गृह » ‘फाटेका मनहरु एक ढिक्का हुने बेला आयो’
राजनीति

‘फाटेका मनहरु एक ढिक्का हुने बेला आयो’

नवलपुर । स्थानीय निकायको निर्वाचनमा फाटेका र चिरिएका मनहरु अब एक ढिक्का भएर अघि बढ्नुपर्ने बेला आएको त्रिपक्षीय वाम एकताका अगुवा महिला नेतृहरुले बताएका छन् ।
अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारी नवलपरासी प्रदेशसभा १ को एकले बिहीबार बर्दघाटमा आयोजना गरेको निवार्चन परिचालन संयुक्त भेलामा बोल्ने महिला नेतृहरुले उक्त कुरामा जोड दिएका थिए । अखिल नेपाल महिला संघकी राधा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महिला नेतृहरुले महिलाहरुलाई राज्यको दोस्रो नागरिकका रुपमा हेरिए पनि महिलाहरु देशका हरेक आन्दोलनमा पहिलो निर्णायक शक्तिका रुपमा अघि बढेको दाबी गरेका थिए । उनीहरुले महिलाहरुको कोर्को हल्लाउने हातले विश्व हल्लाएको उदाहरण दिँदै अबको निर्वाचनमा पनि त्रिपक्षीय वाम एकताको उचित परिणामसहित दुईतिहाई बहुमत ल्याएर देशलाई अग्रगामी दिशातर्फ लैजाने जिम्मेवारी प्रदान गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
अहिलेको निर्वाचन भनेको देश र प्रदेशको मुहार फेर्ने निर्वाचन मात्र नभै महिला अधिकार प्राप्तिको लागिसमेत भएकाले सबै महिलाहरु एक भएर लाग्नुपर्ने बेला आएको उनीहरुले बताएका थिए । संयुक्त चुनावी भेलामा केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता एवम् नेतृहरुको उल्लेखनीय उपस्थिति रहे पनि वाम गठबन्धनका प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार हृदेश त्रिपाठी, वाम गठबन्धनका प्रदेशसभाका उमेदवार दीपेन्द्र अधिकारी, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी सीता पौडेल, अखिल नेपाल महिला संघकी सरीता खनाललगायतले बोलेका थिए ।
त्यस्तै सुस्ता गाँउपालिका वडा नं ५ मा नेपाली कांग्रसले चुनाव प्रचार प्रसारको लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधिसभा १ का उम्मेदवार देवकरणप्रसाद कलवार, प्रदेश सभा ‘ख’ का उम्मेदवार मुकुलकुमार आचार्य, युवा नेता उमेश यादवलगायतको उपस्थितिमा मतदातासामु आफूहरुलाई जिताउन आग्रह गर्दै चुनाव प्रचारप्रसारको लागि कांग्रेसका नेताले घरदैलो गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट