनलाई आउने निर्वाचनमा बहुमत ल्याउने गरी मतदान गर्न आह्वान गरे । वडा नंं.७ मा वडास्तरीय निर्वाचन परिचालन कमिटीकी संयोजक सानुमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ‘ख’ का निर्वाचन परिचालन कमिटीका संयोजक कपिल पोखरेल, वडास्तरीय निर्वाचन परिचालन कमिटीका अर्का संयोजक श्रीराम सिलवाललगायतले मन्तव्य राखेका थिए ।
वडा नंं.८ मा निर्वाचन परिचालन कमिटीका संयोजक प्रेमकुमार थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, वडा अध्यक्ष विनोद बस्नेत, माओवादी केन्द्रका नगर सहइन्चार्ज राजु अम्गाई, नगरस्तरीय आर्थिक समितिका सदस्य श्याम बराललगायतले मन्तव्य राखेका थिए । सो वडाबाट विभिन्न पार्टी परित्याग गरी एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । सोही अवसरमा स्थानीय तहको निर्वाचनमा तनमन दिएर एमालेलाई जिताउन लागिपर्ने पुष्पराज मरहठ्ठासहितका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
वडा नंं.१० मा निर्वाचन परिचालन कमिटीका संयोजक कमलबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी, वडा अध्यक्ष केशव आचार्यलगायत एमाले तथा माओवादी केन्द्रका नेताहरुको सहभागिता रहेको थियो । त्यसैगरी नेपाल महिला संघ क्षेत्रीय समिति प्रदेस ‘ख’ ले बिहीबार बृहत महिला भेलाको आयोजना गरेको छ ।
नेपाली कांग्रेस क्षेत्रीय पार्टी कार्यालयमा भएको कार्यक्रममा लोकतान्त्रिक गठबन्धबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले मुलुकलाई सही बाटोमा हिडाउन लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गरे । प्रदेश ‘ख’ का उम्मेदवार उत्तम आचार्यले मुलुकको समृद्धि कांग्रेसले मात्र गर्न सक्ने भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि जनताले कांग्रेसलाई नै रोज्ने दाबी गरे । महिला संघ क्षेत्रीय सभापति शर्मिला लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि क्षेत्रीय सभापति कुमार कार्की रहेका थिए ।
कार्यक्रममा महिला संघ जिल्ला कोषाध्यक्ष रीता अधिकारी, नेपाली कांग्रेसकी प्रवक्ता नीता ढकाल, जिल्ला सहसचिव सूर्य अर्याल, नगर सभापति रुपनराज घिमिरेलगायत वडा तहदेखि क्षेत्रीय तहसम्मका महिलाको उपस्थिति रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट